News 24 Television
दुई ठूला दल मिल्दा राजनीतिक स्थायित्वको आशा जगाएको एमालेको निष्कर्ष

काठमाडाैँ । नेकपा (एमाले) को आठौं केन्द्रिय कमिटी बैठक सम्पन्न भएको छ । आईतवारदेखि शुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले बैठकमा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णय भएको जानकारी दिए । उनले बैठकले काँग्रेस–एमालेको सहकार्यमा सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निस्कर्ष निकालेको समेत बताए । बैठकले सुशासन, जनतालाई डेलिभरी दिने सन्दर्भमा सरकारलाई यथेष्ट सुझाव तथा सल्लाह दिएको समेत बताए ।

सत्तारुढ दलहरुबीचको आपसी विश्वास र समझदारी अझै सुदृढ बनाई सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न सफल र राजनीतिक स्थायित्व कायम होस् भन्ने कामना गरेको उनले बताए ।  समाजवादउन्मुख राज्य निर्माणमा दृढ भएर अघि बढ्ने संकल्प समेत बैठकले लिएको उनकाे भनाइ छ ।

बैठकका निर्णय सुनाउँदै गौतमले भने, 'नेकपा (एमाले)को केन्द्रिय कमिटिको बैठक आज सम्पन्न हुने क्रममा रहेको छ । तीन दिनसम्म चलेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र पार्टी महासचिव शंकर पोखरेलले प्रश्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन पारित भएको छ । त्यसमा रहेका विभिन्न १४ वटा महत्वपूर्ण प्रश्तावहरु पारित गर्दै आजको बैठक समापनतर्फ गैसकेका छौं । मुलतः राजनीतिक, समसामयिक प्रस्तावहरुमा हामीले नेपाली काँग्रेस एमाले नेतृत्वको सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको, प्रमुख राजनीतिक दलहरुको नेतृत्वमा सात दल समावेश भएको सरकारले केही महत्वपूर्ण उपलब्धीहरु हाँसिल गरेको तथा पार्टीले गर्नुपर्ने केही महत्वपूर्ण कामहरु सुशासन, डेलिभरीका सन्दर्भमा सरकारलाई यथेष्ठ सुझाव तथा सल्लाह दिएको छ । र सत्तारुढ दलहरुबीचको आपसि विश्वास र समझदारी अझै सुदृढ बनाउँदै यस एतिहासिक सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम गर्न सफल होस् भन्ने बैठकले कामना गरेको छ ।'

बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा रोखेका थिए । राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न एमालेले सबैलाई ३ मिनेटको समय छुट्टाएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update