News 24 Television
धरान र सिंहदरबारबीच नोकझोक, बीचैमा महेश बस्नेतको इन्ट्री !

काठमाडौं । श्रम संस्कृतिको विकास गर्दै श्रममार्फत नै धारनवासीलाई पानी खुवाउने अठोट गरेका धारन उपमहानगरका मेयर हर्क साम्पाङले केही दिन अघिमात्रै केन्द्र सरकारलाई घचघच्याए । उनले सांकेतिक रुपमा खाली गाग्रो नै सिंहदरबार प्रवेश गराउन खोजेपनि उनी सफल भएका थिएनन् । तरपनि उनले केन्द्र सरकारका खानेपानी मन्त्री र अर्थमन्त्रीलाई भने भेटेर धरानमा खानेपानीको सुनिश्चितता गर्न आग्रह गरेका थिए । 

यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटको चाहना बोकेका हर्कले उक्त अवसर भने पाएनन् । हुनत विगतमा श्रम र दाताहरुकै सहयोगमा हर्कले धरानका लागि आफ्नै बलभुत्ताले पानी पुर्याउन जोडबल गरे । तर यो सम्भव नभएपछि उनले केन्द्र सरकारसँग सहयोगको याचना गरेका हुन् । हर्कको आग्रहप्रति सकारात्मक बनेको केन्द्र सरकारले केही वर्षभित्रै धरानमा खानेपानीको व्यावस्था गरिने आश्वसन दिएको थियो । 

धरानरमा लामो समयदेखि खानेपानीको समस्या छ । यहाँको खानेपानी व्यवस्थापनका लागि केन्द्र सरकारले सप्तकोशीको पानी धरान झार्ने योजना नै बनाएको छ । तरपनि लामो समय वितिसक्दा सरकारले यसको पूर्वाधार तयार गर्न सकिरहेको छैन । 

यही अवस्थामा मेयर हर्कले श्रमदानमार्फत कोकाहा खोलाको पानी धरान ल्याएका थिए । यद्यपि उक्त खोलाको पानी अस्थायी भएकाले हिउँदको समयमा धरानमा खानेपानीको समस्या उस्तै रहने गर्दछ । 

यो समस्या अब केन्द्र सरकारबाटै योजना सम्पन्न नभएसम्म समाधान हुने देखिँदैन । यसप्रति सरकार सकारात्मक पनि छ । तर केन्द्र सरकारले मेयरको हर्कतलाई भने सकारात्मक लिइरहेको छैन । खानेपानी मन्त्री यादवले शुक्रबार पत्रकार सम्मेलनकै क्रममा हर्कबाट मिडियाबाजी र नाटक बढी भएको आशाय व्यक्त गरेका थिए । 

मन्त्री यादवको अभिव्यक्तिपछि मेयर हर्कले पनि सामाजिक संजालमा स्टाटस लेख्दै जवाफ फर्काएका छन् । उनले स्टाटसमा लेखेका छन् ‘होइन पानीको प्रोजेक्ट शुरु गर्ने बेला हो यो, यादव जी ! खोइ कुरा बुझेको ? मलाई जित्ने हो भने कोशीको प्रोजेक्ट शुरु गरिदेऊ ! कामले जित मलाई कुराले होइन ! छ दम ? हावामा नबोल्नु है !’ यो सँगै केन्द्र सरकार र धरानका मेयर हर्कबीच गहिरै रुपमा नोकझोक भइरहेको बुझ्न सकिन्छ ।  

हर्कलाई अख्तियारको पत्र र प्रष्टिकरण 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयमा श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरू र सुम्निमा पारुहाङको मूर्ति निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै हर्कविरुद्ध उजुरी परेपछि उक्त विषयमा उनलाई स्पष्टिकरण सोधिएको थियो । 

माघ २ गते सोधपुछको पत्र पठाइएकोमा  हर्कले शुक्रबार अख्तियारलाई जवाफ फर्काएका थिए । पत्रमार्फत अनौपचारिक शब्द प्रयोग गर्दै हाँसो ठट्टाको जवाफ दिएको भन्दै हर्क आलोचित भइरहेका छन् । 

हर्कले स्पष्टिकरणको थालनी अनौपचारिक र ठट्यौली पारामै गरेपनि अन्तिममा भने गाग्री लिएर सिंहदरबार पुग्नुको कारण जनतालाई पानी पिलाउनुनै भएको दावी गरेका छन् । 

उनले लेखेका छन् – धराने जनतालाई आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ । त्यसैले हामीले श्रमदान गर्नु परेको हो ! खोइ कुरा बुझ्या ? अब केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभए पछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरुको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रम आयोेजना चलिरहेको छ । 

एक दिन आउनु है मुहानबाट धरानसम्म हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न । कम्ता रमाइलो छैन । त्यो वाइयत उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गयो ? कोहो त्यो ? बुझेर लेखिपठाउनु होला । धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नबजाको देख्दा ! 

यसका अलावा राज्यको ठूलो रकम खर्चिएर निर्माण गरिएका दमक भ्यू टावर, मेलम्ची आयोजना तथा वाइडबढीजस्ता प्रकरणविरुद्ध नलागेर श्रमदानको खेदो नखन्न पनि हर्कले प्रष्टिकरणमार्फत चेतावनी दिएका छन् । 

यो चेतावनीपछि नेकपा एमाले नेता महेश बस्नेत हर्कविरुद्ध खनिएका छन् । बस्नेतले सामाजिक संजालमा स्टाटस लेखेर अख्तियारबाट बयानमा बोलावट भएपछि हर्क विक्षिप्त भएको र उट्पट्याङ जवाफ दिइरहेको टिप्पणी गरेका छन् । 

उनले श्रमदानका नाममा भ्रष्टाचार गरेर भावनात्मक र उत्तेजनात्मक जवाफ दिँदै हर्क पानीमाथिको ओभानो बन्न खोजेको समेत टिप्पणी गरेका छन् । मुख्यतः हर्क र केन्द्र सरकारबीच दोहारी चलिरहँदा एमाले नेता बस्नेतको पनि इन्ट्री भएको हो ।

यो क्रममा हर्क आफ्नो काम र श्रमदानको बचाउनमा लागेका छन् । तर सरकार र सत्ता पक्षका नेताहरु भने हर्कलाई दवाउने रणनीतिमा लागेको देखिन्छ । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update