News 24 Television
ओलीलाई गगनको खुला चुनौतिः प्रधानमन्त्रीमा तपाईंभन्दा म क्षमतावान

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमाथिका चुनौति थपिनेक्रम जारी छ । नेताहरुले सरकारको कामप्रति प्रश्न गर्दै गर्दा ओलीको नेतृत्व बाध्यतामा मात्रै टिकेको जस्तो देखिन थालेको छ । कांग्रेस महामन्त्री गगन थापाले पनि ओलीलाई कार्यसम्पादन क्षमताको विषयमा खुला चुनौति दिएका छन् । 

एमाले कांग्रेसको गठबन्धन भत्किदैन्, यो सत्तारुढ दलहरुको मुखमा झुण्डिएको पहिलो शब्द बनेको छ । उनीहरुले प्रायः भाषणमा दोहो¥याउने गर्छन्, सत्ता समिकरण ०८४ को निर्वाचनसम्मै जान्छ । अझं, कतिपय मन्त्री र नेताहरु त दिनप्रतिदिन नै सरकार नढल्नेबाहेकका विषयमा खास प्रवेश नै गर्दैनन् । यस्तोमा कांग्रेस महामन्त्री गगन थापाले ओलीको कार्यक्षमतामाथिको प्रश्नलाई थप पेचिलो बनाइदिएका छन् । गगनले ओलीको भन्दा राम्रो काम गर्न सक्ने भन्दै सरकारको कार्यक्षमतामाथिको प्रश्न उठाएका हुन् । 

प्रधानमन्त्रीको रुपमा गगनले ओलीभन्दा राम्रो काम गरेर देखाउन सक्ने भन्दै दिएको चुनौति सामान्य विषय नै होइन् । गगनले यतिमात्रै नभई संविधान संशोधनको विषयमा समेत गम्भीर विमर्श गरेका छन् । संविधानको प्रारम्भीक विषयमा छेडखानी गरेर १० वर्ष खेर फाल्न नहुनेमा उनको जोड दिएका छ । 

यसरी गगनले सरकारको विषयमा राखेको विषयमा कांग्रेसले खुला विमर्श गर्ने स्थिति भने देखिन्न । संसदको अंकगणित होस वा कांग्रेसको आन्तरिक जोडघटाउ नै किन नहोस, गगनले प्रधानमन्त्री बन्ने अवसर तत्काल पाउने स्थिति छैन् । यहि देखेकै कारण उनले पहिले नै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समय तोकिसकेका छन् । 

कांग्रेसभित्र सरकारलाई लिएर खास उत्साह देखिन्न । कुनै न कुनै हिसाबले असन्तुष्टी आउनेक्रम चलिरहेको छ । तर कांग्रेसले संसदीय दलको बैठकबाटै सरकारको पक्षमा खुलेर बोल्ने, अध्यादेशको वचाउ गर्नेदेखि विभिन्न निर्णय गरेको बताएको छ । 

सरकार र ओलीको नेतृत्व क्षमतामाथिका प्रश्न उठेपनि विकल्प भने दिन सक्ने स्थिति देखिन्न । यता, कांग्रेसले शनिवार पनि विवादको घेरामा परिसकेको अध्यादेशको विषयमा एकढिक्का भएर बोल्न निर्देशन दिएको बताइएको छ । 

कांग्रेसले सत्ता गठबन्धन जोगाउने र आलोपालो प्रधानमन्त्री लिनेबाहेक खास उद्देश्य नराखेको स्थितिमा एमाले भने ओलीको उपादेयता पुष्टी गर्न हरदम लागिरहेको छ । 

एमाले महासचिव शंकर पोखरेलले ओली नेतृत्वको सरकार ढाल्ने प्रयासहरु चलिरहेको भन्दै भारतीय नाकाबन्दीको विरोध गरेकैले ओलीमाथिका राजनीतिक प्रहार तीब्र पारेको दाबी गरेका छन् । नाकाबन्दीको विरोधसँगै ओलीसँग तुलना हुनसक्ने नेपालको राजनीतिमा कुनै नेता नै नभएको पोखरेलको दाबी छ ।

एमालेले गरिरहेको यस्तो दाबीलाई गगनले भोलिपल्टै खुइल्याइदिएका छन् । पोखरेलले शनिवारमात्रै ओलीसँग तुलना हुनसक्ने नेता नै नभएको दाबी गरेको भोलिपल्ट गगनले ओलीभन्दा राम्रो काम गर्न सक्ने खुबि आफुसँग रहेको खुलेआम चुनौति दिएका हुन् । उसोतः कांग्रेसको एक पक्षले ओलीको नेतृत्व क्षमतामाथि प्रश्न गर्दै गर्दा एमाले पंक्तिले ओलीको क्षमताको प्रसंसा गरिरहेको छ । तर, यो सरकारले पनि जनतालाई सेवा प्रवाहमा खास काम गर्न सक्ला भन्ने प्रश्न जताकतै देखिन्छ । यद्यपी सत्ता गठबन्धनको विषयमा चल्ने यस्ता विषय राजनीतिक रुपले नै निराकरणको बाटोमा जाने हुनाले पनि नेताहरुले दिने अभिव्यक्तिले कस्तो जनमत सिर्जना गर्छ भन्नेबाहेक खास प्रभावकारिता तत्काल देखिने स्थिति छैन् । 

ओलीको नेतृत्वमा देखिएको उकुसमुकुसलाई कांग्रेस पंक्तिले गर्न थालेको विरोधको अर्थ भने गहिरिन सक्छ भन्ने आंकलन गर्न थालिएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update