News 24 Television
‘जान्नेलाई छान्ने’ दल रास्वपा : कार्यकर्ताकै उग्र शैलीले नाप्दैछ हुर्मत ! 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको स्लोगन नै हो – ‘जान्नेलाई छान्ने ।’ पार्टी स्थापनापछि भएका निर्वाचनहरुमा पनि रास्वपा जान्नेलाई छान्ने स्लोगन लिएरै जनतामा गएको थियो । भर्खरै उदाउँदै गरेको दल भएपनि रास्वपाको राजनीतिक एजेन्डा स्पष्ट नै छ, ‘वर्तमान शासन व्यवस्थालाई नै अंगिकार गरेर राजनीतिक सुदृढिकरण गर्ने र मुलुकमा सुशासनसँगै सकारात्मक परिवर्तन ल्याउने ।’

दल स्थापनाको पूर्वार्धमा राम्रोसँग जनताको मन जितेको रास्वपाले सत्ताहुँदै अहिले प्रतिपक्षमा पुग्दा धेरै ठक्कर र हुण्डर भोगिसकेको छ । मुख्यतः रास्वपाले सभापति रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा अनेकौँ परीक्षा दिइसकेको छ । सभापति रविले सहकारी ठगी प्रकरणमै ८४ दिन लामो प्रहरी हिरासतको समेत सामना गर्नपर्यो । लामो अनुसन्धानपछि रवि एकसाता अघि मात्रै कास्की जिल्ला अदालतको आदेश अनुसार ६५ लाख धरौटीमा छुटेका थिए । 

रविलाई कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा कसुरदार होइनन् भन्ने प्रमाणित हुन नसकेको व्याख्यासहित धरौटीमा रिह गर्न आदेश दिएको थियो । कास्कीपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपलचन मुद्दाका लागि जिल्ला अदालतमा उपस्थित भएका रविलाई ४ दिन न्यायिक  हिरासतमा राखेको थियो । 

उनीविरुद्धको मुद्धामा थुनछेक बहस भएपछि रविलाई काठमाडौं जिल्ला अदालतले पनि ६० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी हिरासतमुख्त भएका छन् । 

कास्कीमाजस्तै काठमाडौं जिल्ला अदालतले पनि अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको व्याख्यासहित रविलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

रास्वपा कार्यकर्ताको अराजक हर्कत 

 बुधबार स्वर्णलक्ष्मी सहकारीे ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले रविसँग बयान र थुनछेक बहस गरिसकेको थियो । यसपछि रविलाई धरौटीमा  रिहाइ गर्ने आदेश आउने  तयारी भइरहँदा अदालत परिसरमै सहकारी पीडितका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरुले हातपात गरेका थिए । 

अदालतबाट निश्कनेक्रममा पत्रकारहरुले सोधेको प्रश्नको  जवाफ दिने दिँदै गर्दा अधिवक्ता त्रिपाठीमाथि हातपात भएको  देखिन्छ । 

न्यायीक निरुपणको प्रकृयामा शहकारी पीडितको पक्षमा वकालत गर्ने अधिवक्तामाथि यसप्रकारको हर्कत गर्नु सिंगो रास्वपा र त्यसको नेतृत्वमाथि नै प्रश्न उठ्नु हो । 

यो हर्कतले लाखौँ कार्यकर्ता अँटाएको रास्वपाप्रतिको आस्था र भरोषालाई कमजोर बनाउने खतरा पैदा गराएको छ । हुनत अधिवक्तामाथि दुर्व्यवहार भएपछि विभिन्न दल र तीनका नेताहरुले रास्वपा कार्यकर्ताको हर्कतको  विरोध गरेका छन् । स्वयम रास्वपाले पनि उक्त कार्यमा सम्बद्ध रहेको पाइए आफ्नै कार्यकर्ताहरु भएपनि कारवाही गरिने भन्दै विज्ञप्ति जारी गरेको थियो । 

आदेशपछि रविको अभिव्यक्ति यस्तो !

सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध विभिन्न जिल्लाहरुमा मुद्धा छ । जसमध्ये रविविरुद्ध अभियोग पत्र दायर भएका कास्की र काठमाडौंमा अदालतले रविलाई धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ । रविले कास्की र काठमाडौंमा मात्रै १ करोड २५ लाख धरौटी बुझाइसकेका छन् । रवि अझै चितवन, रुपन्देही र पर्सा जिल्ला अदालतमा  उपस्थित हुनुपर्नेछ । यद्यपि रविले भने अदालतबाट पूर्ण सफाइ पाइसकेझैँ अभिव्यक्ति दिइरहेका छन् । 

उनले काठमाडौं र कास्की दुवै अदालतबाट बाहिरिँदा देशमा न्याय नमरेको प्रतिकृया  दिएका थिए । जबकी उनी रिहा हुने आदेशमा भारी धरौटी मागसँगै प्रतिवादी बनाइएको मुद्धामा उनी कसुरदार होइनन् भन्न सकिने अवस्था नरहेको भन्ने प्रष्ट उल्लेख गरिएको छ ।

यो मुद्धाको पूर्ण फैसला आउँदा मात्रै रवि दोषी वा निर्दोष हुन् भन्ने प्रष्ट हुनेछ । तर रविले अहिले अदालतको आदेशमाथि पूर्ण न्यायीक सम्पादन भइसके झै अभिव्यक्ति दिनु स्वभाविक देखिँदैन । 

उता अदालतमा न्यायीक प्रकृया चलिरहँदा रास्वपाकै कार्यकर्ताबाट अधिवक्तामाथि हातपात हुनुले पनि ‘जान्नेलाई छान्ने’ दल रास्वपाका कार्यकर्ताहको हुर्मत जाँच गरिररहेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update