काठमाडौँ । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि बनाइएका भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसक्दा सरकारकै टाउको दुखाइको विषय बनिरहेको छ । यी दुई विमानस्थलमा करिब ६० अर्बभन्दा बढी लगानी भए पनि रिनको ब्याज तिर्ने आम्दानी समेत हुन सकेको छैन । यी त भए ठूला विमानस्थलका उदाहरण । मुलुकभर अन्य डेढ दर्जनभन्दा बढी साना विमानस्थल बन्द अवस्थामा छन् । मर्मत सम्भार एवं कालोपत्रे समेत गरेर विगतमा केही समय सञ्चालन गरिएका विमानस्थल पनि नियमित सञ्चालन हुन नसक्दा बन्द अवस्थामै छन् । बैतडीको पाटन विमानस्थल, डोटीको दिपायल, बागलुङको बलेवा विमानस्थनल, ओखलढुंगाको रुम्जाटार, खोटाङको लामिडाँडा लगायत विमानस्थल स्तरोन्नतिपछि पनि चल्न सकेका छैनन् । २७ वर्षपछि हालै मात्र कैलालीको टिकापुर विमानस्थल पुनःसञ्चालनमा आएको छ, तर कतिन्जेल टिक्छ भन्न सकिने अवस्था छैन ।
देशभर ५५ वटा विमानस्थल निर्माण भएकामा हाल २१ विमानस्थल बन्द अवस्थामै छन् । लहडको भरमा र कमिसनको चक्करमा लागेर विमानस्थल बनाउने तर दिगो रुपमा तिनको सञ्चालन ग्यारेन्टी नहुने भएका कारण विमानस्थल चल्न सकेका छैनन् । सरकारले पछिल्लो ६ वर्षयता देशभर थप एक दर्जन नयाँ विमानस्थल बनाउने प्रस्ताव एवं तयारी थालेको देखिन्छ । तर भएकै विमानस्थल चल्न नसकेको अवस्थामा नयाँ विमानस्थलहरुको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ । प्रस्तावित डडेल्धुरा विमानस्थलबारे संसदीय समितिमै प्रश्न उठेको छ ।
पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा बनाउन लागिएको विमानस्थल कमिसन खानका लागि मात्रै रहेको विपक्षी दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको टिप्पणी छ । बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा नेपालले काँग्रेस सभापति देउवामाथि कमिसन खान खोजेको आरोप लगाएका हुन् । उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसकेको जानकारी हुँदाहुँदै पनि नयाँ विमानस्थल निर्माणका निर्णय गर्नु भनेको देशलाई नोक्शानीमा धकेल्नु मात्रै रहेको बताए । छिमेकी जिल्ला बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेलधुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु मात्रै रहेको उनको भनाइ छ ।
अध्यक्ष नेपालले प्रस्तावित जिल्ला उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नै नरहेको टिप्पणी गरे । विमानस्थलहरु चल्न नसकेपछि त्यसको जिम्मेवारी निर्णय गर्नेहरुले लिनुपर्ने उनको भनाइ छ । अघिल्लो बिहीबार पनि उनले लहडको भरमा विमानस्थल बनाउँदा समस्या आएको बताएका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा मुलुकभर १६ विमानस्थल बन्द रहेको बताएका थिए । कुनै पनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्नु जरुरी रहेको भन्दै उनले विमानस्थलहरुको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउन माग समेत गरे ।
सरकारले बर्सेनीजसो नयाँ बजेट ल्याउँदा बन्द विमानस्थलको स्तरोन्नति गर्ने र सञ्चालन गर्ने तथा प्रस्तावित नयाँ विमानस्थल बनाउने भन्दै भाषण छाट्ने गरेको पाइन्छ । नेता, सांसद तथा मन्त्रीले पनि मतदाता खुसी पार्न र सस्तो लोकप्रियताकै भरमा आफ्नो क्षेत्रमा विमानस्थल निर्माणका सपना बाँड्दै आएका छन् । तर बन्द रहेका विमानस्थल सुधार गरेर दिगो सञ्चालनमा भने कसैको ध्यान जान सकेको छैन । गरिब मुलुकका यात्रुहरु महँगो भाडा तिरेर भएकै विमानस्थलमा पनि यात्रा गर्दैनन्, सडक नै पहिलो रोजाइमा पर्ने गरेको छ । हाल स्तरोन्नति समेत हुन नसकेर लामो समय कच्ची र जीर्ण अवस्थामै रहेका विमानस्थल पनि एक दर्जनजति छन् । नयाँ विमानस्थल बनाएर कमिसनको चक्करमा लाग्नु र राज्यलाई आर्थिक भार थप्नुभन्दा भएकै विमानस्थलहरु कसरी व्यवस्थित र नियमित सञ्चालन गर्न सकिन्छ भन्नेतिर पो ध्यान दिने हो कि ?
