काठमाडौं । प्रतिनिधिसभा बैठकमा सम्बोधनको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता निर्माणको सहमति पालना हुने अपेक्षा गरेका छन् । लिखित भाषण नोट लिएर उपस्थित भएका देउवाले ७ बुँदेको स्मरण गराउदै यि विषय पालना हुने र यसमा अन्य दलको पनि सहयोग हुने अपेक्षा गरेका हुन् ।
तत्कालीन समयमा सत्ता निर्माणको क्रममा देखिएको नाटकीय परिवर्तनको जग हो ७ बुँदे सहमति । सत्तामा संकटको जोखिम अनुभव गरे कांग्रेसले यसै ७ बुँदेलाई नै बटम लाइन बनाउने गरेको छ । यस परिवेशमा कांग्रेसले सरकारले ल्याएको अध्यादेशदेखि अन्य विषयमा वचाउ गरेपनि देउवाले सम्बोधनको शुरुमै भनेका छन्, ७ बुँदे सहमतिको पालना हुनेछ भन्ने अपेक्षा गरेको छु ।
देउवाले यस्तो भन्नुको अर्थ राजनीतिक रुपमा ठूलो देखिन्छ । तर, देउवाले सरकारले ल्याएको अध्यादेशले समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरेको भनेका छन् । यद्यपी, प्रधानमन्त्री केपी ओलीले भने पटक–पटक विश्वासको मत लिनुपर्ने झन्जटलाई मुक्त गर्दै सत्ताको पत्ता खेल्ने प्रवृ्त्तिको बन्ध्याकरण गरिएको भनेका छन् । प्रचण्ड लक्षित यो टिप्पणीका साथै ओलीले सरकार ०८४ मा मात्रै ढल्ने दाबी समेत गरेका छन् ।
कांग्रेस एमालेले सरकार निर्माण गर्दा ७ बुँदे सहमति गरेको थियो । यो सहमतिको आधारमा कार्यसम्पादन हुनुपर्नेमा गठबन्धनभित्रको चिसोपना भने बढेको देखिन्छ । संविधान संशोधनको विषयमा ओलीले ०८७ मा मात्रै हुने भनेपछिको स्थितिले पनि गठबन्धनभित्रको टकराव कायमै देखिन्छ ।
७ बुँदेको स्मरण
कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस एमालेबीच भएको सत्ता सहकार्यको ७ बुँदे सहमतिको मुख्य विषय संविधान संशोधनको विषयमा गहन विषय उठाएका छन् । देउवाले ७ बुँदे कार्यान्वयन हुने अपेक्षा गरेको भन्दै संविधान संशोधनको विषयमा समेत प्रवेश गरे ।
देउवाको जोड
बहुलवाद, बहुदलीय प्रतिष्पर्धा, समावेशिता, आधारभूत विशेषता लगायतका विषयमा ध्यान दिनुपर्नेमा देउवाको जोड छ ।
देउवाले संविधान संशोधनको विषयमा प्रवेश गरेपनि यो विषयमा प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनको विषयलाई कार्यदल बनाएर काम गर्ने भनेका छन् । तर, उनले यो विषयलाई पालना गर्लान भन्ने शंका देउवामा प्रष्ट देखिन्छ । यद्यपी, ओलीले पनि संविधान संशोधनलाई सहज बनाउन भनेका छन् ।
ओलीले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिबारेका प्रष्टीकरण सार्वजनिक रुपमा नदिएको बेला संविधान संशोधन कार्यदलको विषय झिकेर यसमा देउवालाई केहि आश्वस्त पार्न त खोजे । तर, देउवाले सहमति कार्यान्वयन हुने अपेक्षा गरेको छु भन्दै आशंकाको भाव समेत व्यक्त गरे ।
प्रचण्डलाई कांग्रेसले सम्झाएको त्यो पल
तत्कालीन प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिनेक्रममा कांग्रेसले उनलाई प्रश्न गरेको थियो । प्रचण्डले कांग्रेसलाई छाडेर एमालेसँग सत्ता सहकार्य गरेका थिए । त्यो बेला कांग्रेसबाट रमेश लेखकले बोल्दै प्रचण्डलाई धोका पाएकाहरु मिलेमा के हुन्छ भन्दै प्रश्न गरेका थिए ।
कांग्रेसले गरेको यस्तो प्रश्नमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले मिलेर देखाउन चुनौति नै दिएका थिए । उनले मिल्दा पनि आफूलाई फरक नपर्ने चेतावनी नै दिएका थिए ।
यसरी चलेको जुहारीकैबीच माओवादीले सत्ता गुमायो भने कांग्रेस एमाले मिलेर सरकार निर्माण गरेका छन् । यसले पनि राजनीतिमा सत्ताको रस्साकस्सी र फेरबदलको स्थिति चलिरहने गर्छ ।
