काठमाडाैँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा उनले नेताहरुको जीवनशैली पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । नेताहरुको सम्पत्ति सार्वजनिक गर्नुपर्ने भनिरहेका प्रचण्डले माओवादीलाई स्पात बनाउन के–के गर्न सकिन्छ त्यो सबै गर्ने भन्दै नेताहरुको मनोविज्ञानमा समेत प्रहार गरेका छन् । समग्रमा प्रचण्डको प्रतिवेदनले के समेटेको छ त ?
नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठकमा व्यस्त छ । माओवादी केन्द्रको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा हरेक नेताहरुले तीन–तीन मिनेट धारणा राख्न पाइरहेका छन् भने प्रचण्डले विभिन्न एजेण्डा पेश गरेका छन् ।
यसमा नेताहरुको सम्पत्ति सार्वजनिकदेखि विभिन्न विषय परेकाले धेरैले माओवादी केन्द्रमा रुपान्तरणको अपेक्षा गरेका छन् भने प्रचण्ड आफैले पारदर्शी जीवन शैली अपनाउलान भन्ने प्रश्न समेत गरेका छन् । यस्तोमा प्रचण्डले अघि सारेका केहि प्रस्तावहरु यस्ता छन् ।
१. पदाधिकारीको तत्काल सम्पत्ति सार्वजनिक गर्ने
२. केन्द्रीय सदस्यसम्मका नेताहरुले फागुनसम्म सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने
३. उत्पादनसँग नेता कार्यकर्तालाई जोड्ने, चन्दा जस्ता कुराहरुलाई निषेध गर्दै लैजाने
४. संविधान संशोधनका लागि संविधान निर्माणको बेला राखिएको नोट अफ डिसेन्टलाई नै एजेण्डा बनाउने
५. चुनावी गठबन्धन नगर्ने, एक्लै चुनाव लड्ने
६. पार्टीलाई आत्मनिर्भरताको बाटोमा लैजाने गरि काम गर्ने
७. विशेष महाधिवेशन नगर्ने तर, यहि बैठकबाट महाधिवेशनको मिति तोक्ने
८. विप्लवदेखि माधव नेपाल, प्रभु साह, नेसपा लगायतका दलसँग एकता गर्न कार्यदल निर्माण गर्ने
९. पार्टी र नेताहरुमा आन्तरिक समस्या बढेका छन्, आत्मसमिक्षासहित जनतामा जाने
१०. हुलाकी र मेची महाकाली जागरण अभियान सञ्चालन गर्ने
११. उमेरहदका कारण बिदा भएका विद्यार्थी नेतालाई उचित जिम्मेवारी दिने
१२. विभिन्न समूदायको राजनीतिक सहभागितालाई बढाउने गरि काम गर्न पार्टीले मिसन तयार पार्ने
१३. समाजवादी मोडेलको विकास गर्दै स्थानीय समाजवादको अभ्यासलाई अभ्यासमा लैजाने काम गर्ने
प्रचण्डले यस्ता विभिन्न विषयमा राजनीतिक प्रतिवेदन तयार पारेको बताइएको छ । माओवादी केन्द्र पनि कांग्रेस एमालेजस्तै बन्न पुगेको भन्दै प्रचण्डले नयाँ ढंगले जनतासँग जोडिन नसके पार्टीको भविष्य डामाडोल हुने विश्लेषण गरेका छन भने नेताहरुले पार्टीमा सम्पत्ति विवरण बुझाउनुपर्नेका साथै जिविकोपार्जनको स्रोतबारे समेत सोधिखोजी गर्ने प्रस्ताव गरेका छन् । यस्तो प्रस्तावमा छलफल जारी रहेकाले के निर्णय हुन्छ भन्ने विषय भने खुलिसकेको छैन् ।
जनार्दनको फरक मतमा प्रचण्डको जवाफ
जनार्दनले विधान अधिवेशनको सवाल उठाउदै प्रश्न गर्न थालेपछि प्रचण्डले पनि जुक्ति निकालेका छन् । प्रचण्डले यहि केन्द्रिय समिति बैठकबाट विशेष महाधिवेधनको सट्टा महाधिवेशनको मिति तोक्न प्रस्ताव गरेका छन् । केन्द्रिय समितिलाई अहिले नै आयोजक समितिमा रुपान्त्रण गर्ने कि केहि समय अभियान सञ्चालन गरेपछि अर्को बैठकबाट गर्ने भन्दै दुई प्रस्ताव राखेका छन् । जसले जनार्दनले उठाउदै आएको प्रश्नको जवाफ आफुले दिएको प्रचण्डले भनेका छन् ।
पासाङको इन्ट्रीमा प्रश्न
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले बैठकमा उपस्थिति जनाउन थालेपछि यसबारे माओवादी बैठकमा प्रश्न गर्न थालिएको छ । बैठकमा पुर्वमन्त्री समेत रहेका माओवादी नेता सुदन किरातिले उपराष्ट्रपति पार्टीको सक्रिय राजनीतिमा आउने कुराले उपराष्ट्रपति पदको ओजमा प्रश्न उठ्ने भनेका छन् । यस्तै, अन्य नेताहरुले पनि पासाङलाई सक्रिय राजनीतिमा नभई सामाजिक क्षेत्रमा काम गर्न सुझाव दिइरहेको बताइन्छ । तर, प्रचण्डको चाहनामा बैठकमा उपस्थित पासाङलाई ठोस जिम्मेवारी दिनेबारे समेत प्रारम्भिक बहसको चरण पार भइसकेको बताइन्छ ।
कांग्रेस–एमालेप्रति आक्रामक
राजनीतिक प्रतिवेदनमा कांग्रेस एमालेको सत्ता सहकार्यलाई भ्रष्टाचारविरोधी अभियानबाट डामिने देखिएपछिको स्थिति भनेका प्रचण्डले प्रतिवेदन राजनीतिक प्रतिशोध साँध्न नल्याइएको दाबी गरेका छन् । प्रतिवेदनले पार्टीभित्रका थुप्रै समस्या र समाधानको विषयमा बोलेको दाबी गरेका प्रचण्डले कांग्रेसभन्दा पनि एमालेप्रति चर्को आक्रोश पोखेको बताइन्छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको चरित्र, वामपन्थी आन्दोलनमा देखिएको अराजकता लगायतका विषयमा समेत विश्लेषण गरेका छन् । कांग्रेसलाई समेत प्रचण्डले भ्रष्टाचारविरोधी अभियानपछि तर्सिएको आरोप लगाएका छन् ।
