काठमाडाैँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच उनले यस्तो बताएका हुन् ।
बुधवार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नहुने बताए । उनले राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतीकको रुपमा नवोदित संस्था भएको बताउँदै उक्त संस्थालाई सुदृढीकरण गर्दै थप मर्यादित बनाउनु सबैको कर्तव्य रहेको तर्क गरे ।
उनले पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष पदमा लड्ने गरी एमालेमा सक्रिय हुन लागेको भाष्य निर्माण गरिएको भन्दै त्यसमा कुनै सत्यता नरहेको समेत स्पष्ट पारे । पार्टीमा पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने या नफर्किने विषयमा कुनै छलफल, बहस र निर्णय समेत नभएको उनकाे भनाइ छ ।
ज्ञवालीले भने, ‘राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरु हो । त्यो संस्थालाई सुदृढिकरण गर्नु र त्यसलाई थप मर्यादित बनाउनु हामी सबैको कर्तव्य हो । यस मामलामा सम्माननीय पूर्वराष्ट्रपति र उपराष्ट्रपतिज्युहरु सचेत नै हुुनुहुन्छ भन्ने म ठान्दछु । सामान्यतः संवैधानिक राष्ट्रअध्यक्षहरु मुलुककै अभिभावक हो । त्यसअर्थमा नेकपा एमालेको अभिभावकको रुपमा पूर्वराष्ट्रपति हुनुहन्छ नै । तर मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भुमिकामा फर्किने कुरा चाहीँ उचित हो जस्तो म ठान्दिन । सामान्य अवस्थामा पनि त्यो उचित हो भन्ने म ठान्दिन । कुनै असामान्य अवस्था उत्पन्न भयो भने हरेक व्यक्तिको भुमिका राष्ट्रले माग्छ । त्यस्तो बेलामा छुट्टै बहस गर्न सकिन्छ । तर तत्कालै उहाँ नेकपा एमालेको सक्रिया राजनीतिमा फर्किनुहुन्छ भन्ने बाहिर निर्माण गरेको भाष्य जस्तो अध्यक्षसँग प्रतिष्पर्धा गर्न खोज्न आउँदै हुनुहुन्छ भन्नेकुरा चाहीँ सही होइन । यसबारे उहाँले नै राष्ट्रलाई आवश्यक परेको बेला म आउनसक्छु भन्नुभएकै छ । पार्टीमा यस विषयमा कुनै कुरा र निर्णय पनि गरेको छैन ।’
उनले अहिले बाहिर भइरहेका चर्चाहरु अनुमान मात्र भएको बताउँदै सत्य समाचारको रक्षा गर्न तथा मिथ्या सूचनाको बाढी रोक्नको लागि सामाजिक सञ्जाल नियमन विधेयक ल्याइएको दाबी गरे ।
