काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निर्वाचनमार्फत आफ्नो नेतृत्व चयन गर्दैछ । नेतृत्व चयनको क्रममा गुटमा विभाजित बनेको अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा प्रचण्डदेखि जनार्दन शर्मासम्मको प्यानल प्रतिस्पर्धामा उत्रिएपछि माओवादीका गुट सतहमै छताछुल्ल बनेका छन् ।
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ३२ वर्षको उमेरहद लगाएर नेतृत्व चयनमा उत्रिदै गर्दा गुटहरु छताछुल्ल हुन पुगेका छन् ।
सर्वसम्मतिको प्रयासबाट नेतृत्व चयन गर्ने प्रचण्डको चाहनामा निर्वाचनले ब्रेक लगाइदिएपछि विद्यार्थीका कसका कस्ता गुट बने त ? पहिले त्यो हेरौं ।
१. जनार्दन शर्मा गुट
हेमन्त राई : अध्यक्षमा हेमन्त राईलाई अघि सार्दै जनार्दनले विद्यार्थीमा आफ्नो पकड जमाउने कोसिस गरिरहेका छन् । जनार्दन पक्षधर विद्यार्थी नेताहरुले प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् भने यो समूहमा विद्यार्थी नेता मदन भट्टराई लगायतका नेताहरुले भूमिका निर्वाह गरिरहेको बताइन्छ ।
जनार्दन समूहमा सुदन किराति लगायतका नेताहरुले समेत खुलेरै राईलाई अध्यक्ष निर्वाचित गराउन भूमिका खेलिरहेका छन् ।
२. वर्षमान पुन गुट
सुदिन पौडेल : वर्षमान पुन निकटको विद्यार्थी अध्यक्षमा सुदिन पौडेलले प्रतिस्पर्धा गर्दैछन् । पौडेललाई पुनले मैदानमा उतारेका हुन् भने उनले पनि प्यानल नै बनाएर अघि बढेका छन् ।
यो समूहमा विद्यार्थीका पूर्वअध्यक्ष रञ्जित तामाङदेखि दिपेश पुन लगायतका नेताहरु सक्रिय बनेको बताइन्छ ।
३. नारायणकाजी श्रेष्ठ गुट
उपदेश यादव : मधेसको अनुहारसहित नारायणकाजी श्रेष्ठ पनि विद्यार्थीको नेतृत्वका लागि गुटसहित अघि बढेका छन् । यादव नै मधेस समूदायबाट पहिलो अध्यक्षको दाबेदार भएको दाबी गर्दै यो समूह चुनावी मैदानमा होमिएको हो ।
यसमा अखिल क्रान्तिकारीमा विद्रोही नेता भनेर चिनिएका पवन कार्कीसहितका नेताहरुले सक्रिय भूमिका निर्वाह गरिरहेको बताइन्छ ।
४. प्रचण्ड गुट
विजयप्रकाश सापकोटा : विद्यार्थीको नेतृत्वका लागि प्रचण्डको समूहले शक्ति बस्नेतलाई अघि सार्दै सापकोटालाई निर्वाचित गराउने गरि काम गरिरहेको छ । यसमा पनि विद्यार्थी निवर्तमान अध्यक्ष पञ्चा सिंहसहित मोहन वैद्यबाट माओवादी केन्द्रका आएपछि विद्यार्थी उपाध्यक्ष बनेका मिलन एमसी र तुकमान महरा लगायतको टोली सक्रिय रहेको बताइन्छ । यसमा उम्मेदवारी फिर्ता लिने योगेन्द्र बुढा पनि सहभागी बनेका छन् । उनी कृष्णबहादुर महरा निकटका हुन् ।
अखिल क्रान्तिकारीको नेतृत्वका लागि माओवादी केन्द्रमा देखिएको गुटगत प्रणालीले माओवादी केन्द्रमा अब सर्वसम्मतिको प्रयास सफल हुनेमा शंका उब्जिन थालेको छ । यद्यपी, विद्यार्थीलाई खुलमटार बोलाएर प्रचण्डले सर्वसम्मतिको प्रयास गराउन थालेपनि सफल नभएपछि भएको निर्वाचनमा प्रचण्ड आफैले पनि गुट बनाएपछि माओवादी केन्द्रभित्रको गुटबन्दी थप चर्किएको देखिन्छ ।
जनार्दनको चुनौति अब पार्टी नेतृत्वतर्फ
जनार्दन शर्माले पार्टीको नेतृत्व पनि निर्वाचनमार्फत हुनुपर्ने माग गरिरहेका छन् । सर्वसम्मतिको नेतृत्व भन्दै अध्यक्ष बनिरहेका प्रचण्डलाई अब विद्यार्थीमा देखिएको गुटले समेत प्रभाव पार्ने विश्लेषण भइरहेको छ ।
यस्तोमा प्रचण्डले समेत अब पार्टीमा निर्वाचनको सामना गर्नुपर्ने स्थिति आउने देखिन्छ । अझ, वर्षमान–जनार्दन पक्षले विद्यार्थीको नेतृत्वमा बाजी मारेमा यसले थप खतरा पैदा गर्नेछ । जुन विषय प्रचण्डका लागि समेत घातक हुनसक्ने विश्लेषण भइरहेको छ ।
