News 24 Television
कांग्रेसलाई ‘ललिपप’ देखाउँदै सरकार ढाल्ने चालबाजी

काठमाडौं । २०७९ सालको आम निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचनपछि आफू प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवा निवासदेखि एमाले अध्यक्ष केपी ओली निवास बालकोट धाएका थिए । अन्ततः कांग्रेसलाई लत्याउँदै प्रचण्डले ओलीको साथ लिएर प्रधानमन्त्री बनेका थिए । तर ओलीको साथ लामो समय टिकेन । त्यसपछि निरन्तर सरकारविरुद्ध विषवमन गर्दै आएका प्रचण्डले अहिले फेरि सरकार ढाल्ने खेलमा जोडतोडले लागिरहेका छन् । 

गएको असारमा एकाएक सत्ताच्यूत भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी चलखेल भन्दै अभिब्यक्ति दिँदै हिँडेका थिए । 

बंगलादेश छाडेर भागेकी शेख हसिना बाजेदलाई झैं आफूलाई सरकारबाट गलहत्ताइएको समेत प्रचण्डले भन्न भ्याएका थिए । त्यसपछि भने आफूले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेकै कारण प्रधानमन्त्रीबाट हटाइएको अभिब्यक्ति दिँदै आएका छन् । उनले अहिले पनि सार्वजनिक मञ्चहरुमा दिने अभिब्यक्ति नै त्यही हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणदेखि ललिता निवास हुँदै गिरिबन्धु टि इस्टेट जग्गा प्रकरणमा अनुसन्धान तीब्र पारिएपछि नै सरकारबाट हटाइएको दाबी प्रचण्डले गर्दै आएका छन् । 

स्थानीय तहको उपचुनावमा पनि उनले यसैलाई मुल विषय बनाए । त्यसैले स्थानीय तहको उपचुनावबाट हौसिएका प्रचण्डले अहिले पनि आफूलाई सुशासनका सच्चा पहरेदारका रुपमा प्रचारबाजी गर्ने गरेका छन् । तर सरकारबाट बाहिरिएदेखि नै प्रचण्ड कांग्रेस–एमालेको सत्ता समिकरण भत्काउन भने लागि परेकै छन् । उनले निरन्तर कांग्रेसलाई फकाइरहेका छन् ।

कांग्रेस नेताहरुलाई भेटेर प्रधानमन्त्री बनिदिनुपर्यो भनेर प्रचण्डले बारम्बार भन्ने गरेको कुरा कांग्ेस महामन्त्री गगन थापाले स्थानीय तहको उपचुनावमा कीर्तिपुरको सभामा खुलासा गरेका थिए । 

पछिल्लो समय भने माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकारको भविष्यवाणी गरि नै रहेका छन् । यो सरकार अब लामो समय जाँदैन भन्दै प्रचण्डले आफू पुग्ने हरेक कार्यक्रममा अभिब्यक्ति दिइ रहेका छन् । 

एक साताअघि मात्रै रास्वपादेखि राजावादी शक्तिहरुको समेत विपक्षी मोर्चाबन्दी गरेर प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा नै मागेका छन् । 

संविधान संशोधन ८७ सालमा हुन्छ भनेर प्रधानमन्त्री ओलीले दिएको अभिब्यक्तिलाई लिएर प्रचण्डले गठबन्धन गर्दा भनिएका कामहरु नभएकाले सरकारमा बसिरहने आधार गुमाएको भन्दै ओलीको राजीनामा मागे । 

जसरी पनि वर्तमान गठबन्धन भत्काउन लागि परेका प्रचण्डले दुई दिनअघि मात्रै चितवनको भरतपुरमा कांग्रेस नेता चन्द्र भण्डारी र वीपीपुत्र डा. सशांक कोइरालालाई नै साक्षी किनारा राखेर सरकारको भविष्यवाणी मात्रै गरेनन्, कांग्रेस नै आफूहरुको पार्टनर हुने अभिब्यक्ति नै दिए । 

विहीबार मात्रै उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम पुगेका माओवादी अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा टिभी जर्नलिष्टहरुसँग कुरा गर्दै सरकार सरकार लामो समय नजाने कुरा नै दोहोर्याए । 

सँगसँगै उनले कांग्रेस–एमालेको सरकारलाई अप्राकृतिक भन्न पनि छुटाएनन् । यद्यपि उनले आफूलाई सरकारतिर लालसा नभएको भन्दै चितवनका दिएको अभिब्यक्ति संयोग मात्रै भएको टिप्पणी गरे । 

माओवादीको पछिल्लो केन्द्रीय समितिको बैठकपछि स्थानीय तह केन्द्रित अभियानहरुमा पुग्ने गरेका प्रचण्डले ओली सरकारको आयुको भविष्यवाणी गरिरहेका छन् । उनले कांग्रेस नेताहरुलाई विभिन्न किसिमको प्रलोभन देखाएन फकाउने प्रयास जारी नै राखेका छन् । 

संसदको हिउँदे अधिवेशनमा चर्काउने संकेत 

एक साताअघि मात्रै सरकारको अध्यादेशको विरोध गर्न भन्दै विपक्षी दलहरुको मोर्चाबन्दी गरेका प्रचण्डले आगामी माघ १८ गतेदेखि शुरु हुने हिउँदे अधिवेशन सहज रुपमा अघि बढ्न नदिने संकेत गरेका छन् । 

हिउँदे अधिवेशनमा विपक्षी दलहरुको एउटै श्वर बन्ने योजना बनाइरहेका प्रचण्डले सुर्खेत जानेक्रममा सुर्खेतको छिन्चुमा कार्यकर्ता भेटघाटका क्रममा यस्तो संकेत गरेका छन् । 

सरकारबाट हटेर प्रतिपक्षी दलको कित्तामा पुगेपछि माओवादी अध्यक्ष प्रचण्डको निदहराम हूँदै आएको छ । सत्तामा पुग्नका लागि जस्तो सुकै गठबन्धन र मोर्चाबन्दी गर्न माहिर प्रचण्डले पछिल्लो समय कांग्रेसलाई जतिसुकै फकाए पनि र ओली सरकारको आयुको भविष्यवाणी गरे पनि सहज रुपमा तत्कालै सत्ता समिकरण भत्किने सम्भावना भने देखिदैन ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update