News 24 Television
रविलाई थप ६० लाख धरौटी, अब चितवन र रुपन्देहीको पालो

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछाने धरौटीमा छाडिएका छन् । यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा ६५ लाख धरौटीमा छुटेका रविलाई काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख धरौटीमा छाड्न आदेश दिएको हो । 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी बुझाएर तारेखमा छाडिएका रवि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पनि धरौटीमा छाड्ने आदेश दिएको हो । 

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपलचन मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी लामिछानेले हिरासतमुक्त भएका छन् । पोखरामा धरौटी बुझाएपछि पूर्व गृहमन्त्री लामिछाने काठमाडौं जिल्ला अदालतमा आफै हाजिर भएका थिए ।

आइतबार काठमाडौं अदालतमा उपस्थित भएका उनलाई थुनछेक बहस नसकिँदा न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि पोखराबाट छुटे पनि उनी काठमाडौंमा ४ दिन हिरासतमा बस्नु परेको थियो । स्कारपियो चढेर अदालत पुगेका उनलाई सोही दिन प्रहरीले भ्यानमा हिरासतमा लगेको थियो । 

थुनछेक बहसका क्रममा रास्वपा सभापति लामिछानेलाई धरौटी पनि नलिएर छाड्नुपर्ने उनी पक्षका वकिलले बहस गरेका थिए ।

स्वर्णलक्ष्मी सहकारीबाट रविसहितले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोपसहित मुद्दा चलेको हो । स्वर्णलक्ष्मी सहकारीको रकम लामिछाने तत्कालिन प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा लगेको आरोप छ ।

अदालतको आदेशः कसूरदार होइनन् भन्ने अवस्था रहेन 

प्रतिवादी रवि लामिछाने कसुरदार होइनन् भन्ने आधार नभएको हूँदा धरौटीमा छाड्न आदेश दिएको अदालतले स्पष्ट गरेको छ । 

‘अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकोले प्रस्तुत मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु.६०,००,०००÷– (साठी लाख रुपैयाँ) नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नु ।’ जिल्ला अदालत काठमाडौंको आदेशमा उल्लेख छ । 

पोखराको सूर्यदर्शन र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरणमा धरौटीमा छाडिए पनि रविविरुद्ध चितवनको सहारा चितवन, रुपन्देहीको सुप्रिम र पर्साको सानो पाइला सहकारीको रकम पनि अपचलन परेकोले ती सबै जिल्लाबाट पक्राउ पूर्जी जारी गरी रविसँग बयान लिइसकिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा धरौटीमा छाडिएका रवि अब चितवन, रुपन्देही र पर्सा जिल्ला अदालतमा क्रमशः उपस्थित हुनुपर्नेछ । 

सहकारी पीडित पक्षका वकिलमाथि दुब्र्यवहार 

स्वर्ण लक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट रविसँग बयान र थुनछेक बहस सकिएर धरौटीमा छाड्ने आदेश आउँदै गर्दा अदालत परिसरमै सहकारी पीडित पक्षका वकिलमाथि दुब्र्यवहार भएको छ ।

सहकारीपीडित पक्षका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अदालतबाट बाहिर निस्किँदै गर्दा उनीमाथि रास्वपा कार्यकर्ताबाटै दुब्र्यवहार भएको हो । प्रहरीले अधिवक्ता त्रिपाठीमाथि कुटपिटमा संलग्न भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यकर्ताहरुबाट मुद्दाको अनुसन्धानको क्रममा रहँदा कार्यकर्ताहरुबाट अदालतविरुद्ध नाराबाजी गरिनुका साथै अधिवक्ताहरुमाथि दुब्र्यवहारको घटनाले रास्वपा माथि पनि प्रश्नचिन्ह खडा भएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update