काठमाडौँ । दोस्रो प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्माण भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नका लागि प्रयास जारी छ । न्यून भिजिबलिटीको समस्याका कारण अन्तर्राष्ट्रिय उडान-अवतरण मात्र हैन आन्तरिक उडान समेत ठप्प हुने अवस्था आएपछि उक्त विमानस्थलमा नयाँ प्रणाली लागु गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि उक्त विमानस्थल ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन-अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रणालीबाट उडान–अवतरणको अनुमति दिन थालेको हो । उक्त प्रणाली कार्यान्वयनमा जाँदा भिजिबलिटीको समस्या समाधान हुने प्राधिकरणले जनाएको छ ।
हिउँद याममा तराई क्षेत्रमा बिहानदेखि दिउँसोसम्म बाक्लो हुस्सु लाग्ने गर्छ । भैरहवा विमानस्थलमा पनि यही हुस्सुका कारण भिजिबलिटी न्यून हुने गर्छ । यस्तो न्यून भिजिबलिटीमा उडान तथा अवतरण गर्नका लागि यसअघि नै ‘इन्स्ट्रमेन्टल ल्यान्डिङ सिस्टम’ (आईएलएस) लागु गर्ने प्रयास गरिएको थियो । तर उक्त प्रणालीअनुसार विमान अवतरण गर्दा कहिलेकाहीँ भारतीय आकाशमा जाने सम्भावना रहन्छ । तर भारतले सुरक्षा संवेदनशीलताका कारण आफ्नो आकाशको अनुमति नदिँदा उक्त प्रणाली कार्यान्वयनमा आउन सकेन । भारतले उपेक्षा गरेपछि नेपालले भू-उपग्रह (स्याटेलाइट)मा आधारित आरएनपी–एआर प्रविधि लागु गरेको हो । यो प्रविधि लागु भएसँगै अब साना विमान ५०० देखि ८०० मिटर र ठूला विमान ९०० मिटर भिजिबलिटीमा पनि उडान–अवतरण गर्न सकिनेछ । हाल कार्यान्वयनमा रहेको आँखाले नै भिजिबलिटी हेर्ने विधि (भिएफआर) मा भने न्यूनतम भिजिबिलिटी १८ सय मिटर आवश्यक पर्दथ्यो ।
भैरहवा विमानस्थलमा नयाँ प्रविधि लागु भए पनि तत्काल अन्तर्राष्ट्रिय उडान हुने अवस्था भने छैन । भिजिबलिटीकै कारण करिब महिनादिनमै उडान-अवतरण स्थगित गरेका थाई एयर एसिया, कतार एयरवेज र जजिरा एयरवेज लगायत विदेशी वायुसेवाले आफ्नो देशको सरकार (मन्त्रालय)सँग आरएनपी–एआर प्रविधिमा उडान-अवतरण अनुमति लिएर पाइलटलाई समेत अभ्यस्त बनाउनुपर्नेछ । यो प्रविधि विमानस्थलमा कुनै उपकरण जडान गरेर लागु हुने नभई ठूला विमानमा प्रविधि सेट गर्नुपर्ने हुन्छ । त्यही भएर उक्त प्रविधिबाट उडान-अवतरण गर्ने कार्य सम्बन्धित एयरलाइन्समा नै भर पर्नेछ । यो प्रविधि त्रिभुवन विमानस्थलमा पनि लागु छ ।
यसैबीच नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले फेब्रुअरी ३ देखि भैरहवा विमानस्थलमा जजिरा र थाइ एशिया एयरले पुनः उडान-अवतरण सुरु गर्ने जानकारी दिएका छन् । भिजिबलिटी समस्याका कारण उडान स्थगित गरेका अन्य एयरलाइन्सले पनि विस्तारै नया प्रविधिमार्फत् उडान-अवतरण गर्ने उनको विश्वास छ । मंगलवार संसदको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उपस्थित भएका अधिकारीले भैरहवाबाट अहिले पनि नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेको जानकारी दिए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि हिमालय एयरलाइन्सले पोखरा-ल्हासा उडानको पहल गरिरहेको बताए । विमान उडान सञ्चालन देशको जिडिपीसँग जोडिएको हुने भन्दै स्वेच्छिक राखेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अन्य विमानस्थल प्रयोगमा ल्याउन नसकिने हुनाले केही फोर्स विकल्प ल्याउनुपर्ने पनि उनले बताए । नेपालबाट विदेश जानेहरुका लागि ५ सय मिटरभित्रै सबै सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित अघि बढ्नसके भैरुहवा र पोखरा विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउने उनको दाबी छ ।
महानिर्देशक अधिकारीले एकमात्र व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निश्चित क्षमता सरकारले तोकिदिनुपर्ने बताउँदै आएका छन् । यसो गर्दा क्षमताभन्दा बढी भएका विमानको उडान–अवतरण पोखरा र भैरहवाबाट गर्न सकिने र विस्तारै तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल चल्ने उनको तर्क छ । तर सरकारले अहिलेसम्म त्रिभुवन विमानस्थलको क्षमता तोक्न नसक्दा फोर्स रुपमा अन्य विमानस्थल सञ्चालन गर्न समस्या भएको उनी बताउँछन् ।
