News 24 Television
कास्की र काठमाडौंपछि अरु तीन जिल्लामा रविको मुद्दा 

काठमाडौं । सहकारी ठगी मुद्दामा कास्की र काठमाडौंबाट धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अरु ३ जिल्लामा पनि मुद्दा फेस गर्नुपर्ने भएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारीबाट रकम अपलचन भएको प्रहरीले लामिछानेसँग यसअघि नै बयान लिइसकेको छ । प्रहरीले रवि र पूर्व डीआईजी छविलाल जोशीसहितलाई प्रतिवादी बनाउँदै तयार पारेको प्रतिवेदन सरकारी वकिललाई बुझाईसकेको छ । 

कास्की जिल्लाको पोखरास्थित सूर्यदर्शन र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण मुद्दामा धरौटीमा छाडिएका रास्वपा सभापति रवि लामिछानले अन्य तीन जिल्लाको सहकारी ठगी प्रकरण मुद्दाको सामना गर्नुपर्ने भएको छ । 

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख तथा काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । 

पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्ने दुवै जिल्लाको थुनछेक बहसका क्रममा लामिछानेलाई धरौटीमा छाड्ने आदेश आएपछि उनी दुवै जिल्लामा धरौटी बुझाएर छुटेका हुन् । 

पोखरा हिरासतमा ८४ दिनको बसाईपछि धरौटी बुझाएर छुटेका उनी काठमाडौं जिल्ला अदालतमा भने आफै हाजिर भएका थिए । तर थुनछेक बहस लम्बिदा उनलाई ४ दिन न्यायिक हिरासतमा राखिएको थियो । पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने आदेश भएको दुवै जिल्ला अदालतले प्रतिवादी रविलाई कसूरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको भन्दै धरौटी माग गरी तारेखमा छाडेको हो ।   

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरण 

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा प्रहरीले रवि र पूर्व डीआईजी छविलाल जोशीसहित पुराना २८ र नयाँ १४ गरी ४२ जनाविरुद्ध मुद्दा चलाउने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । 

सुप्रिम सहकारीबाट रविको व्यक्तिगत रूपमा गएको २ करोड  र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो मागदाबी गरिएको छ । सोही अनुसार नै रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरिँदैछ । 

सहारा चितवन सहकारी ठगी प्रकरणमा पनि मुद्दा  
 
रास्वपा सभापति लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहारा चितवन सहकारीबाट पनि रकम अनियमिता भएको भन्दै चितवनमा पनि मुद्दा चलाईँदैछ । साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ । सहारा सहकारीका पीडितले दिएको जाहेरीको आधारमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

वीरगञ्जको सानो पाइला सहकारीमा संलग्न 

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारीबाट करिब आठ करोड रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ।पर्सा जिल्ला अदालतले गत मंसिर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएकाले पोखरा हिरासतकै क्रममा बयानका लागि लामिछानेलाई वीरगञ्ज लगिएको थियो ।

पोखरा र काठमाडौं जिल्ला अदालतबाट धरौटी राखेर तारेखमा छाडिएका लामिछानेले अब क्रमशः रुपन्देही, चितवन र पर्सा जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ । 

दुवै जिल्ला अदालतले पुपक्र्षका लागि थुनामा जानु नपर्ने आदेश दिए पनि कसुरदार होइनन्, भन्न सक्ने अवस्था नरहेको स्पष्ट गरेको छ । थुना बाहिरै रहेर मुद्दा लड्नुपर्ने अवसर पाएका लामिछानेको मुद्दाको किनारा कसरी लाग्छ, त्यो भने प्रतिक्षा गर्नुपर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update