News 24 Television
प्रचण्ड ओलीमाथि हाबीः प्रमलाई जवाफ दिनै हम्मेहम्मे किन ? 

काठमाडौं । राष्ट्रिय राजनीतिले सहि दिशा समातेको छ ? सरकारले स्थिरताको नाममा सुशासन कायम गर्न सक्ला ? सर्वसाधारणमा चासो देखिन्छ । दुई तिहाईको बलशाली सरकारले देशलाई कसरी डो¥याउला ? प्रतिपक्षीका प्रश्नको सामना कसरी गर्ला ? जवाफ खोज्न थालिएको छ । 

कांग्रेस एमालेको गठबन्धन सरकार बनेपछि देशले गति समातेको दाबी सत्ता पक्षको छ । प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारले गरेका कामले जनता खुशी देखिएको दाबी गरिरहेका छन् । यसको कारण मानेका छन्, राष्ट्रिय राजनीति सहि दिशातर्फ सोझिएको छ । 

ओलीको राष्ट्रिय राजनीति कांग्रेस एमालेको मिलापपछि सहि दिशातर्फ लागेको दाबी कति सहि ? त्यो समीक्षा हुँदै गर्ला । तर, ओलीको दृढता यसतर्फ नै देखिन्छ । 

ओलीले राष्ट्रिय राजनीति सहि दिशातर्फ हिडिरहेको दाबी गरेकै बेला एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैला भने पारस्परिक विवादासपद विषयमा अल्झिएका छन् । 

बर्ताैलाले विपक्षी दलहरुले मोर्चाबन्दी गरेर भ्रम फैलाएको आरोप लगाइरहेका छन् । विपक्षीको मोर्चालाई भ्रमको केन्द्रको संज्ञा दिएका उनको अभिव्यक्तिले भने राजनीति सहि दिशातर्फ लागेको पुष्टी हुन्न । 

प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दुई तिहाई बढि सांसदको समर्थन भने छ । तर, यतिले मात्रै संसदीय राजनीति सफल भने हुने स्थिति देखिन्न । विपक्षी दलहरु भने सरकारले अलोकतान्त्रिक बाटो समात्दै अध्यादेशबाट शासन गर्ने र संसदलाई ठप्प पार्न कस्सिएपछि आफू जुर्मुराउनुपरेको दाबी गरिरहेको छ ।

सरकार र प्रतिपक्षी दलबीचको नोकझोक सामान्य विषय भएपनि कमजोर स्थितिको प्रतिपक्षी नै सरकारमाथि भारी पर्नुलाई भने सामान्य रुपमा लिन सकिन्न । दुई तिहाई बहुमतको सरकारले कमजोर भनिएको प्रतिपक्षीको सामना संसद र राजनीतिक रुपमा लोकतान्त्रिक रुपले गर्नुपर्नेमा प्रतिपक्षीलाई जवाफ र स्पष्टिकरण दिनमै समय व्यतित गर्नुले पनि राजनीति सहि दिशामा जान सकेको अवस्था देखिन्न । 

एमाले संसदीय दलले के भन्यो ?

संसद बैठक १८ गतेका लागि आह्वान भइसकेको छ । त्यो दिन प्रधानमन्त्री केपी ओलीसहित विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसको पूर्वसन्ध्यामा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी ओलीले भने प्रचण्डमाथि आरोप–प्रत्यारोपमै धेरै समय खर्चिएका छन् । सरकार ढल्छ भन्दै आएका प्रचण्डलाई ओलीले सरकार ०८४ मंसिरमा मात्रै ढल्ने भन्दै जवाफ फर्काएका छन् । 

ओलीले सरकार नढल्ने विषय हरेक सार्वजनिक कार्यक्रममा भन्ने गरेका छन् । विभिन्न शिलन्यास कार्यक्रमदेखि सोमबार भक्तुपरमा समेत ओलीले सरकार नढल्ने र कांग्रेससँगको गठबन्धन बलियो बनिरहेको दाबी गरेका थिए ।

उसोतः प्रचण्डले पनि प्राय आफ्ना अभिव्यक्तिमा सरकार ढलिहाल्ने भन्ने गरेका छन् । तर, यसको प्रतिवाद सत्ता पक्षलाई अत्यन्तै सकसपूर्ण र भारी बन्ने स्थिति सिर्जना भएको छ ।

दुई तिहाईमाथि भारी प्रचण्ड

केपी ओली नेतृत्वको सरकार दुई तिहाई बहुमत प्राप्त छ । तर, बलियो सरकारलाई कमजोर प्रतिपक्षले हैरानी दिन थालेको छ । संसदमा ३२ सिटमात्रै रहेको माओवादी केन्द्रले सरकारलाई अनेक तिकडम गरेर तनाव दिने काम गरिरहेको छ । 

यसमा अध्यादेशपछि कांग्रेसको एक पक्षले पनि साथ दिएको देखिन्छ । तर, विरोधमा उत्रिएको डा. शेखर कोइराला पक्षले के गर्ला भन्ने प्रश्न भने कायमै देखिन्छ । प्रतिनिधिसभामै दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा प्रतिपक्षीको भूमिका कमजोर हुन्छ कि भन्ने चिन्ता व्यक्त गरिएको थियो । प्रतिपक्षमा रहेका दलका सांसदको संख्या अत्यन्तै कम भएको स्थितिलाई यस्तो भनिएपनि प्रचण्ड नै ओली नेतृत्वको सरकारलाई भारी बनिरहेका छन् । 

आफ्नो पालामा सुशासन र भ्रष्टाचारविरोधि अभियान थालेपनि ओली नेतृत्वको सरकारले यसलाई रोकेको आरोप लगाउने गरेका छन् । गिरिबन्धु टिस्टेट प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, नयाँ स्टक एक्सचेन्ज प्रकरणदेखि अन्य विषयमा सरकारमाथि प्रश्नहरु उठाउदै प्रचण्डले बलियो उपस्थिति जनाइरहेका छन् । ओली सत्तालाई ¥याख¥याख बनाइराख्दा नुवाकोटको शेरा दरबार प्रकरणले केहि खस्किएका प्रचण्डले यसमा पनि भ्रम छरिएको भन्दै शेरा प्रकरणका मानिसहरुलाई नै प्रष्टिकरण दिने स्थिति सिर्जना गरेका छन् । 

यसरी प्रचण्डले दुई तिहाई नेतृत्वका ओलीलाई लखेट्ने काम मात्रै गरेका छैनन्, हैरानी नै दिन थालेका छन् । तर, ओलीले पनि प्रतिवाद गर्ने र सार्वजनिक अभिव्यक्तिमै प्रचण्डको विरोध गर्नुपर्ने स्थिति सिर्जना भएको देखिन्छ ।

विपक्षी एकताबद्ध गर्ने सवाल

प्रमुख प्रतिपक्षी दलको नेतृत्वको हैसियतमा प्रचण्डले विपक्षी दलहरुले संसद बैठक अघि फेरि बसेर निर्णय लिने बताएका छन् । 

प्रचण्डले विपक्षीहरु फेरि बैठक बसेर निर्णयमा पुग्ने भनिरहेको बेला कांग्रेस एमालेले पनि सक्रियता भने देखाएका छन् । तर, उनीहरुले सत्तामा सहभागी साना दललाई विश्वासमा लिने काम गर्न नचाहनुले पनि प्रचण्डले यसको फाइा उठाउने तयारी गरिरहेका छन् । 

सरकारले थ्रेसहोल्डदेखि राष्ट्रिय दलको मान्यताको विषयमा गर्न थालेको तयारीलाई समेत प्रचण्डले हतियारको रुपमा प्रयोग गर्दै सत्तामै रहेका साना दललाई समेत आफुतिर तान्ने कोसिस गरिरहेका छन् । विपक्षी दलमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत लाइनमा उभ्याएका प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो पक्षमा ल्याउन रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको आरोप लगाउदै सेन्टिमेन्ट लिइरहेका छन् । 

यसरी रणनैतिक बनेका प्रचण्डले विपक्षीलाई पनि पक्षमा पार्दै दुई तिहाईको बलशाली सरकारलाई चुनौति दिने अनेक उपाय र प्रपञ्चलाई प्रभावकारी बनाउने दौडधुप गर्दा राष्ट्रिय राजनीति थप तरङ्गित बन्न पुगेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update