News 24 Television
कांग्रेसमा उथलपुथल, देउवालाई फाइदा कि घाटा ?

काठमाडौं । संविधान संशोधनको एजेण्डामा प्रधानमन्त्री केपी ओलीको सार्वजनिक अभिव्यक्तिपछि कांग्रेसमा विवाद थप चर्किने देखिएको छ । कांग्रेसमा इतर पक्षका नेताहरुले दिने अभिव्यक्ति र संस्थापन पक्षका नेताहरुले देखाइरहेको सदासयताले आन्तरिक विवाद केहि समय बढ्ने त होइन ? चिन्ता थपिएको छ । 

सत्तारुढ दल नेपाली कांग्रेसभित्रत संविधान सशोधनको एजेण्डामा चर्को बहस चलिरहेको छ । संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी ओलीले ०८७ मा मात्रै हुनसक्ने भनेपछि कांग्रेसको एक पक्ष चर्किएको छ । 

विश्वप्रकाश जस्तै केहि नेताहरुले ओलीले संविधान संशोधनको विषयलाई ओलीले टारेपछि सत्ता सहकार्यको औचित्य नै सकिएको टिप्पणी गर्न थालेका छन् । मीनेन्द्र रिजाल, नैनसिंह महर जस्ता धेरै नेताहरुले विरोध गर्दै गर्दा सत्ता सहकार्यको औचित्य पुष्टी गर्दै कांग्रेसको एक पक्ष अहिले पनि गठबन्धन तलमाथि नहुने भनिरहेको छ । यहि लाइनमा छन, महामन्त्री गगन थापा ।

यता गृहमन्त्रीको जिम्मेवारीमा रहेका रमेश लेखक पनि सरकारको पक्षमा खुलेर बचाउमा उत्रिने गरेका छन् । यहि सरकारले आर्थिक विकासका काममा देशलाई डो¥याउने दाबी गर्दै लेखकले विरोध गर्ने नेताहरुमाथि मनोवैज्ञानिक दबाब दिन खोजेका छन् । 

यसरी सरकारको स्थायित्वमाथिका सवालमा कांग्रेसमा दुई धार भने प्रष्ट देखिन थालेको छ । तर, सभापति शेरबहादुर देउवाले प्रतिक्रिया नदिएकाले पनि यो विषयमा के हुन्छ भन्ने कुरा निक्र्याैल भइसकेको छैन् । 

दबाबमा देउवा

पार्टी सभापति शेरबहादुर देउवामाथि संविधान संशोधनबारे केपी ओलीले दिएको अभिव्यक्तिले दबाब भने सिर्जना गरेको छ । संविधान संशोधनको प्रमुख बाधक माओवादी केन्द्र हो भन्ने भाष्य स्थापित गर्न तम्सिएका प्रधानमन्त्री केपी ओलीका कारण देउवाले पार्टीमा आन्तरिक मतभेद ब्यहोर्नुपर्ने भएपनि खास प्रभाव पर्ला ? शंका भने देखिन्छन् । 

उसोतः प्रायः विधि र पद्धतिबारेका बहसमा अग्रमोर्चामा देखिने महामन्त्री गगन थापा नै पछिल्लो समय यस्ता विषयमा मौन रहने गरेका छन् । यसले पनि कांग्रेसको आन्तरिक गुटको समिकरणमा ठूलो बदलाव आउने देखिएका कारण नै देउवाले थेग्ने दबाब भने केहि कम नै हुने देखिन्छ ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update