काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपालको कानूनमा समावेश हुने बताएका छन् । बुधवार काठमाडौंस्थित शसस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् ।
गृहमन्त्री लेखकले केही दिनमा लामो समयदेखि सशस्त्र प्रहरी जवानहरुले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानूनमा समावेश गर्ने घोषणा गरेका हुन् । उनले सम्पूर्ण अधिकृतदेखि जवानहरु समेतको आवाजलाई समेटेर कानूनको तर्जुमा गरिएको बताए ।
आफू गृहमन्त्री बनिसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानूनी स्थिरतामार्फत थप प्रभावकारी, व्यावसायिक बनाउन र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्ने कुरामा जोड दिइरहेको उनकाे दाबी छ । सशस्त्र प्रहरी बल नेपालको कानूनलाई केही दिनमै विधेयकका रुपमा संसदमा दर्ता गर्ने पनि उनले बताए ।
गृहमन्त्रीले भने, ‘म गृहमन्त्रीको जिम्मेवारीमा आइसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानूनी स्थिरतामार्फत थप प्रभावकारी, व्यवसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्नेकुरालाई जोड दिँदै आएको छु । सम्माननीय प्रधानमन्त्रीज्यु लगायत सबै साथीहरुको सहयोगमा सशस्त्र प्रहरी बल नेपालको कानूनलाई केही दिनमै विधेयकका रुपमा संसदमा दर्ता गर्ने सबै तयारी भइ अन्तिम रुप हामीले दिइसकेका छौँ । हामी केही दिनमा सम्बन्धित विधेयकलाई संघीय संसदमा दर्ता गर्नेछौँ । सम्पूर्ण अधिकृतदेखि जवानहरु समेतको आवाजलाई समेटेर कानूनको तर्जुमा गरिएको छ । लामो समयदेखि सशस्त्र प्रहरी जवानहरुले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानूनमा समावेश गरिनेछ । यो कुरा आजको विशेष दिनमा सशस्त्र प्रहरी बल नेपालका सक्कल दर्जाको अगाडि राख्न पाउँदा खुशीको अनुभव गरिरहेको छु ।’
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले काम गरिरहेको बताए । सीमा क्षेत्रमा हुने चोरी-पैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई संगठनले प्राथमिकतामा राखि कार्य सञ्चालन गरिरहेको उनकाे दाबी छ ।
महानिरीक्षक अर्यालले हालसम्म नेपालले मर्मत गर्नुपर्ने २ हजार ३०८ वटा सीमा स्तम्भहरुको मर्मत तथा रंगरोदन सम्पन्न गरिसकेको बताए । सीमा क्षेत्रका समकक्षी सुरक्षा निकायहरुसँग नियमित बैठक आयोजना गरी सौहद्रपूर्ण सांगठनिक समन्वयका साथ सहकार्य गरिरहेको उनकाे भनाइ छ । राज्यको सीमा सुरक्षा पहराले मात्र बलियो नहुने भन्दै उनले सीमा क्षेत्रका नागरिकको मन, मस्तिष्क र विश्वास जितेर परिचालित हुनसके उनीहरुमा समेत सीमा सुरक्षाको सम्बन्धमा जिम्मेवारी बोध हुने बताए ।
