News 24 Television
विकास, स्थायित्व र स्थिरताका लागि सरकारले काम गरिरहेको दाबी

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शिघ्र विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् । शुक्रवार सिद्धबाबा सुरुङमार्ग योजनाको सुरुङ ब्रेक थ्रु समारोहलाई सिंहदरबारबाट भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै उनले उक्त कुरा बताए ।

पछौटेपनलाई चिर्दै जाने र उपलब्धिहरुलाई जोड्दै लगेर समृद्ध देश बनाउने काममा अहिलेको सरकार लागेको प्रधानमन्त्रीकाे दाबी छ । उनले अहिलेको सरकार विकास, स्थायित्व र स्थिरताका लागि बनेको बताए । अघिल्लो कार्यकालमा शुरु भएका कामहरु अहिले पुनः शुरु गरिएको भन्दै उनले सबै एकजुट हुनसके देश बन्न समय नलाग्ने बताए । 

प्रधानमन्त्री ओलीले भने, 'स्थानीय जनता, जसले यस सुरुङ मार्गको निर्माणका लागि सरकारलाई झक्झकाउने काम, हामी सबैलाई झक्झकाउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुुभएको छ, म उहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छुु । यो हामी सबैको सफलता हो । यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ । यस्तै उपलब्धिहरुलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ । यस्तै पछौटेपनहरुलाई चिर्दै जाने घटनाहरुबाट, उपलब्धिहरुबाट जोडिंदै गएर पछौटेपन समाप्त पारिएको देश हुनेछ । हामी आशावादी बन्न सक्नुुपर्दछ । अहिलेको सरकार विकासका लागि बनेको छ । यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तिब्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक शुुरु भएका कामहरु अगाडि बढेका छन् । अहिले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शिघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ । यी कुराहरुमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुर्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ । तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौं हाम्रो देश, अरुले बनाउने होइन, हामीले आफैँ बनाउँछौं, हामी अरुको पनि सहयोग लिन सक्छौं, अरुको लगानी आमन्त्रण गर्न सक्छौं, अरुको अनुकुलता, हाम्रो अनुुुकूलता र आवश्यकता, प्राथमिकतामा अरुका लोनहरु पनि आवश्यकता अनुसार स्वीकार गर्न सक्छौं ।'

जसरी भए पनि देशलाई फाइदा हुने, देशको शीघ्र विकास हुने कुरामा सरकारकाे ध्यान जाने उनकाे दाबी छ । उनले भने, 'हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ ।  यो देशसँग अहिले पनि युुवा जनशक्ति छ, स्रोत साधन छन्, हाम्रा प्रयासहरु र हाम्रा मित्रहरुका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्ने छौं ।'

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update