काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको मतभेद बाहिरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पार्टी चल्न नसकेको आरोपसहित महामन्त्री धवलशमशेर जवराले फरक प्रस्ताव नै ल्याएपछि राप्रपाभित्र तरङ्ग पैदा भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषित नीति नै हो, राजसंस्था फर्काउने । राजसंस्था फर्काउने नारासहित राजनीतिक गतिविधिमा सक्रिय हुनुपर्ने राप्रपाको सहकार्य र दलीय मिलाप कांग्रेस कम्युनिस्टसँगै हुने गरेको छ । अझं, राजेन्द्र लिङ्देन त एमाले अध्यक्ष केपी ओलीसँगको चुनावी तालमेलसहित निर्वाचित हुँदै आएका छन् ।
एमालेसँगको चुनावी तालमेलदेखि सरकारमा गएको विषयमा समेत आलोचनाको सिकार बन्न लागेका लिङ्देनको नेतृत्वमाथि धवलशमशेरले घेराबन्दी गरिदिएका छन् ।
के भने धवलले ?
प्रतिनिधिसभा सदस्य समेत रहेका धवलशमशेर जबरा लिङ्देनको विकल्प खोज्ने तयारीसहितको प्रस्तावसहित राप्रपा केन्द्रीय समिति बैठकमा उपस्थित भएका छन् । धवलले राजेन्द्र लिङ्देनले पार्टी एकताविरोधी गतिविधि गरेको आरोप खुलेरै लगाएका छन भने महाधिवेशनपछि राजावादी, धर्म निरपेक्षता विरोधी शक्ति, मित्र शक्ति र विचार मिल्नेहरुसँग एकता सहकार्य गर्ने भनेपनि लिङ्देनले त्यसलाई भाँड्न खोजेको भनेका छन् ।
यसको निशाना कमल थापासँग गर्ने भनिएको एकतालाई लिइएको छ । कमल थापाले एकता गर्न तयार रहेको भनिरहेका थिए । तर, लिङ्देनले हेटौडा पुगेर एकता कसैसँग नहुने र राप्रपा आफैमा बलियो बनिसकेको बताएका थिए । यसरी उनले राजावादी शक्तिसँगको सहकार्य रोक्न खोजेको भन्दै धवलले विरोध गरेका छन् ।
धवलशमशेर जबराको प्रश्न
१. गएको निर्वाचनमा पार्टी फुटका बाबजुत प्राप्त चुनावी उपलब्धि सन्तोषजनक भएपनि उभार आउन सकेन ।
२. राजसंस्था र हिन्दु अधिराज्य स्थापनाका लागि लड्नुपर्नेमा दुई चार थान मन्त्री खान लागियो ।
३. प्रचण्ड नेतृत्वको सरकारमा न्यूनतम साझा कार्यक्रममा कार्यदलले लोकतन्त्रको सुदृढीकरण भनेपनि अध्यक्षसहितको टोलीले संघीय लोकतन्त्रको सुदृढीकरण भनेको ।
४. गणतन्त्रलाई समर्थन र जनयुद्ध दिवसलाई मौन समर्थन अकल्पनिय कदम ।
५. उपचुनावको परिणामपछि पनि नेतृत्वले नैतिक जिम्मेवारी लिने र सच्चिने प्रयास गरेन् ।
६. स्थानीय रहको उपचुनावमा प्राप्त परिणाममा समेत जिम्मेवारी नलिने र अघिकै प्रवृत्ति देखा प¥यो, यो राजनीतिक अपरिपक्कताको घोतक हो ।
७. विधि केन्द्रित पार्टी र प्राइमरी चुनावलाई अनदेखा गरियो । व्यवहारतः पार्टीले कदम चाल्ने कुरामा ध्यान दिएन् ।
८. पार्टीमा ९५ प्रतिशत नयाँ भित्रिए भन्दै नेतृत्वले झुटो कुरा फैलायो । गुटगत बैठक डाकिए । एकता विरोधी कदम तीब्र बने ।
९. पार्टीले संस्थागत रुपमा कुरा सुन्ने काम नै गरेन् । राप्रपा शितनिद्रामा त छैन भन्दै समर्थक र आलोचना गर्नेहरुले भन्ने स्थिति बन्यो ।
१०. समानुपातिक सांसद चयनमा मनोमानी गरियो । पार्टी भनेको अध्यक्ष र केन्द्रिय कार्यालयमात्रै होइन् ।
११. केन्द्रीय सदस्यको मनोनयनदेखि हटाउने काममा मनोमानी गरियो ।
१२. विरामी परेको आफूलाई जिम्मेवारीबाट किन हटाएको ? तपाई (लिङ्देन) महामन्त्री हुँदा कोभिड लाग्दा हटाइएको थियो ? विरामी हुनै नपाइने, भए हटाइने विधि बसाल्न खोजेको हो ? यसले वेथिति बसाएको छ ।
१३. विधानको गलत ब्याख्या गर्दै मनोमानी गरियो । विपक्षी दलको मोर्चामा सहभागी हुनु सर्वथा गलत हो ।
१४. पार्टी र संसदीय मोर्चाको निष्क्रियता बढ्यो । धरानमा भएको गौहत्याको विषयमा बोल्न बन्देज किन लगाएको ?
१५. आलोचना सुन्नै नसक्ने, बोल्यो कि पोल्यो हुन थाल्यो । फरक मत राख्नेमाथि कारबाहीको डण्डा कहिलेसम्म ?
१६. २०८२ मंसिरभित्र महाधिवेशन गर्नुपर्नेछ । तर, महाधिवेशन सार्ने प्रस्तावका कारण के हुन् ?
१७. सरकारमा जान्नौं भन्ने तर, सत्ता लिप्सा देखाइहाल्ने स्थिति बन्यो । चिचि पनि पापा पनि प्राप्त हुन्न । यो विषयमा हेक्का राख्नुपर्छ ।
महामन्त्री धवलशमशेर जबराले अध्यक्ष राजेन्द्र लिङ्देनमाथि प्रश्नैप्रश्न गरेका छन् । आफू भारतको दिल्लीमा उपचाररत हुँदा संगठन विभागको जिम्मेवारीबाट हटाएको विषयदेखि सरकारमा गएको विषयलाई उनले कठोर ढंगले पेश गरेका छन् ।
यसले राप्रपामा हंगामा मच्चिएको छ । भने धवलले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घरमा बसेको बैठकलाई पार्टी फुटको संज्ञा किन दिएको भन्दै प्रश्न समेत गरेका छन् । यसरी हेर्दा राप्रपाभित्रको विद्रोह नजिकिदै गएको त होइन भन्ने प्रश्नहरु समेत उब्जिएका छन् ।
के भन्छन नेताहरु ?
केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनको राजनीतिक प्रस्तावको काउन्टरमा धवलशमशेर जबराले छुट्टै प्रस्ताव ल्याएपछि राप्रपामा हंगामा मच्चिएको छ । राप्रपा नेताहरुले यसबारे औपचारिक प्रतिक्रिया दिन आनाकानी गरेपनि उनीहरुले केहि संकेत भने गरेका छन् ।
उसोतः राप्रपाभित्रको उकुसमुकुस विस्फोटको संघारमा पुगेको देखिन्छ । तर, राजेन्द्र लिङ्देन भने सरकारको कामको समीक्षादेखि विभिन्न विषयमा प्रवेश गर्ने जवाफमै केन्द्रित देखिन्छन् ।
राप्रपा र अबको बाटो
राप्रपा महामन्त्री धवलशमशेर जबराले ल्याएको छुट्टै राजनीतिक प्रतिवेदनले लिङ्देनको कार्यशैली र उनको कार्य क्षमतामाथि समेत प्रश्न गरिएको छ । यसले राप्रपाभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखा पर्न थालेको छ ।
कतिपयले भने राष्ट्रिय स्वतन्त्र पार्टीका शक्तिशाली महामन्त्री मुकुल ढकालको जस्तो स्थिति राप्रपामा हुने त होइन भन्ने प्रश्न समेत गर्न थालिएको छ ।
राजसंस्थाको पक्ष विपक्षमा उर्लिएको विवादको कारण पहिल्याउनुको सट्टा राप्रपाभित्र को धेरै राजावादी र राजसंस्था फर्काउदै हिन्दु राष्ट्र कायम कसरी गराउन सकिन्छ भन्ने विषयमै विवाद र तनाव सिर्जना हुने स्थिति देखा परेको छ ।
