काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग्दा समिति बैठकमै चर्काचर्की परेको छ । सहकारी ठगी प्रकरणमा मुछिँदै आएका सभापति पोखरेल सत्ताको आडमा अनैतिक रुपले टिकिरहेको प्रतिपक्षी दलहरुको आरोप छ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले मंगलबार फेरि सभापति पोखरेलको राजीनामा माग गरेको छ । तर सत्तारुढ एमालेका सांसदहरुले सभापतिमाथि प्रश्न उठाउन नपाइने भन्दै प्रतिरक्षा गरे । मंगलबारको बैठकमा सत्तारुढ काँग्रेसकै सांसद र प्रतिपक्षी रास्वपाका सांसदले पनि पोखरेलको राजीनामा मागे ।
माओवादीले विगतदेखि नै सार्वजनिक लेखा समिति सभापति सत्तापक्षको नभएर प्रतिपक्षी दलको हुनुपर्ने माग उठाउँदै आएको थियो । सत्तापक्ष एमालेबाट सभापति बनेका ऋषिकेशमाथि सहकारी ठगीको आरोप समेत लागेर नैतिक प्रश्न उठिसकेपछि एमालेबाहेकका दलहरुले उनको राजीनामालाई थप जोडबोल दिएका छन् । मंगलबार पनि सांसदहरुले पोखरेलमाथि विभिन्न प्रश्न समेत उठेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिए । माओवादी सांसद जनार्दन शर्माले सरकारका अनियमितताका विषयमा प्रश्न उठाउने सार्वजनिक लेखा समितिलाई सरकारकै लाचार छायाँ बनाएको आरोप लगाए । लेखा समितिको सभापति पद प्रतिपक्षले पाउने अन्तर्राष्ट्रिय अभ्यास र संसदीय व्यवस्थाको मान्यता दुवै भएको उनको तर्क छ ।
सत्तारुढ नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि लेखा समिति सभापतिले राजीनामा दिनुपर्ने बताए । परम्परा र विश्वव्यापी प्रचलनअनुसार लेखा समिति सभापति प्रतिपक्षलाई नै दिनुपर्ने बताउँदै केसीले विगतदेखि यस्तो परम्परा तोडिँदै गएको बताए । उनले विगतमा माओवादी–काँग्रेस गठबन्धनको सरकार हुँदा परम्परा तोडिएको भन्दै अब विवाद उठिसकेपछि सभापति सत्ता पक्षले छाडेर प्रतिपक्षलाई दिनुपर्ने बताए । प्रतिपक्षी दल रास्वपाका सांसद हरि ढकालले पनि सभापति पोखरेलको राजीनामा माग गरे । उनले विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उप्काउँदै खासमा यो पद नै प्रमुख प्रतिपक्ष दलको हुनुपर्नेमा जोड दिए ।
माओवादीकै सांसद लेखनाथ दाहाल (राजन)ले लेखा समिति सरकारको लाचार छायाँ बनेको भन्दै सरकारका नराम्रा कामको ढाकछोप गरिरहेको आरोप लगाए । विवादित भइसक्दा पनि लेखा समितिको नेतृत्व प्रतिपक्षीलाई नदिनुमा सरकारको कुकर्म ढाकछोप गर्ने बदनियत रहेको उनको आरोप छ । सभापतिले नैतिकताका आधारमा राजनीनामा दिनुपर्ने उनको जोड रह्यो । माओवादी सांसद अमनलाल मोदीले पनि सभापतिको बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिनु नै पर्ने बताए । विगतमा एक्लै आवाज उठाए पनि अहिले समितिमा धेरै सांसद र सत्तापक्षकै दलको साथ पाएको उनको भनाइ छ । विगतमा एमाले प्रतिपक्षमा हुँदा समिति सभापति प्रतिपक्षलाई दिन माग गर्दै बैठक बहिस्कार गरेको समेत उनले स्मरण गराए ।
यसरी माओवादी सांसदहरुले लेखा समिति सभापतिको राजीनामा माग्दा सत्तारुढ दलकै सांसदको समेत साथ पाउन थालेका छन् । तर सत्तारुढ एमालेका केही सांसद भने विवादित सभापतिलाई जोगाउन आक्रामक रुपमा प्रस्तुत भए । एमाले सांसद तारा लामा तामाङले प्रतिपक्षी दल र अन्य सांसदले सभापतिको राजीनामाका विषयमा ‘अब बोले राम्रो हुँदैन’ भनेर धम्की नै दिइन् । त्यसको प्रतिवाद गर्दै माओवादीका सांसद लेखनाथ र अमनलालले ‘के राम्रो हुँदैन ? कुस्ती खेल्न भनेको हो ? यो असंसदीय भाषा भयो’ भन्दै ताराको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । त्यसपछि एमाले सांसद योगेश भट्टराईले ताराको बचाउ गर्दै ‘कसरीे असंसदीय भयो ?’ भन्दै माओवादी सांसदसँग प्रश्न गरे । यस विवादमा समितिको बैठकमा केही बेर चर्काचर्की परेको थियो । तीन दलले लेखा समिति सभापतिको राजीनामा माग्दा एक्लो एमाले भने बचाउमा उत्रिएको छ ।
