काठमाडौं । नेपाली कांग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयमा बहस चलाएको छ । नेपालमा आउने वैदेशिक सहयोग, लगानी, ऋण र अनुदानको वियषमा हुने राजनीतिक दाउपेचकाबिच चलेको बहसमा कांग्रेसले साझा नीतिको आवश्यकता औल्याएको छ भने एमसीसीको पक्षपोषण समेत खुलेरै गरेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयमा वहस चलाएको छ । बहसमा बोल्ने कांग्रेस नेताहरुले वैदेशिक सहायताको अर्थराजनीति दलीय दृष्टीकोणको आधारमा हुने तर्क गरेका छन् । तर, कांग्रेस महामन्त्रीद्वयले विदेशबाट लिने सबैखाले सहयोग, ऋण, अनुदान वा अन्य विषयमा एकैखाले नीति अवलम्बन गर्नुपर्ने धारणा राखेका छन् । सरकार बन्ने, ढल्ने काम चलिरहने भन्दै उनीहरुले साझा नीति बनाएर काम गर्नुपर्नेमा जोड दिए ।
कांग्रेसमा साझा विदेश नीति र परराष्ट्र नीतिमा समेत तादम्यता आवश्यक रहेको भन्दै बहस चलेको छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने एमसीसीको विरोध गर्नेहरुले अहिले हेरे हुने भन्दै यसको बचाउ गरेका छन् ।
वैदेशिक सहायता, ऋण अनुदानको विषयमा चर्को बहस गरिएपनि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने विदेशीबाट माग्नेमात्रै नभई आफ्नो क्षमता वृद्धिमा समेत जोड दिन आवश्यक रहेको जिकिर गरे । यसरी कांग्रेसले साझा नीतिको अवलम्बनको बहस गरेपनि यो सम्भव होला ? प्रश्न र शंकाहरु भने व्याप्त छन् ।
एमसीसी र बीआरआई
एमसीसी नेपालको संसदले नै अनुमोदन गरेको थियो । एमसीसी सम्झौतामा रहेका केहि प्रावधानका कारण देखिएको विवादका कारण संसदले ब्याख्यात्मक घोषणासहित पारित गरेको एमसीसीको चर्चा चल्दै गर्दा चिनियाँ महत्वकांक्षी परियोजना बीआरआई सम्झौता अझं, आफ्नै पार्टी सम्मिलित सरकारले गरेको विषयलाई भने देउवाले चर्चाको विषय नै ठानेनन् ।
बीआरआई होस वा एमसीसी वा अन्य ऋण अनुदान सहायता नै किन नहुन्, नेपालले के कसरी लिने भन्ने विषयलाई साझा नीति बनाएर अघि बढ्न नसक्दा यस्ता विषयले लामो विवाद निम्त्याउने गरेको छ भने नेपालको परराष्ट्र नीतिले नै सन्तुलन गुमाउन खतरा पैदा गर्ने शंका समेत देखिन्छ ।
