काठमाडौं । संघीय संसददका दुबै सदनको आह्वानपछि दलहरुले सक्रियता बढाएका छन् । संसदको समयअघि सभामुख देवराज घिमिरेले धारणा माग्नेदेखि संसदलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा केन्द्रित भइरहेको बेला राष्ट्रियसभाको नेतृत्व भने मौन देखिन्छ । यद्यपी, संसद आह्वानपछि दलहरु थप सलबलाएका छन् ।
संसदको वर्षे अधिवेशन अन्त्य पछि केही निष्क्रिय जस्ता देखिएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पछिल्लो एक हप्ता यता सक्रिय देखिएका छन् । संघीय संसदका दुबै सदनको बैठक आउदो १८ गते बस्ने मिति तय भएदेखि प्रतिनिधिसभाका सभामुख घिमिरे दलका नेताहरुसँगको बैठकमा व्यस्त देखिएका हुन् ।
संसदको हिउँदे अधिवेशन कानून निर्माण गर्ने अधिवेशनको रुपमा लिइन्छ । त्यसैले पनि अहिले संसदीय समितिमा रोकिएका विधेयकदेखि सरकारले ल्याएका अध्यादेश संसदमा टेबुल कसरी कहिले गर्ने ? साथै, हिउँदे अधिवेशनलाई प्रभावकारी लाभको अधिवेशन कसरी बनाउने लगाएतका अन्य सबै पक्षबारे संसदीय दलका नेताहरुसँग उनी छलफलमा दिनहुँ जुटिरहेका हुन् ।
संसदीय दलहरुसँगको छलफलकै क्रममा उनले आइतबार सत्तापक्ष र प्रतिपक्षी दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छुट्टाछुटटै छलफल गरे । आइतबारको छलफलमा सभामुख घिमिरेले दलका सत्ताका मुख्य सचेतक र दलका प्रमुख सचेतकहरुसँग संसद्लाई बिजनेस दिन आग्रह गरेका छन् ।
सभामुखले सक्रियता बढाइरहेको बेला राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल भने मौन देखिन्छन् । उनले सभा कसरी चलाउने ? प्रभावकरितादेखि अन्य विषयमा खास चासो देखाएको देखिन्न । यद्यपी, अध्यादेशदेखि सरकारप्रति विपक्षी दलको मोर्चावन्दीका कारण पनि अब बस्ने संसद बैठक पेचिलो बन्ने स्थिति छ ।
संसदमा विपक्षी दलहरुले अध्यादेशको विरोधदेखि सदनलाई प्रभावकारी हस्तक्षेपको तयारी बढाएपछि संघीय संसदको स्थिति कस्तो बन्ला भन्ने चासो समेत उत्तिकै छ । अझ, कांग्रेस एमालेको सत्ता समीकरणपछि गर्ने भनिएको संविधान संशोधन र केहि कानूनी मस्यौदाका कारण नै सरकारमै रहेका दलहरुले पनि विरोध गर्ने स्थिति सिर्जना हुने त होइन भन्ने डर छ ।
संघीय संसदको अधिवेशनमा कुन दलको तयारी के ?
– संसद् बैठकमा एकताबद्ध भएर सरकारको प्रतिरक्षा गर्न सांसदहरुलाई नेपाली कांग्रेसको निर्देशन
– माघ १६ गते बुधबार नेकपा एमालेको संसदीय दलको बैठक बस्दै
– माघ १४ गते सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै
– प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्ष दलहरू सरकारले ल्याएका अध्यादेशहरुको विपक्षमा उभिने तयारीमा
– अध्यादेशको विरोधका लागि प्रतिपक्षी दलहरुबीच मोर्चाबन्दी भइसकेको अवस्था
– अध्यादेशको विपक्षमा प्रतिपक्षी दलले चर्को विरोध गर्ने देखिएकाले पक्षमा सशक्त रुपमा उभिने कांग्रेस संसदीय दलको निर्णय
कांग्रेसले के भन्यो ?
कांग्रेसले संसदीय दलको बैठकबाटै हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने गरि कदम चाल्ने निर्णय गरेको जानकारी दिएको छ । कांग्रेस संसदीय दलको बैठकले अध्यादेशको पक्षमा बलियो ढंगले उभिने र सरकारको पक्षमा कडाईका साथ उभिने भनेको छ ।
कांग्रेसले संस्थागत रुपमै सरकारको पक्षमा उभिने निर्णय गरेको स्थितिमा प्रतिपक्षी दलहरुले समेत मोर्चाबन्दीलाई सक्रिय पार्ने देखिएकाले संसदको हिउँदे अधिवेशन पनि रस्साकस्सीमै वित्ने सम्भावना छ ।
शीर्षको सम्बोधन
संघीय संसदको पहिलो दिन प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । ओलीले संसदको पहिलो दिन गर्ने भनिएको सम्बोधन र अन्य दलका शीर्ष नेताहरुले समेतले गर्ने सम्बोधनले सिर्जना गर्ने राजनीतिक माहोलले समेत प्रभाव पार्नेछ ।
ओलीले गर्ने सम्वोधनमा सबैलाई समेटेर लैजाने गरि आउला वा प्रतिपक्षीमाथि प्रश्न र आक्रोशका पोका बोकेर आउलान भन्ने विषयले समेत संसदको भव्ष्यि निक्र्याैल गर्नेछ । यद्यपी, शीर्ष नेताहरुले समेत सोहिदिन सम्बोधन गर्ने भनिएकाले पहिलो दिन आरोप–प्रत्यारोपमै वित्ने खतरा समेत उत्तिकै छ ।
