News 24 Television
बैठकमै सांसदहरुको लफडा ! सभापतिलाई कसले के भने ?

काठमाडौं । संसदीय समितिका सभापतिहरुको भूमिका र संसदीय समितिको कामकारबाहीका बारे पछिल्ला दिनमा प्रश्नहरु बढ्दो क्रममा देखिन्छन् । प्राय संसदीय समितिका बैठकहरुमा सांसद र सभापतिबीच भनाभनकै अवस्था समेत देखिने गरेको छ । त्यसैले पनि संसदीय समितिका सभापतिको भूमिका र समितिको कामकारबारे सांसदहरुले ध्यानाकर्षण गराएका छन् । 

पछिल्ला दिनहरुमा संघीय संसदका समितिहरुको बैठकमा भएका छलफलको विषयहरु भन्दा पनि समितिका सभापतिहरुसँग भइरहेका लफडाहरुले चर्चा पाइरहेको छ ।

राज्य व्यवस्था समिति, लेखा समिति, अन्र्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलगाएत अन्य समितिहरुमा समेत कहिले सांसद–सांसद बीच त कहिले सभापतिसँग अस्वभनीय नोकझोक भइरहेको  देखिन्छन् । समितिका सभापतिहरुको भूमिका माथि प्रश्न गर्दै सांसदहरु झोक्किने गरेको  हुन् । यो परिपेक्षमा समितिका सभापतिहरु र समितिको कामकारबाहीलाई प्रभावकारी बनाउन सांसदहरुले ध्यानाकर्षण गराएका छन् । 

बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुले समितिले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा सभापतिको ध्यानाकर्षण गराए । उनीहरुले विधेयक वर्षौंसम्म अड्काएर राख्न नहुनेमा जोड दिए । समितिमा आएको जलश्रोत विधेयक, २०८१ सहितका अन्य विधेयकहरु छिटो टुंग्याउनुपर्नेमा जोड दिए । 

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद महेश बस्नेतले अर्थतन्त्रलाई गतिशिल बनाउने सन्दर्भमा पनि पूर्वाधार विकास समितिको भुमिका महत्वपूर्ण रहेको बताए । 

नेपाल सरकारले आफ्नो क्रय शक्तिलाई पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा आम रुपमा श्रोत र साधन तल जान नसकेको, जसले गरिबी घटाउन र विकास निर्माण अघि बढाउन नसकिरहेको उनको भनाई छ । विधेयकको छलफललाई वृहत दायरामा लैजाने कुरामा समिति अघि बढ्नुपर्ने समेत उनले बताए । 

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले समिति सदनप्रति जवाफदेही हुन नसकेको आरोप लगाए । सभापतिहरु समिति र संसदप्रति बढी जवाफदेही हुनुपर्नेमा सरकारप्रति बढी जवाफदेही बन्ने गरी अघि बढिरहेको उनको आरोप छ । यो प्रवृति छोडेर अब समितिको काम कारबाहीलाई व्यवस्थित गर्न उनले आग्रह गरेका छन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले पूर्वाधार विकाससम्बन्धी महत्वपूर्ण कामहरु अघि बढिरहेको बताए । तर, केही अलपत्र रहेको र केही सम्पन्न हुने स्थिति रहेको भन्दै अलपत्र आयोजनारुहरु अघि बढाउन आवश्यक रहेको उनले सुझाव दिए । 

सांसद नेपालीले मुग्लिङ–पोखरा सडक खण्डको समितिले स्थलगत अनुगमन गर्नुपर्ने माग समेत गरेका छन् । यसैगरि, समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारलाई दबाब दिएर भएपनि समितिमा आएको जलश्रोत विधेयकसहितका विधेयकहरु छिटो टुंग्याउनुपर्ने बताए । समितिमा परेका उजुरीका सम्बन्धमा उपसमिति गठन गरेर जानुपर्ने उनको माग छ । उनले सभापतिले आफ्नो समितिसँग सम्बन्धित विषयहरुमा बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड समेत दिए । 

सांसदीय समितिहरु मिनी संसद हुन् । कानून निर्माण लगाएत सरकारलाई खबरदारी गर्ने कार्यमा संसदीय समितिको महत्वपूर्ण भूमिका हुने गर्छ तर, वर्तमान अवस्थामा संसदीय समितिका कामकारबाहीको अवस्थालाई प्रभाकारी छन्, भन्न सकिने अवस्था छैन । साथै समितिका सभापतिहरुले बैठकमा समान व्यवहार नदेखाएको भन्ने गुनासोहरु पनि सतहमै देखिन्छन् । यि सबै पक्ष सुधार गर्दै संसदीय समितिले आफ्नो प्रभावकारिता बढाउनु संसदीय अभ्यास गरिरहेको नेपालका लागि सुखद् हुने देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update