News 24 Television
सांसदहरु बीच घम्साघम्सी ! हुँकारले थर्कमान को ?

काठमाडौं । पछिल्ला दिनहरु संसदीय समितिका बैठकहरुमा सांसदहरुको सक्रियता बढिरहेको छ । लामो समयसम्म संसद बैठक रोकिएकाले पनि संसदीय समितिलाई सांसदहरुले बोल्ने थलोका रुपमा प्रयोग गरिरहेका छ । 

बैठकहरुमा सत्ता पक्षका सांसदहरु सरकारका कामकारबाहीको बचाउँमा उत्रिरहेका छन् भने प्रतिपक्षी सांसदहरु आलोचना गर्न व्यस्त देखिन्छन् । केही सांसदहरु भने बैठकमै भनाभन गर्नमै व्यस्त छन् । केही बैठकहरुबाट विधेयकहरुको टुङ्गो लगाउने काम समेत भएका छन् । 

पछिल्ला दिनहरु संसदीय समितिका बैठकहरुमा सांसदहरुको सक्रियता बढिरहेको छ । तर, समितिका बैठकमै कोलाहल मच्चाउने प्रवृति पनि बढिरहेको छ । 

समितिका सभापतिहरुसँग संसदीय समितिका सदस्यहरुको तालमेल राम्रो नदेखिदा मिनी संसदका रुपमा रहेका समितिहरुको प्रभावकारीता र औचित्यमाथि नै प्रश्न उठ्न सक्ने जोखिम बढेको छ । विगतदेखि वर्तमानसम्म दर्जनौं यस्ता घटना भएका छन्, जुन माननीयको मान पाएका व्यक्तिहरुका लागि खास स्वभनिय देखिएका हुँदैनन् । 

संसदीय समितिको बैठकमा भएका चर्काचर्कीका केही घटनाहरु 

–    गएको साउन १० गते पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमै चर्काचर्की भएको छ । यस दिन नेकपा माओवादीका सांसद सुदन किराती र समितिका सभापति राजकिशोर यादबिच भनाभन भएको हो । सभापतिले बीचमा आजको विषयमा प्रवेश गर्नुस भनेपछि एजेण्डा धेरै राख्ने तर बोल्न नदिने भन्दै त्यस समय सुनद किराती जंगिएका थिए । 

–    गएको पुस २२ गते राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडामाथि बैठक चलाउन नजानेको भन्दै नेपाली कांग्रेसकै सांसद हृदयराम थानीले प्रश्न उठाए । सांसद थानी बोलिरहेको बेला सभापति खतिवडाले अवरोध गरेपछि भनाभनको स्थिती पैदा भएको थियो । 

बैठकमा उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध परेको उजुरीको छलफल भइरहेको थियो । सभापति खतिवडाले सांसद थानीलाई बोल्नका लागि समय दिएका थिए । 

थानीले समितिमा प्राप्त उजुरीहरू कसरी पार लगाउने र लामो समयदेखि थन्किएका विधेयकलाई कसरी कानुनको रूप दिने भनेर धारणा राखिरहेका थिए । तर, त्यति नै बेला खतिवडाले हस्तक्षेप गरी विधेयक अघि बढ्ने जवाफ दिएका थिए । त्यसपछि समिति सञ्चालनको प्रक्रिया नै ठिक नभएको भन्दै थानी उनीमाथि खनिएका थिए । 

–    गएको पुस २५ गते प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच बैठकमै चर्काचर्की भयो । 

बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । सो क्रममा चर्काचर्की भएको हो ।

–    गएको ९ गते प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद विनीता कठायत निकै चर्को र आक्रोशित रूपमा देखिइन् । उनी चर्को सुनिदा समितिकी सभापति कुसुमदेवी थापा पनि प्रतिवादमा उत्रिन् । 

समिति बैठकमै सांसदहरुको रौद्ररुपको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनले गएको पुस २९ गते कृषि समितिका सदस्यहरू बसेको पोखराको एक होटलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी नै दिएकी छन् ।

यि त, केही प्रतिनिधि घटना मात्रै हुन् । संसदीय समितिमा यस्ता दर्जनौं घटना घटिसकेका छन् । सांसदहरु बीचको यस प्रकारको प्रस्तुतिले संसदीय समितिको अभ्यासलाई नै लज्जित बनाएको छ । 

यद्दपी, संसदीय समितिहरु संसदको आगामी अधिवेशनमा विजनेस दिने कार्यतर्फ पनि केही हदसम्म केन्द्रित भने देखिन्छन् ।  यसैक्रममा आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले पनि विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई सर्वसहमतिले पारित गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले उक्त विधेयकलाई सर्वसहमतिले पारित गरेको हो । 

समिति बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० महत्वपूर्ण रहेको भन्दै नयाँ विधेयक बन्नु खुशीको विषय भएको बताए । अब ऐनलाई कार्यान्वयन गर्ने विधि र कार्यविधि बनाउन जरुरी रहेको उनको भनाई छ ।

विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० विधेयकले मध्यस्तकर्ता,उत्पादक र विक्रेतालाई व्यवसायीको रुपमा लिएको छ । विधेयकले अरुको उत्पादनलाई अनलाइन माध्ययमबाट व्यापार गर्ने व्यवस्था गरेको छ । 

प्रतिनिधिसभाका अन्य समितिहरु पनि सक्रिय बनिरहेका छन् । उनीहरुले पनि आगामी संसद बैठकलाई विजनेश दिने गरि काम गरिरहेको बताइरहेका छन् । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update