News 24 Television
एकता दिवसमा राजावादी शक्तिहरु नै अलग

काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शनिवार छुट्टाछुट्टै कार्यक्रम गरी पृथ्वीनारायण शाहको स्मरण गरेका छन् । 

नेपाल एकीकरणकर्ताका रुपमा पृथ्वीनारायणको जन्मोत्सवका रुपमा दुई राप्रपाले जलपान तथा चियापान कार्यक्रम गरी एकता दिवस मनाएका हुन् । तर राष्ट्रिय एकतामा जोड दिँदै एकता दिवस मनाए पनि उनीहरु नै एक भने छैनन् ।


पृथ्वीनारायणको शाहको जन्म दिनको अवसरमा शनिवार ३ सय ३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका मनाइएको छ । राजतन्त्रको वकालत गर्दै आएका दुई राजावादी पार्टीहरुले पृथ्वीजयन्तीका अवसरमा काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गरी दिवस मनाएका छन् । 

पृथ्वीनारायणको शाहलाई नेपाल एकीकरणमा महत्वपूर्ण योगदान गरेको भन्दै राष्ट्रनिर्माताका रुपमा राष्ट्रले सम्मान गर्नुपर्ने आवाज दुबै राप्रपाका नेताहरुले जोडतोडले उठाउँदै आएका छन् । 

पृथ्वीनारायणले टुक्रे राज्यलाई जोडेर विशाल नेपाल बनाएकै कारण आज नेपालमा आफूलाई गणतन्त्रवादी भन्नेहरु पनि नेपालको राज्य सत्तामा रहन पाएको र नेपालको प्रधानमन्त्री बन्न पाएको तर्क उनीहरुको छ ।

पुस २७ का दिन पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय उत्सव मनाउने विषयमा भने राजनीतिक दलहरु पनि एक हुन सकिरहेका छैनन् । 

यसलाई राजनीतिक दाउपेच बनाइरहेका छन् । तर पुस २७ लाई मुलुक निर्माणकर्ताका रुपमा सबै राजनीतिक दलहरु एक भई राज्यले उत्सव मनाउनुपर्ने बताउँदै आएका उनै राजावादी शक्तिहरु नै यो दिवस समेत एकैठाउँमा उभिएर गर्न सकि रहेका छैनन् । 

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले पृथ्वी जयन्तीको अवसरमरा प्रधानमन्त्रीदेखि शीर्ष राजनीतिक दलहरुलाई डाकेर जलपान कार्यक्रम आयोजना गर्दा कमल थापा नेतृत्वको राप्रपा नेपालले चियापान कार्यक्रम भनी एउटै प्रकृतिको कार्यक्रम आयोजना गरेका थिए । तर उनीहरु अहिले पनि सबै राष्ट्रवादी शक्तिहरुबीचको एकताको अपरिहार्यता भने आवश्यक रहेको बताइरहेका छन् । राष्ट्रिय एकतामा जोड दिँदै आएका छन् । 

दुई राप्रपाले छुट्टाछुट्टै आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सभामुख देवराज घिमिरेदेखि सीपी मैनालीसमेत पुगे ।

राजावादी शक्तिहरुले मात्र होइन, कम्युनिस्ट नेताहरुले समेत पृथ्वीनारायण शाहलाई आधुनिक नेपालको निर्माताको रुपमा चर्चा गर्दै पृथ्वीनारायण सबैको साझा सम्पत्तिको रुपमा चर्चा गरेका छन् । 

पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको अभियानलाई आलोचकहरुले भने गोरखा राज्य विस्तारको रुपमा लिनुपर्ने बताउँदै आएका छन् । 

पृथ्वीनारायणको अभियानलाई जेजस्तो टिप्पणी गरिए पनि विशाल नेपाल निर्माणमा पृथ्वीनारायणको भूमिका महत्वपूर्ण रहेको छ । जसका कारण आज हामी नेपाली भन्न पाएका छौं । त्यसैले राजावादी शक्तिहरुले मात्र नभई राज्यले नै पृथ्वीनारायणलाई राष्ट्र निर्माताका रुपमा सम्मान गर्न जरुरी छ ।  

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update