News 24 Television
विद्युतीय व्यापारसम्बन्धी विधेयक उद्योग समितिबाट पारित

काठमाडाैँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई सर्वसहमतिले पारित गरेको छ ।

आईतवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले उक्त विधेयकलाई सर्वसहमतिले पारित गरेको हो । समितिले लामो समय विधेयकका विषयमा छलफल गरी समितिले बनाएको अन्तिम ड्राफ्टको विषयमा उद्योग,कानून र सञ्चार मन्त्रालयसँगको छलफलपछि विधेयक समितिबाट पारित भएको हो ।

विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभा हुँदै छलफलका लागि समितिमा आएको थियो । समिति बठैकमा बोल्दै समिति सभापति अब्दुल खानले सबैको सर्वसहमतिले विधेयक पास भएको घोषणा गरे । उनले समितिबाट पारित भएको विधेयक संसदमा पेश गरिने बताए । उनले समितिबाट विधेयक पास भए पनि संसदमा पेश गर्ने जिम्मेवारी बाँकी रहेको बताए ।

समिति बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० महत्वपूर्ण रहेको भन्दै नयाँ विधेयक बन्नु खुशीको विषय भएको बताए । उनले नयाँ ऐन समिति र संसदबाट पारित गराउनु भनेको समिति र सरकारको पुँजी भएको बताए । विगतमा धेरै ऐन बनाउँदा समय सापेक्ष भए/नभएको समिक्षाका आधारमा नयाँ कानून बनाउन आवश्यक रहेको भन्दै उनले ऐन-कानूनहरु बनाउँदा सरलिकृत बनाउने प्रयासस्वरुप धेरै ऐनहरु संशोधन गरिरहेको बताए ।

विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० विधेयकले मध्यस्तकर्ता,उत्पादक र विक्रेतालाई व्यवसायीको रुपमा लिएको छ । विधेयकले अरुको उत्पादनलाई अनलाइन माध्ययमबाट व्यापार गर्ने व्यवस्था गरेको छ । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update