News 24 Television
रविलाई थुन्नुपर्ने बहस गरेका त्रिपाठीविरुद्ध सर्वोच्चमा मुद्दा, न्यायाधीश र वकिलको जुहारी 

काठमाडौँ । सहकारी प्रकरणमा रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुन्नुपर्ने पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राई र काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीले धरौटीमा छाड्न आदेश दिँदा अधिवक्ता त्रिपाठीले न्यायाधीशकै आलोचना गरेका थिए । जसरी पनि रविलाई थुनामै राख्नुपर्ने भन्दै काठमाडौँदेखि बुटवलसम्म जाहेरवालाको पक्षमा बहस गरेका त्रिपाठी आफै विवाद र आलोचनामा परेका छन् । उनीमाथि काठमाडौँ जिल्ला अदालत परिसरमै भौतिक आक्रमण समेत भएको थियो । एक समूहले रविलाई थुनाएर सहकारीको पैसा फिर्ता हुन्छ ? भन्दै उनीमाथि हातपात गरेका थिए । त्यसपछि विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै उनले रविलाई धरौटीमा छाड्ने न्यायाधीशमाथि प्रश्न उठाएका थिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा कास्की र काठमाडौँका न्यायाधीशले रविलगायत प्रतिवादीहरुलाई धरौटीमा छाड्न आदेश दिएका थिए । त्यसरी आदेश आएपछि अधिवक्ता त्रिपाठीले न्यायाधीशहरुमा कार्यक्षमताको अभाव देखिएको भन्दै आलोचना गरे । न्यायालयको फैसलालाई प्रभावित पार्न खोजेको तथा अदालत र न्यायाधीशको अपमान हुनेगरी अभिव्यक्ति दिएको भन्दै त्रिपाठीविरुद्ध शुक्रबार सर्वोच्चमा अवहेलना मुद्दा दायर गरिएको हो । दिलबहादुर राईले दायर गराएको मुद्दामा त्रिपाठीलाई हदैसम्म कारबाही माग गरिएको छ । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ आइतबारका लागि तोकिएको छ ।

यसअघि बिहीबार न्यायाधीशहरूले संस्थागत विज्ञप्ति जारी गर्दै दिनेश त्रिपाठीले न्यायालयप्रति भ्रम र अनास्था फैलाउने काम गरेको बताएका थिए । न्यायाधीश समाजले जारी गरेको विज्ञप्तीमा त्रिपाठीले न्यायाधीशविरुद्ध दिएका अभिव्यक्ति अवाञ्छित, कानुन व्यवसायीको आचरणविपरीत र न्यायपालिकाप्रति भ्रम तथा अनास्था फैलाउने खालका रहेको भन्दै आपत्ति जनाइएको थियो । वरिष्ठ अधिवक्ताजस्तो जिम्मेवार व्यक्तिले आफूले बहस गरेबमोजिमको परिणाम नआएको भन्ने आधारमा आदेश गर्ने न्यायाधीशमाथि नै बदनियतपूर्वक कार्य गरेको भनी आरोप लगाउनु खेदजनक कार्य रहेको न्यायाधीशहरुको ठहर छ । 

मानौँ, न्यायाधीशको फैसला गलत छ भने त्यसविरुद्ध कानुनी प्रक्रियामा जान सकिन्छ, तर सार्वजनिक रुपमा अदालतको फैसलाप्रति प्रश्न उठाउन वरिष्ठ अधिवक्ताजस्तो मान्छेलाई सुहाउँदैन । न्यायाधीश समाजले काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि भएको आक्रमणको घटनामा पनि खेद व्यक्त गरेको छ । उसो त अधिवक्तामाथि आक्रमण हुनु गलत रहेको भन्दै रविकै पार्टी रास्वपाले पनि विज्ञप्ती जारी गरेर भत्र्सर्ना गरेको थियो । त्रिपाठीले हातपात गर्नेविरुद्ध किटानी जाहेरी दिएपछि केही व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेर अनुसन्धान अगाडि बढाएको छ । 

अधिवक्ता त्रिपाठीमाथि हातपात भएपछि उनको पक्षमा ऐक्यबद्धता जनाउँदै गत आइतबार कानून व्यवसायी (वकिल)हरुले कालोपट्टी बाँधेर विरोधसमेत गरेका थिए । कानून व्यवसायीको सुरक्षाको प्रत्याभुति गर्न दबाबस्वरुप विरोध गरेका नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालत परिसरमै कानून व्यवसायी कुटिनु गम्भीर विषय भएको बताएका थिए । लोकतन्त्रमा पेशा, व्यवसाय गर्ने अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने उनको भनाइ थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कर्तव्यपालनको सिलसिलामा कानून व्यवसायीमाथि आक्रमण हुनु समग्र न्यायिक प्रक्रियामाथिको आक्रमण भएको बताएका थिए । उनले न्यायको पवित्रतामाथिको आक्रमण गर्ने छुट कसैलाई नरहेको बताए पनि आफूले भने न्यायको पवित्रताविरुद्ध नै अभिव्यक्ति दिँदै हिँडेका थिए ।

अधिवक्त त्रिपाठी काँग्रेसद्वारा परिचालित रहेको आरोप समेत लाग्ने गरेको छ । यही माघ २ गते काठमाडौँ जिल्ला अदालतमा रविविरुद्धको थुनछेक बहस भएको थियो । अदालत परिसरमा रास्वपा कार्यकर्ता तथा रविका समर्थकहरुको भीड थियो । साँझपख बहस सकेर बाहिरिने क्रममा अधिवक्ता त्रिपाठीमाथि केही युवाले हातपात गर्दै लछारपछार गरेका थिए । अदालतले रविलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसअघि कास्की जिल्ला अदालतले पनि उनलाई ६५ लाख धरौटीमा हिरासतमुक्त गर्न आदेश दिएको थियो । यसरी अदालतको आदेश स्वीकार्न नसकेका त्रिपाठीको पक्ष र विपक्षमा वकिल र न्यायाधीशहरु पनि जुहारी खेल्दै छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update