काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिको सम्भावना जिवितै रहेको बताएकी छन् । सक्रिय राजनीतिमा आउने वा नआउने भन्ने प्रश्नमा छलफलको चरण नै शुरु नभएको भन्दै उनले राजनीतिमा आउने विषय सामान्य भनेकी छन् । उनको यो अभिव्यक्ति एमालेमै सक्रिय बन्ने संकेत नै हो त ? के छन् सम्भावित परिदृष्य ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीति रोज्लिन् ? धेरैलाई मनमा लागेको प्रश्न हो यो । तर, भण्डारी आफैले यो विषयमा खास चर्चा गर्ने गरेकी थिइनन् । एमालेका दोश्रो तहका नेताहरुले उनलाई सक्रिय राजनीतिमा फर्काउन गरेको अभ्यास र उनलाई रोक्न एमाले अध्यक्ष केपी ओलीले गरेको कडा प्रयासकाबीच पूर्वराष्ट्रपति भण्डारीले यस पटक भने सक्रिय राजनीतिमा फर्किने हो ? भन्ने प्रश्न तत्काल छलफलको चरणमा नै प्रवेश नगरेको बताएकी छन् ।
भण्डारीले सक्रिय राजनीतिमा फर्किने विषय छलफलको चरण नै प्रवेश नगरेको दाबी गरेपनि आफु एमालेमै हुर्किएको, बढेकोले राजनीतिमा सक्रियताका लागि आउँदा एमालेमै आउने कुरालाई स्वभाविक हो, भनेकी छन् ।
यसरी उनले सक्रिय राजनीतिमा फर्किने समय भएको छैन भन्दै फर्किने तयारी गरिरहेको सन्देश प्रवाह गर्दै गर्दा एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई नउचाल्न अन्य नेताहरुलाई चेतानवी नै दिइसकेका छन् । एमाले केन्द्रीय समिति बैठकमा ओलीले भण्डारीलाई अनावश्यक किन उचालेको भन्दै क्रोध व्यक्त गरेको बताइन्छ भने पार्टीमा फर्काउनु परेपनि उनीसँग बहस छलफल हुने बताएको दाबी गरिन्छ । तर, ओलीले आफू हुन्जेलसम्मका लागि भण्डारीको यस्तो योजना सफल हुन नदिने समेत प्रष्ट संकेत गरेको बताइन्छ । राष्ट्रपति सर्वोच्च निकाय र पद हो, उहाँले त्यो प्राप्त गरिसकेकाको र एमालेमा अध्यक्षभन्दा माथिको स्पेस छैन्, तत्काल भण्डारी फर्किने सम्भावना पनि छैन भन्दै ओलीले बैठकमै कड्किएको बताइन्छ । यस परिस्थितिका बीच एमालेको आगामी राजनीतिमा भण्डारीको पुनरागमन पनि रोचक हुनेमा शंका छैन् ।
माओवादीको अभ्यासमा भण्डारीको शुभेच्छा
नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने गरि सक्रिय राजनीतिमा ल्याउन खोजेको थियो । तर, कडा विरोधका कारण तत्काल उनको राजनीतिक यात्रा रोकिएको जस्तो देखिन्छ । यद्यपी, प्रचण्डले पुनलाई सक्रिय बनाएर भण्डारीलाई राजनीतिमा फर्किने वातावरण सिर्जना गर्न खोजेको आरोप लाग्दै आएको छ । तर, पुनको सक्रिय राजनीतिबारे सोधिएको प्रश्नमा भण्डारीले खूशी व्यक्त गर्दै शुवेच्छ्या प्रकट गर्दै आफ्नो बारे पनि विषय प्रष्ट पार्न खोजेकी छन् ।
माओवादी केन्द्रले पुनलाई सक्रिय बनाउने विषयले भण्डारीलाई पनि सहज हुने ठानिएका कारण पनि सक्रिय राजनीतिको विषय पेचिलो बन्ने सम्भावना जिवितै छ ।
प्रचण्डको तीर
प्रचण्ड केपी ओलीले लामो समय एमालेको नेतृत्व गरेमा वामपन्थी एकता हुन सक्दैन भन्नेमा दृढ देखिन्छन् । उनले ओलीको विकल्पमा विद्यादेवी भण्डारीलाई अघि सार्दा एमालेको राजनीतिक दृष्टिकोण नै बदलिने र वामपन्थी एकता, सहकार्य र मोर्चावन्दीको बाटो खुल्ने दाउ हेरिरहेका छन् । यहि कारण नै उनले पूर्वउपराष्ट्रपति पुनलाई सक्रिय राजनीतिमा ल्याउने प्रयास गरिरहेका छन् । माओवादी केन्द्रमा तत्काल विरोध देखिएपनि उनी सक्रिय राजनीतिमा आउने बाटो नरोकिने बताइन्छ । यसै नजिरमा टेकेर भण्डारी पनि सक्रिय बन्ने वातावरण सिर्जना हुनेछ । उसोतः भण्डारी आफैले पनि सक्रिय राजनीतिमा फर्किने विषयमा आफ्नै निवासमा छलफल गर्ने गरेको बताइन्छ । भण्डारीले सरकारी आवासदेखि अन्य सुविधा पनि नलिएकाले यसलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
