काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले देशको आर्थिक ढुकुटी रित्याउने काम गरेको आरोप लगाएका छन् । उनले मुलकमा ऋण बढ्दै गएको तर आयका सबै बाटा बन्द भएको कारण वर्तमान सरकार गठन भएको जिकिर गरे । अर्थात् आफू नेतृत्वको सरकार आएपछि ढुकुटी जोगिएको उनको जिकिर छ ।
सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको समेत बताए । उनले मुलुक आर्थिक र सामाजिक रुपमा अप्ठेरोमा परेको कारण संसदका दुई ठूला दल मिलेर सरकार बनेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले भने, '२०४६ सालको बहुदलीय व्यवस्था भएपछि मुलुकको विकास किन भएन ? गर्ने खालको पार्टी सरकारमा भयो भने देशको विकास हुन्छ नत्र हुदैन । एकदम सही हो त्यो । तपाईहरु एकदम ढुक्क किन हुनुहुन्छ अहिले ? अस्ति तीन वर्ष पनि सरकार थियो । अबको तीन वर्षपनि सरकार जान्छ, के भयो र ? त्यस्तो होइन । अस्ति तीन वर्षको सरकारले मुलुकलाई रषातलमा पु¥यायो । ढुुकुटी रित्यायो । तिर्नुपर्ने ठाउँ सबै बाँकी आउनुपर्ने ठाउँ कतैपनि छैन । त्यस्तो बनायो । अहिले नेपाली काँग्रेस र नेकपा एमाले दुई वटा प्रतिष्पर्धी भनेर भनिएका पार्टीहरु किन मिलेर जानुप¥यो । यसकारण कि देश साच्ची अप्ठ्यारोमा पर्यो । देशै रहन्छ कि रहदैन, प्रणाली नै रहन्छ कि रहदैन भन्ने स्थितिमा देश पुगिसक्यो । अनि अनेकथरि तत्वहरु यो देशमा तमासा गरेजस्तो भयो । यताबाट फुत्किएर एउटा झिल्केले चटकबाजी देखाउँछ, के–के भन्छ ? उफ्रिन्छ । मिडियाबाजी गर्छ, अनेक गर्छ । अर्कोतिरबाट अर्को निस्किन्छ । उ पनि त्यस्तै गर्छ । देश बनाउनु कुनै ख्यालठट्टाको कुरा हो र ? मजाकको कुरा हो र ?'
केही अराजक तत्वहरुले तमासा गरिरहेको भन्दै मिडियाबाजीले राजनीति नहुने उनकाे भनाइ छ । मुलुकलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान वर्तमान सरकार बनेको र कसैले बिलौना गर्दैमा सरकार नढल्ने पनि उनले बताए ।
'आजै ढल्छ, भोलि बिहान ढलेको हुन्छ भन्ने छाती पिटाई र कपाल लुछाईको केही अर्थ छैन,' उनले थपे, 'सरकार ढल्छ भनेर आफ्नै छाति र कपाल लुछाई गर्ने विलौनाको केही अर्थ छैन । झण्डै दुई तिहाईका दुई पार्टीले संकल्प गरेका छन् । अब देशलाई यसप्रकारको खेलवाडबाट गुज्रन दिन सकिँदैन । अब देशलाई स्थायित्व र स्थिरता दिएर बलियो र विकसित बनाउने प्रतिवद्धता गरेका छौं । यदी कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि मुलुकको विकास गर्न सकेन भने अनि विकल्प कहाँ रह्यो । त्यसपछिको निराशा भयानक हुन्छ ।’
