काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार साँझ जिल्ला न्यायाधीश तितिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बिहीबार सकिएको थुनछेक बहसपछि अदालतले उक्त आदेश जारी गरेको हो । रविका पूर्व व्यावसायिक साझेदार एवं नेपाल प्रहरी पूर्व डिआइजी छविलाल जोशीलाई पनि उक्त इजलासले ८८ लाख धरौटीमा छाड्न आदेश दिएको छ । सूर्यदर्शन सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याएर दुरुपयोग गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको थियो । सँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर गरिएको छ ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना मुद्दामा ३१ जनालाई प्रतिवादी बनाइएको छ । फरार रहेका मुख्य अभियुक्त जीबी राई लगायत प्रतिवादीहरुबाट कुल १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो माग गरेर जिल्ला सरकारी वकिल कास्कीले अदालतमा मुद्दा दायर गरेको थियो ।
