काठमाडौं । वामपन्थी विचारधाराको रटान लगाउँदै नेपालमा ठुला–ठुला राजनीतिक दलहरुको उदय भयो ।
जसरी यो विचारधाराको वर्चश्व नेपालमा उदय भयो विस्तारै त्यो स्खलित हुँदै गयो । अहिले वामपन्थी विचारधाराको जगमा रहेर राजनीति गर्छौं भन्नेहरु छिन्नभिन्न छन् ।
तरपनि, आफ्नो समीक्षा होइन भनाभनमा उत्रिने प्रवृति हावी छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा यस्तै भयो । उनीहरु वाम अवस्थाको गहन छलफल होइन, आरोप प्रत्यारोपमा उत्रिए ।
कम्युनिस्ट विचारधारा अझ भनौं वामविचारधारालाई अवलम्बन गर्छौं भन्ने नेताहरुबीच अहिले एकता भन्दा पनि विग्रहको ह्विम चलिनै रहेको छ । पार्टी भित्रै पनि गुट–उपगुट अनि फुटसम्मका गतिविधि जारी रहेको यो अवस्थामा उनीहरुको खास मकसत के हो त ? नेपालमा कम्युनिस्टहरुको वर्तमान अवस्था कस्तो छ ? अबको आवश्यकता के हो ? यस पक्षलाई केलाएर हेर्दा नेताहरुका मत सुन्दा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना रहेको बताउछन् ।
अहिले कम्युनिष्ट पार्टीप्रति मात्रै नभइ सिंगो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था बनेको टिप्पणी गर्दै उनीे कम्युनिस्ट पार्टी एकतावद्ध भएर अगाडि बढेको भए र कम्युनिस्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको भए देशमा अचम्मको परिवर्तन गर्नसक्ने अवस्था रहेको भनिरहेका छन् ।
यता, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पनि वृहत वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताउछन् । सबैलाई महशुस भएको खण्डमा अहिलेको आवश्यकता वृहत वामपन्थी एकताको भएको र महशुस नभएको खण्डमा ०८४ सालको निर्वाचनपछि थाहा हुने उनको भनाई छ ।
नेपालका सबै कम्युनिष्टहरुले एकीकृत पार्टी निर्माण गरेर जानुपर्ने बताउदै उनी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको मत राख्छन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भएपनि अहिले समाजवादी मोर्चाको परिपक्व अवस्था नभएको टिप्पणी समेत गरिरहेका छन् ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फेरि नयाँ जनवादी क्रान्ति गर्नुपर्ने कुरा दुःखदायी भएको बताउछन् । क्रान्ति शुद्धतामा अगाडि नबढ्ने भन्दै नेपालमा सामन्तवाद विरोधी क्रान्ति आधारभुत रुपमा सम्पन्न भयो की भएन भनेर हेर्न जरुरी रहेको उनको मत छ । उनको भनाईलाई मान्ने हो भने अहिले समाजवादउन्मुख समृद्धी मुल कार्यक्रम र रणनीति बनाउनुपर्ने छ ।
अन्य कम्युनिस्ट नेताहरु नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली पार्टीभित्र अन्तरबिरोध हुँदैमा नयाँ पार्टी गठन गर्नेकुरा राम्रो नभएको र यो कम्युनिस्ट पार्टीभित्रको रोग भएको बताउछन् ।
सबै कम्युनिष्ट पार्टीहरुले समाजवादलाई एजेण्डा बनाएर अघि बढेको भएपनि एक ठाउँमा उभिन नसकेकाले मतभेद हुँदैमा पार्टी फुटाउने कुराको गहन विश्लेषण जरुरी रहेको उनको भनाइ छ । अन्य कम्युनिस्ट नेताहरुको पछिल्लो राजनीतिक समीक्षा पनि यस्तो छ ।
कम्युनिस्ट आन्दोलनको अनुशरण गछौं भन्ने नेताहरुका यि समीक्षाबाट नै नेपालमा कम्युनिस्ट धार कमजोर बन्दै गएको प्रष्ट पार्छ । एकता र समानताको एजेण्डालाई प्रमुख राजनीतिक मुद्दा बनाउने कम्युनिस्टबीचको यस किसिमको विग्रहको अवस्थाले वामपन्थी शक्ति भनेर संयुक्त रुपमा बोल्नसम्म नसुहाउदो अवस्था सृजना गरिरहेको देखिन्छ ।
