News 24 Television
विश्वमै नमूना पुनर्निर्माण गर्न सफल भएको प्रधानमन्त्रीको दाबी

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भूकम्पीय असरको सामना असाधारण ढंगले गरेको बताएका छन् । बुधवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालको भूकम्पपछिको पुनर्निर्माण नमूना पुर्ननिर्माणको रुपमा विश्वमै स्थापित गर्न सफल भएको दाबी गरे । आफू नेतृत्वको सरकारले २०७२ सालको भूकम्पपछि साढे ८ लाख घरहरु पुनर्निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेको उनकाे दाबी छ । उनले भूकम्पले भत्काएका सबैजसो ऐतिहासिक संरचनाहरुको पुनर्निर्माण गरिसकेको बताए । भूकम्पलाई रोक्न नसके पनि त्यसको असर कम गर्न प्रतिरोधी भौतिक संरचना बनाउन आवश्यक रहेको पनि उनले बताए । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भूकम्पीय असरको सामना हामीले असाधारण ढंगले गरेका छौं । २०७२ सालको भूकम्पले सबै घरहरु भत्काएको थियो । हामीले किचन र बाथरुमसहितका घरहरु निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेका छौं । त्यति सकिँदो रहेछ । त्यसैगरी हामीले अठोट गरेपछि साढे आठ लाख घरहरु, आवासहरु निर्माण गरेर पीडितलाई हस्तान्तरण गर्यौं भने धेरै ऐतिहासिक संरचनाहरुको पुनर्निर्माण गर्यौं । बाटाघाटा, खनेपानी, अस्पतालहरु, शिक्षालयहरु, सरकारी कार्यालयहरुको पुनर्निर्माण गर्यौं । नेपालको भूकम्पपछिको पुनर्निर्माण एउटा नमूना पुनर्निर्माणको रुपमा हामीले विश्वमै स्थापित गर्न सफल भयौं । हामीले यस्ता कामहरु गर्न सक्दा रहेछौं भने क्षति भएपछि भन्दा क्षति हुनुभन्दा अगाडि क्षति न्युन कसरी गर्ने भन्नेबारे सोच्न आवश्यक छ । घरलाई अलिकति भूकम्प प्रतिरोधी बनाउनसक्यौं भने त्यति छिटो भत्किँदैन । त्यसका लागि भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्नुपर्ने आवश्यकता छ । ’

भूकम्पको जोखिम न्युनीकरण र भूकम्पपछिको पुनर्निर्माणमा सरकार निरन्तर काम गरिरहेको उनको भनाइ छ ।
 

 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update