News 24 Television
विधेयकलाई पूर्णता दिन भन्सारको अवलोकनमा सांसदहरु   

रुपन्देही । भन्सार विधेयक प्रतिनिधि सभाको अर्थ समितिमा विचाराधिन छ । यो विधेयकलाई अन्तिम रुप दिन समितिले पहल थालेको छ । जसका लागि समितिले विभिन्न ठाउँको भन्सार नाकाको अध्ययन जारी राखेको छ । 

यसै क्रममा समिति सभापतिसहितका सदस्यहरुले लुम्बिनी प्रदेशका भन्सार नाका र सीमा क्षेत्रको अवलोकन, अध्ययन र निरीक्षण गरेका छन् । उनीहरुले बाँकेको जमुनाहा नाकादेखि पश्चिम नवलपरासीको सुठौली भन्सार नाकासम्म निरीक्षण गरेका हुन् । 

संघीय संसदको अर्थ समितिले खुल्ला सीमानाको फाइदा उठाउँदै ब्यापक चोरी तस्करी भइरहेको जनाएको छ । लुम्बिनी प्रदेशका नाकाहरु निरीक्षणपछि आइतबार रुपन्देहीको भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका सभापति सन्तोष चालिसेले मुख्य भन्सार नाका र भित्री बाटाहरुबाट तस्करी भइरहेको पाइएको जनाए ।

उनले उद्योगी–व्यवसायी, भन्सार अधिकृतहरु, स्थानीय, संचारकर्मी सबैको सुझाव लिएर भन्सार विधेयकलाई अन्तिम रुपमा दिन नाका निरीक्षण गरिरहेको जनाए । निरीक्षणका क्रममा आएका सुझावहरु समेटेर विधेयकलाई मुर्तरुप दिने समितिको तयारी छ ।  

भन्सारलाई चुस्त, पारदर्शी, नाकाबाट हुँदै आएको चुहावट नियन्त्रणका उपाय लगायतलाई समितिले समेटर विधेयक बनाउने समिति सदस्यहरुले बताए । आमनागरिक सचेत नबन्दा विना विलविजकका सामानहरु खरिदविक्री बढीरहेको उनीहरुको भनाइ छ । 

मुलुकका सबै नाकाहरुको निरीक्षण, भन्सार प्रमुखहरुसँग छलफल, स्थानीय र उद्योगी व्यवसायीको राय सुझाव लिएर मात्रै विधेयकलाई अन्तिम रुप दिने समितिले जनाएको छ । मुलुकका सीमा क्षेत्रका अधिकांश नागरिक भारतीय बजारमा खरिदका लागि जाने तर विना भन्सार सामान मुलुक भित्र्याउँदा राजस्व चुहावट धेरै भइरहेको समिति सदस्यहरुले बताए । 

सीमा क्षेत्रको नेपाली अर्थतन्त्रको धेरै हिस्सा भारतीय बजारतर्फ गइरहेकाले यसलाई रोक्ने गरी विधेयकलाई टुंगो लगाउने अध्ययन टोलीको भनाई छ । 

समितिका सभापति चालिसेसहित आठजना सांसदको टोली मुलुकका प्रमुख भन्सार नाकाहरुको यथार्थ बस्तुस्थिति बुझ्नकालागि स्थलगत अध्ययन भ्रमणमा छ । 

टोलीले कतिपय ठाउँमा मिलेमतो, कतिपय ठाउँमा भन्सार, सुरक्षाकर्मी र राजस्वले चाहेर पनि चोरीतस्करी रोक्न नसकेको जनाएको छ । राजस्व चुहावटले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेकाले यसलाई रोक्न पहल गर्ने गरी कानून बनाउने उनीहरुको प्रतिवद्धता छ । समितिले अब मधेश प्रदेशका नाकाहरुको अवलोकन गरी त्यहाँ छलफल समेत गर्ने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update