बुटवल । रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा तानिएका लामिछानेसँग न्यायाधीश प्रह्लादकुमार योगीको इजलास उक्त धरौटी माग गरेको हो ।
जिल्ला अदालतमा आइतबार सकिएको थुनछेक आदेशपछि लामिछानेलाई १ करोड धरौटी वा बैंक जमानत लिएर छाड्न आदेश दिइएको हो । थुनछेक बहसका क्रममा सरकारी वकिल र जाहेरवालाको पक्षका वकिलहरूले लामिछानेलाई थुनामा पठाउन माग गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले अनुसन्धान कार्यविधि समेत मिचेर प्रधानमन्त्री लगायतको ठाडो आदेशमा उनलाई थुन्न खोजेको र प्रतिशोध साँधेको भन्दै थुनामुक्त गर्नुपर्ने पक्षमा बहस गरे ।
लामिछानेसँग यसअघि नै कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ र काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी माग गरिसकेका छन् । पोखराको सूर्यदर्शन सहकारी र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा पनि रविसहितका प्रतिवादीहरुलाई धरौटी लिएर छाडिएको हो ।
