News 24 Television
देउवाले खोजे मन्त्रीहरुको प्रगति विवरण 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ६ महिना भइसकेको छ । तर पनि सरकारको काम कारबाहीप्रति सत्तारुढ नेपाली कांग्रेसकै कार्यकर्ताहरु असन्तुष्ट छन् । सरकारको काम प्रभावकारी नभएको भन्दै पार्टीभित्रैबाट दबाब बढेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर कार्य प्रगति विवरण मागेका छन् । 

नेपाली कांग्रेससहितको गठबन्धन सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । 

विकास र समृद्धिको चर्का नारा लगाउने गरेका प्रधानमन्त्री ओलीले केही दिनअघि बसेको एमाले केन्द्रीय समिति बैठकमा पनि सरकारले गरेको कामको प्रशंसा गरेका थिए । यद्यपी सरकारको काम सन्तोषजनक नभएको स्वीकारोक्ति भने ओलीको थियो । तर नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु आफ्ना पार्टी सरकारका सहभागी भए पनि सन्तुष्ट छैनन् । 

पटक पटक सरकार फेरिने भएकोले सरकारको स्थायित्वको लागि प्रमुख दुई दल कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको तर पनि प्रभावकारी काम हुन नसकेको नेताहरुले बताउँदै आएका छन् ।

ओली नेतृत्वको सरकार गठन भएको ६ महिना भइसक्दा पनि जनमुखी काम हुन नसकेको आलोचनाकाबीच विहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीहरुलाई आफ्नै निवास बुढानिलकण्ठमा बोलाएर प्रगति विवरण मागेका छन् । 

छलफलका क्रममा मन्त्रीहरुले प्रधानमन्त्री ओलीको कार्यशैलीको बारेमा पनि देउवालाई ब्रिफिङ गरेका छन् । सोंचेजस्तो काम गर्न कहिँ न कहिँ समस्या भएको मन्त्रीहरुले गुनासो पनि गरेका थिए ।  

पछिल्लो समय बीआरआई समझदारीबाट असन्तुष्ट रहेको कांग्रेस सत्ता गठबन्धनका क्रममा भएको सहमतिविपरित संविधान संशोधन तत्काल नहुने भनी प्रधानमन्त्री ओलीले पार्टी केन्द्रीय समिति बैठकमा दिएको अभिब्यक्तिले पनि कांग्रेस चिढिएको छ । सरकारको सेवा प्रभावकारी नभएको गुनासो पनि उस्तै छ । 

त्यसैले देउवाले एमाले र काँग्रेसको बीच बनेको सात बुँदे सहमतिअनुसार अहिलेको सत्ता समीकरणलाई अघि बढाउने र राम्रो ढंगबाट जनतामा सेवा प्रवाह गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । 

कांग्रेस सभापति देउवा र कांग्रेसका मन्त्रीहरुबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई वटै आयोगको विषयमा पनि छलफल भएको छ ।

ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारमा कांग्रेसका १० मन्त्री र २ जना राज्यमन्त्री छन् । संसदीय दलको कार्यसमितिसमेत सहभागी उक्त छलफलमा देउवाले मन्त्रीहरुलाई ७ बुँदे सहमतिअनुसार अघि बढ्न र सेवा प्रभावकारी बनाउन निर्देशन दिएका छन् । कांग्रेस मन्त्रीहरुले अब हप्ताको २ दिन भेटघाट, नागरिकको गुनासो सुन्नुपर्ने भएको छ भने बाँकी ५ दिन मन्त्रालयको काममा केन्द्रित बन्न पनि निर्देशन दिइएको छ । 

संसदीय दल अनुशासन समिति गठन 

सरकारको काम कारबाहीबारे छलफलका लागि कांग्रेस सभापति देउवाले बोलाएको बैठकले संसदीय दल अनुशासन समिति पनि बनाएको छ । सांसद दिलेन्द्र प्रसाद बडुको संयोजक रहने गरी समिति गठन गरिएको छ । 

यस्तै, सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा डा. प्रकाशरण महत र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोकिएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update