News 24 Television
बाबुराम र रास्वपाको मिल्दो ‘ट्यूनिङ’, के रास्वपा प्रवेश गर्छन बाबुराम ? 

काठमाडौं । नेकपा माओवादी हुँदै नयाँ शक्ति पार्टी गठन गरेर जसपासम्म पुगेका डा. बाबुराम भट्टराई अहिले नेसपा (नयाँ शक्ति) पार्टीका अध्यक्ष छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डसँगको विचारगत विमत्तिकै कारण बाबुरामले १० वर्षअघि माओवादी छाडेका थिए । त्यसपछि मुलुकको मूल राजनीतिक धारबाट केही पर बेगिएका बाबुराम आफ्नै लयमा हिँडिरहे । 

यही क्रममा उपेन्द्र यादवसँग पार्टी एकता गरेपनि उनीहरुको सहकार्य धेरै टिक्न सकेन । बाबुरामले त्यसपछि नेसपा गठन गरे । यद्यपि नेसपा गठनपछि पनि अधिकांश नेताहरु माओवादीसँग नै एकता गर्ने पक्षमा रहेका देखिएका छन् । 

अहिले जसपा विभाजन गरेर नेसपा गठन गर्न सहयोग गरेका नेताहरुसमेत माओवादीसँग एकता गर्ने पक्षमा उभिँदै समाजवादी मोर्चाको कार्यक्रममा सहभागी भइरहेका छन् । बाबुरामले भने नेसपा (नयाँ शक्ति) गठन गरेर आफ्नो राजनीति अघि बढाइरहेका छन् । 

प्रचण्डमाथि बाबुरामको आक्रोश

बाबुरामले आफ्नो राजनीतिक जीवनको अधिकांश समय माओवादीमै बिताए । तर त्यसपछि विभिन्न नयाँ दल गठनसँगै मधेशवादीहरुसँग पनि सहकार्य गरे । यसपछि पनि राजनीतिक रुपमा असफल बनेका बाबुराम अहिले पुराना दलहरुसँग आक्रोश पोख्न थालेका छन् । नयाँ दलहरुसँग सहकार्य गर्न चाहेका उनी पुराना दलहरुप्रति वितृष्णा पैदा भइरहेको निश्कर्ष दिँदै अब पुराना दलहरु सुध्रीन नसक्ने आरोप लगाउन थालेका छन् । 

हुनत ः बाबुरामले यसअघिको आम निर्वाचनको संघारमा माओवादीसँगै पार्टी एकता गर्ने चाहना बोकेका थिए । जसअनुसार उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखास्थित आफ्नो निर्वाचन क्षेत्रसमेत सुम्पिए । तरपनि निर्वाचन सम्पन्न भएको २ वर्ष वितिसक्दा माओवादी र बाबुरामको पार्टीबीच एकता हुन सकेन । 

अब तत्काल एकताको संभावना पनि देखिँदैन । यहीबीचमा बाबुरामकै दलमा सम्मेलित पूर्वनेताहरु माओवादीसँग एकता गर्ने पुरापुर योजनामा छन् । 

यस्तोमा माओवादीकै चुनाव चिन्ह लिएर निर्वाचनमा जित निकालेका नेसापा नेता महिन्द्रा राय यादव पनि प्रचण्डसँगै एकताका लागि तयार छन् । यही अवस्थापछि बाबुरामले प्रचण्डलाई विरालोको संज्ञा दिँदै विभिन्न कटाक्ष गरिरहेका हुन् । 

रास्वपाप्रति बाबुरामको आकर्षण !

नेसपा (नयाँ शक्ति)को नेतृत्वमा रहेका बाबुराम भट्टराई पछिल्लो समय उदाउँदै गरेका नयाँ शक्तिहरुसँग सहकार्य गर्न तीव्र इच्छा व्यक्त गरिरहेका छन् । बुधबार नेसपा विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गरेका उनले नयाँ शक्तिहरुसँग मिलेर मुलुकलाई विकल्प दिने आशाय व्यक्ति गरे । हुनतः पछिल्लो समय बाबुरामको गतिविधि र अभिव्यक्तिलाई रास्वपा प्रवेशको विषयसँग पनि जोडेर हेरिने गरिएको छ । 

यसअघि बाबुराम रास्वपा प्रवेश गर्ने विषयले पनि ठूलै  चर्चा पाएको थियो । त्यसपछि रास्वपा सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेका बेला पनि उनलाई भेट्न बाबुराम पोखरामै पुगेका थिए । 

सहकारी ठगी, सम्पत्ति सुद्धिकरण र संगठित अपराध मुद्धा खेपिरहेका रविको बचाउमा बाबुरामले उनीविरुद्ध राज्यले नै षड्यन्त्र गरेको प्रतिकृया दिइरहेका छन् । यसपछि बाबुरामले रास्वपा सांसद सोविता गौतसँग पनि भेटवार्ता गरेको तस्बीरहर बाहिरिएका थिए । बाबुराम भेटेर सांसद सोविता गौतमले मुलुकको वर्तमान राजनीतिक अवस्था, प्रणाली र अभ्यासका त्रुटीबारे केन्द्रीत छलफल भएको प्रतिकृया दिएकी थिइन् । 

सामाजिक संजाल फेसबुकमै भेटबारे खुलाएकी सांसद गौतमले बाबुरामसँग वर्तमान संसदीय अभ्यासको औचित्य र सुधारात्मक बाटोबारे साझा बुझाइ भएको पनि उल्लेख गरेकी थिइन । 

उता रास्वपाले पनि थप शक्ति निर्माण गर्न नयाँ शक्तिहरु र स्वतन्त्रबाट निर्वाचित स्थानीयत तहका नेतृत्वहरुलाई आफ्नो दलमा ल्याउने रणनीति लिइरहेको छ । यो अवस्थामा पार्टीसँग निकट रहेको चर्चा भइरहँदा बाबुरामलाई रास्वपाले एकतामाफर्तत जोड्छ वा जोड्दैन, त्यो भने हेर्न बाँकी छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update