News 24 Television
वामदेवले पाएनन् हिड्ने बाटो ! ओलीले यसरी ‘थचारे’ 

काठमाडौं । एमालेमा जान खुट्टा उचालेका वामदेव गौतम फेरि थचारिएका छन् । जता ठूलो भाग उतै जाने मनसाय पालेर बसेका वामदेवलाई एमालेले जिल्याएपछि उनी के गर्लान् ? यो चासोको विषय बनेको छ । तर, अब वामदेवको आगमन सम्भावनालाई एमालेले भदौसम्मका लागि च्याप्टर क्लोज गरिदिएपछि उनी रनभुल्लमा मात्रै परेका छैनन्, अस्थिर वामदेवको पर्यायलाई पुष्टी गर्ने पात्र नै बनेका छन् । 

नेकपा एमालेले स्वागत गर्ने भयो, अब तलमाथि कतै नगरेर एमालेमै जाने भइयो, एमालेमा जाने सपना साकार हुने देखिएपछि वामदेव गौतमले दिने गरेका अभिव्यक्ति थिए यि । केपी ओलीसँग बालुवटारामा छलफल गरेपछि हौसिएका वामदेवलाई एमालेले भित्र्याउने निर्णय गर्ला भन्ने अपेक्षा गरिएपनि त्यसो भएन् । एमालेले वामदेव गौतमसँग केवल सहकार्य गर्ने निर्णय ग¥यो । 

एमालेले वामदेवसँग एकता, पार्टी प्रवेश वा समायोजन गर्ने नभई सहकार्य गर्ने भन्नु केवल मोर्वाबन्दीजस्तो मात्रै हो । एमालेको यही निर्णयका कारण तत्काल एमालेमा जाने वामदेवको रहर स्वर्णिम सपनामै सीमित हुन पुग्यो । कहिले कसैलाई त कहिले कसैलाई जिल्याउने गर्दै आएका वामदेव नेकपा एकता अभियानको संयोजक बनेदेखि नै आफै जिल्लिदै आएका छन् । जता पाइला राख्न खोज्छन, उतै उनले असफलता प्राप्त गर्ने गरेका छन् । ती मध्येका केहि चर्चित असफलता कस्ता छन् त ?

१. एमाले विभाजन प्रकरण

२. निर्वाचनमा लज्जास्पद हारपछि फेरि एमालेमै फिर्ति प्रकरण

३. राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनयन भइ प्रधानमन्त्री बन्ने चाहनामा बे्रेक
    
४. प्रधानमन्त्री बन्ने तीब्र चाहना हुँदा केपी ओली र प्रचण्ड छान्न गरेको संघर्ष प्रकरण

५. नेकपा एकता अभियान प्रकरण

६. एमाले फिर्तिको असफल प्रयास प्रकरण

७. नेकपा एसमा जाने निर्णय एमालेको लोभमा लत्याएको प्रकरण

८. एमाले जाने सपनामा सहकार्यले तनाव सिर्जना गरिदिएको प्रकरण

वामदेवका यस्ता थुप्रै प्रकरण छन्, जुन विषयका कारण उनी विवाद र चर्चामा   आइरहन्छन् । गृहमन्त्री हुँदा प्रहरीमा तीब्र राजनीतिक खेल खेलेका वामदेवदेखि प्रधानमन्त्री बन्ने सपनाका कारण तत्कालीन नेकपामा ढलमल गर्दै नेता छान्ने प्रवृति समेत रोचक मानिन्छन् । 

यतिमात्रै नभई नेकपा एकीकृत समाजवादीमा जाने निर्णय नै गर्ने भनेका उनले फेरि एमाले अध्यक्ष केपी ओलीको प्रलोभनमा पर्दा अहिले उनी घर न घाटको बन्ने खतरा  देखिन्छ ।

एमालेमा जाने बाटो कसरी रोकियो  ?

एमाले अध्यक्ष केपी ओली वामदेव गौतमलाई पार्टीमा भित्र्याउन सहमत नै थिए । तर, सचिवालय बैठकमा वामदेवलाई एमालेमा ल्याउने विषय पेचिलो बन्न पुग्यो । वामदेवलाई ल्याउदा दिनुपर्ने पददेखि अप्ठ्यारोमा असहयोग गरेको आरोपमा नेताहरुले असन्तुष्टी नै जनाएपछि वामदेवलाई तत्काल एमालेमा ल्याउने निर्णय हुन सकेन् । 

त्यसपछि एमाले वामदेवसँग केवल सहकार्य गर्ने निर्णय लिन पुग्यो । यता, वामदेव भने एमालेले बोलाउने र धुमधामका साथ एमालेमा फर्किने तयारी गरिसकेका थिए ।

पद र कुनै विशेष परिस्थितिको माग नै नगरेका वामदेवलाई उचित जिम्मेवारी नदिई सुख हुने विषय नै थिएन् । यस्तो स्थितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहमति जनाउने स्थिति बन्न पुगेन भने वामदेवको चरित्रबारे समेत बहस चलेको बताइन्छ । 

वामदेवलाई एमालेमा ल्याउने विषय कम्तिमा पनि भदौसम्म असम्भव रहेको बताउन थालिएको छ । एमालेले आगामी भदौमा विधान अधिवेशन गर्न लागेको र त्यहि बेला विधान संशोधन भएमात्रै पदीय जिम्मेवारी दिन सकिने गरि सहकार्य गर्ने भनेपछि वामदेव बिचल्लीमा परेका छन् । उनीसँग रहेका केहि नेताहरुले माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरिरहेका छन् । 

एक्लो बन्दै गएका वामदेव अब भदौसम्म एमाले कुर्लान त ? यो प्रश्न रोचक छ । किनपनि वामदेवको भर गर्ने स्थिति छैन भने केहिदिन पहिले मात्रै नेकपा एसमा जाने पक्कापक्की निर्णय गरेका उनले क्षणभरमै एमाले जाने निर्णय गरेका थिए ।

यसै प्रवृतिका कारण पनि वामदेवको टुंगो उनले औपचारिक ढंगले कदम नचालेसम्म विश्वास नै गर्न नसकिने स्थिति सिर्जना भएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update