News 24 Television
काँग्रेसको संसदीय दलमा अध्यादेशबारे ब्रिफिङ, अरू के के भयाे छलफल ?

काठमाडाैँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक सोमबारसम्म चल्ने भएको छ । आईतवार संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा संसद्को हिउँदे अधिवेशन, सरकारले गरिरहेका काम कारबाहीहरु र अध्यादेश,उच्च स्तरीय संयन्त्रको आवश्यकताका विषयमा सांसदहरुलाई जानकारी दिएको काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

सदनमा दरिलो उपस्थितिको रणनीतिका विषयमा पनि छलफल भएको उनकाे भनाइ छ । उनले आउँदो अधिवेशनमा प्रश्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रश्तुत भइसकेका तर विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि सांसदहरुको समेत धारणा सुन्दै मन्त्री तथा पार्टीका नेताहरुको जवाफ दिएर टुंगोमा पुगिने बताए ।

घिमिरेले बैठकमा गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाही र अध्यादेशका विषयमा सांसदहरुलाई प्रष्ट पारिएको पनि जानकारी दिए । उनले उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा महामन्त्री गगन थापाले प्रश्तुत गरेको पनि बताए ।

बैठकमा तीन जना विज्ञहरुले सांसदहरुलाई सरकारले ल्याएको अध्यादेश र अध्यादेशमा आएका ऐनहरुको अन्तरबस्तुको विषयमा प्रकाश पार्ने काम समेत भएको बताए । पार्टीभित्र धेरै विषयका वादविवाद भए पनि पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्न काँग्रेसका नेताहरुकाे कर्तव्य भएको बारे पनि छलफल भएकाे थियाे ।

घिमिरेले भने, ‘आज विशेषगरी बैठकको उद्देश्यका विषयमा प्रकाश पारियो । गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरु र अध्यादेशका विषयमा सांसदहरुलाई प्रष्ट पार्नुभयो । उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा गगन थापाले प्रश्तुत गर्नुभयो । तीन जना विज्ञहरुले अध्यादेशमा आएका ऐनहरुको अन्तरवस्तुको विषयमा प्रकाश गर्नुभयो । अध्यादेशको आवश्यकता र अध्यादेशका कन्टेनहरु केके र समस्याका विषयमा खुलेर छलफल भएको छ । भोलीको बैठकमा सांसदहरुले बोल्ने क्रम शुरु हुन्छ । त्यसपछि मन्त्री र नेताहरुले जवाफ दिनेछन् । पार्टीभित्र धेरै विषयका वादविवाद हुन सक्छन् । बहस र छलफलहरु हुन सक्छन् । त्यस्ता विषयमा आन्तरिक बैठकहरुमा व्यापक गहन छलफल काँग्रेसले गर्छ । गर्न पाइन्छ । नेतृत्वको आलोचना पनि गर्न पाइन्छ तर पार्टीले एउटा निर्णय र निष्कर्ष निकाल्छ । काँग्रेसले ९५ प्रतिशत निर्णयहरु सहमतिमा हुन्छ । त्यो निर्णयलाई कार्यान्वयन गर्न काँग्रेसका नेताहरुले बोकेर हिँड्नुपर्ने कतव्र्य सबैको हुन्छ । आन्तरिक रुपमा व्यापक रुपमा छलफल गरौं तर बाहिर गएपछि पार्टीको निर्णयलाई बोकेर हिँड्न पार्टी कार्यकर्ताको धर्म हो । त्यहीअनुसार अगाडि जानुपर्छ भन्ने मान्यता हो । बैठक भोलि सकिन्छ । सत्ता पक्ष र प्रतिपक्षको सहमतिकै आधार विधेयकहरु बन्छ । संसदीय लोकतन्त्र भनेको बहुमतिय प्रणाली हो । बहुमतले शासन गर्छ ।’ 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update