काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले न्यायिक हिरासतमा पठाएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित भएका रविको वयान सकिए पनि थुनछेक बहसका लागि समय अभाव भएपछि उनलाई हिरासतमा पठाउने आदेश दिइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाउने आदेश दिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा बयानका लागि उपस्थित भएका रविलाई अदालतले प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।
रविको वयान सकिएपनि थुनछेक बहसका लागि समय अपुग भएपछि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश दिएको हो । काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचर दुरुपयोग आरोपमा रविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
इजलासमा चर्काचर्की
रविको पक्षमा बहसका लागि तयार रहेका कानून व्यवसायीले रविलाई परिवारको जिम्मा लगाउन वा आफूहरुको जिम्मा लगाउका लागि इजलासमा अनुरोध गरेका थिए । त्यसमा न्यायाधीश माधवप्रसाद अधिकारीले अन्यको हकमा हुने जसरी नै प्रहरीको जिम्मा लगाउनुपर्ने भनेपछि केहिबेर भनाभन नै चलेको बताइन्छ । रवि भागेर कतै नजाने भन्दै कानून व्वयसायीहरुले चर्को स्वर गरेका थिए ।
त्यसपछि न्यायाधीश अधिकारीले कड्किदै अदालतमा सबैलाई समान व्यवहार हुने भन्दै प्रहरीको जिम्मा लगाउनुपर्ने अडान लिएका थिए ।
यहि विषयमा केहिबेर विवाद चलेपछि थुनछेक बहस नै भएन् । रविको बयानपछि थुनछेक बहसको तयारी भएपनि विवादका कारण सोमबारलाई थुनछेक बहस सरेको हो । उसोतः इजलासमै केहिबेर बयान सकिएपछि पनि थुनछेक बहस सुरू नहुँदै थुनामा पठाउने कि जिम्मा जमानीका छाड्नेबारे विवाद भएको थियो ।
शुक्रबारको सट्टा आइतबारको नेक्सस
बिहीबार कास्की जिल्ला अदालतले रवि लामिछानेलाई सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा ६५ लाख धरौटीमा छाड्ने आदेश गरेपछि उनी बिहीबार नै रिहा भएका थिए । त्यसमा रवि आफै उपस्थित हुने सर्तमा रिहा भएका थिए । तर, शुक्रबार अदालतमा उपस्थित हुनुको सट्टा रवि आइतबार मात्रै अदालतमा उपस्थित भए । सडकमार्ग हुँदै काठमाडौं फर्किदा समय लागाएको बताइएपनि उनले अदालतले न्यायिक हिरासतमा पठाउने विषयलाई नै केन्द्रमा राखेर यो निर्णय लिएको बताइएको थियो । यता, अदालतले समेत न्यायिक हिरासतमा पठाउने आदेश गरेपछि उनले शुक्रबारलाई सदुपयोग गर्दै शनिबार पनि हिरासतबाहिरको समय व्यतित गर्न खोजेको आरोप समेत पुष्टी भएको बताइन्छ । उसोतः सोमबारको थुनछेक बहसपछि थप निर्णय आउने भएकाले उनको हिरासत बसाई कहिलेसम्म हुनेछ भन्ने सोमबार नै थाहा हुनेछ । यस्तै, अदालतले पुर्पक्षका लागि थुना, धरौटी माग र साधारण तारेखमा छाड्ने वा के गर्ने भन्ने निर्णय लिनेछ ।
न्यायपरिषद्मा उजुरी
रवि लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको बचत अपचलनमा धरौटी माग्ने न्यायाधीश नितिज राईविरुद्ध न्यायपरिषद्मा उजुरी समेत परेको छ ।
न्यायाधीशको कार्यक्षमतादेखि विभिन्न विषय उठाएर न्याय परिषद्मा उजुरी परेको छ भने न्यायाधीश राईले आदेशको मितिमा समेत एकदिन अघिको मिति राखेर प्रमाणीकरण गरेको सार्वजनिक भइसकेको छ । २५ गते हुनुपर्नेमा न्यायाधीश राईले २४ गते फैसला भएको भन्दै धरौटी माग्ने आदेशलाई प्रमाणीकरण गरेका थिए ।
कहाँ रहन्छन् रवि ?
जिल्ला अदालतले प्रहरीको जिम्मा लगाएपछि रवि लामिछाने जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा रहेका छन् । प्रहरीले उनलाई सोमबार पुनः जिल्ला अदालतमा उपस्थित गराउनुपर्नेछ । जिल्ला अदालतमा हुने थुनछेक बहसपछि यो विषयको थप टुंगो लाग्नेछ । न्यायाधीशले न्यायिक हिरासत पठाउने फैसला गरेपछि रविले न्यायालयको सम्मान गर्ने प्रतिक्रिया दिएका छन् ।
