News 24 Television
संसद बैठक नबोलाउँदा विपक्षी चिढिए, सरकारको बचाउ गर्दै एमाले

काठमाडाैँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसद अधिवेशन नबोलाइएकोप्रति रोष प्रकट गरेका हुन् ।

आफू सभामुख हुँदा र अरु बेलामा पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको भए पनि अहिले यति ढिलो किन गरेको भन्दै उनले प्रश्न गरे । संसद अधिवेशन किन नबोलाइएको भन्ने जानकारी आम नागरिकले बुझ्न चाहेको बताउँदै सापकोटाले संसद कुनै पनि देशको महत्वपूर्ण संस्था हुने र यसले सुशासनदेखि धेरै कुराको सन्देश प्रवाह गर्ने जिकिर गरे । संसदबाटै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको जन्म हुने भएकाले संसदलाई बन्द गर्न नहुने उनकाे भनाइ छ ।

सापकोटाले भने, ‘संसद कुनैपनि देशको महत्वपूर्ण संस्था हो । यसबाट शक्तिशाली सुशासनको धेरै ठूलो सन्देश जाने गर्दछ । हाम्रोले के त्यस्तो सन्देश दिन सकेका छौँ ? पूरै राष्ट्रलाई प्रतिध्वनित गर्न सकेका छौँ । त्यही संसदबाट राष्ट्रपतिको जन्म हुन्छ, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको जन्म हुन्छ, सभमुखकै जन्म हुन्छ । त्यस्तो संस्थालाई त्यत्तिकै राख्नु हुँदैन । म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद सुचारु भएको छ । यत्ति ढिला बोलाउने कुरा भएको छैन । के कारणले संसद नबोलाइएको हो ? वास्तवमा यो मैले भनिरहेको होइन, जनसाधारणलाई समेत खुल्दुली छ । त्यो कारण पत्ता लागेको छैन ।’

उपाध्यक्ष सापकोटाले आर्थिक, विकास र समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको चमत्कारिक विकास आवश्यक भएको पनि बताए । उनले अहिले नेपाल जटिल र पेचिलो अवस्थामा रहेको जिकिर गरे ।

सत्तारूढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने संसद नबाेलाएर अध्यादेश ल्याउने सरकारकाे निर्णयकाे बचाउ गरेका छन् । उनले नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरुको व्यवस्था गरेको भन्दै अधिवेशन सुचारु नभएको बेलामा अध्यादेश ल्याउनसक्ने बताए । अध्यादेश ल्याउने कुरालाई संसदको अधिकार कटौती गरेको भनेर बुझ्न नहुने उनकाे भनाइ छ ।

सदनको पहिलो बैठकमै अध्यादेशहरु पेश हुने र पारित नभए स्वतः निष्क्रिय हुने बताउँदै ज्ञवालीले कानून बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेको बेलामा र संसद पनि नचलेको समयमा अध्यादेश ल्याएको कुरालाई संसदको अवज्ञा भन्न नहुने बताएका हुन् ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update