काठमाडौं । स्वतन्त्रबाट निर्वाचित धरान उपमहानगरका मेयर हर्क साम्पाङ बेलाबखत आफ्नै कार्यशीली र अभिव्यक्तिका कारण आलोचित बन्दै आएका पात्र हुन् ।
उनीमाथि बेला–बेलामा सामाजिक सद्भाव नै खलल् पुर्याउने अभिव्यक्ति दिने गरेको भन्ने समेत आरोप लाग्ने गरेको छ । धेरैजसो आफ्ना अभिव्यक्तिहरु सामाजिक संजालमै पेश गर्ने उनी छिनछिन्मै फेसबुकमा स्टाटस पनि लेख्ने गरेका छन् । सामाजिक विकृति र दलिय अराजकताविरुद्धका असन्तुष्टिहरुलाई उनी संगितकै माध्यममार्फत पनि व्याङ्ग्य गर्ने गरेका छन् । केही वर्ष पहिले हर्कले रचेको एक व्याङ्ग्यात्मक शैलीको ‘ओ साथी गुइँठे’ शीर्षकको गीत सामाजिक संजालमा भाइरल बनेको थियो ।
मेयर हर्क दलिय विकृतिका चँगुलविरुद्ध अभिव्यक्ति दिँदै धरानमा श्रम संस्कृतिको अभियान चलाइरहेका छन् । मुख्यतः धरानमा खानेपनीको समस्यलाई समाधान गर्ने एजेन्डा बनाएका हर्कले श्रमदानबाटै खानेपनीको व्यवस्थापन गर्ने अठोट लिएका थिए ।
उनले धरानमा कोकाहा खोलाको पानी समेत झारेका थिए । यद्यपि उक्त पानीको श्रोत नै अस्थायी हुँदा सो खानेपानीको उपलब्धताले मात्रै धरानको अभाव पूर्ती गर्न नसकेको अवस्था छ । हिउँदको समयमा उक्त पानीको श्रोत नै खुम्चने हुँदा अहिले धरानमा खानेपनीको चरम संकट छ । यही समस्या समाधानका लागि मेयर हर्क मंगलबार प्रधानमन्त्री, अर्थमन्त्री र खानेपानी मन्त्रीलाई भेट्न भन्दै रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्ने प्रयास गरेका थिए ।
तर धरानमा खानेपानीको चरम संकट रहेको भन्दै यसको समाधानका लागि रित्तो गाग्री प्रतिकात्मक रुपमा प्रदर्शन गर्न खोजेका हर्कलाई सिंहदरबारमा भने रोकिएको थियो । हर्कले प्रधानमन्त्री, अर्थमन्त्री र खानेपानी मन्त्रीसामु नै पुर्याउन कोसिस गरेपनि सिंहदरबार प्रवेश गर्नेक्रममा नै प्रहरीले गाग्री खोसेको हो ।
जसका कारण हर्कले धरानबाटै ल्याएको रित्तो गाग्रीले भने सिंहदरबार प्रवेश पाएन । यद्यपि उनले अर्थमन्त्री विष्णु पौडेल र खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानको योजनामा साथ दिन र बजेटको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
उता हर्कको माग सुनेका मन्त्री प्रदीप यादवले भने धरानको खानेपानीे समस्या समाधान गर्न आफूहरु पहिलादेखि नै लागिरहेको बताए । अब योजनाका लागि टेण्डर चाँडै निकाल्ने र यही वर्षभित्र समस्या समाधान गर्ने योजना रहेको पनि मन्त्री यादवको भनाइ छ ।
धरानमा लामो समयदेखि खानेपानीको चरम समस्या छ । धरानको खानेपानी समस्या विगतदेखि नै राजनीतिक एजेन्डा बन्ने गरेपनि यसको दीर्घकालीन समाधान भने अझै हुन सकेको छैन । यसैको निराकरण गर्ने आधार खोजेका मेयर हर्कले प्रतिकात्मक रुपमा रित्तो गाग्रीनै लिएर सिंह दरबार प्रवेश गर्न खोजेका हुन् । उनले सरकारमाथि दवाव सृजना गर्नकै लागि यसप्रकारको विधि अपनाएको देखिन्छ ।
प्रधानमन्त्रीले दिएनन् समय
धरानबासीको खानेपानी समस्या समाधानका लागि सिंहदरबारमा आएका मेयर हर्कले मुख्य तीन पात्रलाई भेट्ने आकाङ्क्षा राखेका थिए । यसक्रममा अर्थमन्त्री र खानेपानी मन्त्रीले भेटेरै हर्कलाई आश्वस्त पारेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने भेट गर्न समय नै दिएनन् । भेट्नका लागि पटक पटक सम्पर्क गर्दा पनि समय नदिएको भन्दै हर्कले प्रधानमन्त्रीप्रति गुनासोसमेत पोखेका छन् ।
प्रधानमन्त्रीले भेट गर्न समय नदिएको बारे हर्कले सामाजिक संजालमा स्टाटस लेख्दै ओलीले आफूसँग फेस गर्न नसकेको पनि प्रतिकृया दिएका छन् ।
उता हर्कले गाग्री नै लिएर सिंहदरबार प्रवेश गर्न खोजेको विषयलाई भने कतिपयले स्टन्ट र प्रचारबाजको पराकाष्ट भन्दै हर्कको हर्कतबारे आलोचना गरिरहेका छन् । यद्यपि हर्कले भने आफूले कुनै आन्दोलन र हुल–हुज्जलत नगरेको प्रष्टिकरण दिइरहेका छन् । तर जेहोस् एक स्वतन्त्रबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले आफ्नो नगरबासीको खानेपानी सुविधाका लागि केन्द्र सरकारमाथि दिएको यो दवावाई धेरैजसोले प्रशंसायोग्य भनेका छन् ।
