काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा देखाएको आलोकाँचोपनाले संसदीय मूल्य मान्यतामाथि नै प्रश्न उब्जिएको छ । प्रतिनिधिसभाको बैठकमा दलीय आधारमा बोल्ने समय नै तोकेर बनाइएको कार्यसूचीबाहिर गएर रास्वपाले बोल्ने समयको अस्वभाविक माग गरेपछि विवाद सिर्जना भएको थियो ।
प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले विभिन्न समयमा बैठक गरेर कार्यसूची तयार पारेका थिए । त्यसमा दलीय आधारमा बोल्न समयदिने देखि प्रधानमन्त्री केपी ओलीको सम्बोधनको कार्यतालिका तय थियो । यस्तोमा प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकले नै तय गरेको कार्यसूचीलाई रास्वपाले अस्वभाविक व्यवहार देखाएर अवरोध गर्न खोजेपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो ।
रास्वपाबाट प्रतिनिधिसभा सदस्य सोविता गौतमले बोल्ने तयारी गरेकी थिइन् । तर, कार्यसूचीबाहिर गएर सभामुखले उनलाई समय उपलब्ध गराउने स्थिति थिएन । यसरी संसद बैठकमा सभामुखले लामो समय बैठक सञ्चालनका लागि सहयोग गर्न अपिल गरिरहे । सभामुखले समय नपुगे थप गरेरै बोल्न समेत भने तर, रास्वपाले उभिएर विरोध गरिरह्यो । जुन विषय संसदीय नभएको भन्दै सभामुखले कानूनी व्यवस्थाबारे समेत पढेर जानकारी गराए ।
सभामुखले यति गरेपछि समेत रास्वपाका सांसदहरु उभिएर विरोध गरिरहे । विरोधकाबीच सभामुखले बैठक अघि बढाउनेगरि बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न थालेपछि रास्वपाका सांसदहरु बाहिरिएर बैठक नै बहिस्कार गरे ।
रास्वपाले बोल्ने समय मागेर गरेको यो अभ्यास भने संसदीय देखिन्न । प्रतिनिधिसभामा सबै दलका नेताहरुलाई समय तोकेरै बोल्ने समय उपलब्ध गराइएको थियो भने शून्य समय र विशेष समयको प्रवन्ध नै गराइएको थिएन ।
यस्तो स्थितिमा सभामुखले चाहेर पनि समय दिन सक्ने स्थिति थिएन । जुन स्थितिले गर्दा संसदमा केहि समय तनावको स्थिति समेत सिर्जना हुन पुग्यो । यसरी रास्वपाले गरेको असंसदीय अभ्यासपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो विशेष सम्बोधनको प्रारम्भमै सामाजिक सञ्जालबाट राजनीतिलाई अघि बढाउनेबाट देशको विकास हुन नसक्ने भन्दै सांकेतिक तीतो पोखे ।
संसदमा यसरी चलेको केहि समयको विवादपछि रास्वपाले बैठक बहिस्कार गरेपनि यो विषयको विमर्श भने शूरु भएको छ ।
रास्वपाले किन माग्यो अस्वभाविक रुपमा बोल्ने समय ?
राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक समयको माग गर्दै बैठकमा आफ्ना विषय राख्ने माग गरेको थियो । रास्वपाले व्यवस्थित र मर्यादीत ढंगले आफ्ना कुरा राख्ने भनिरहेको थियो । तर, उनीहरुले के विषयमा बोल्ने भन्ने विषयका लागि दलीय आधारमा दिइने समय नै पाइसकेकाले पनि अटेरी गरिरहे ।
१५ मिनेटको बहिस्कार
सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकबाट पारित कार्यसूचीबाहिर गएर समय उपलब्ध नगराई बैठक सञ्चालन गरेपछि उनीहरुले १५ मिनेटका लागि संसद बैठक बहिस्कार गर्ने भन्दै बाहिरिए । उनीहरुले गरेको बहिस्कारकै बीचमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरिरहेका थिए । विशेष कुरा राख्न खोजेको रास्वापाको दाबी छ ।
यसरी उनीहरुले गरेको १५ मिनेटको बहिस्कारको खास अर्थ नै प्रष्ट नभएपनि रोचक अभ्यास भने गर्न खोजिएको देखिन्छ ।
समय दिए के हुन्थ्यो ?
संसद विभिन्न मूल्य मान्यता, सिद्धान्त र कानूनी प्रावधानको आधारमा चल्ने जनप्रतिनिधिमूलक संस्था हो । यस्तो स्थितिमा रास्वपा आफै पनि सहभागी भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयविपरित बोल्ने समय माग्नु नै उपयुक्त विषय थिएन । रास्वपालाई सभामुख घिमिरेले राख्न चाहेको विषयमा समय अपुग भएमा थप्न सकिने समेत भनेका थिए । तर, रास्वपाले आकस्मिक समयको नाममा बोल्ने समय माग गरिरह्यो ।
आकस्मिक समयको व्यवस्था नै नगरिएको र यसरी बोल्ने समय दिदा शीर्ष नेताहरुले गर्ने भनिएको संसदको पहिलो दिनको कार्यसूची नै खल्लो बन्न सक्थ्यो । सांसदहरुबीच आरोप–प्रत्यारोप समेत चल्न सक्थ्यो । जुन विषयलाई सभामुखले ह्याण्डल गर्न बैठक पेलेरै अघि बढाउने निर्णय गरेको देखिन्छ ।
रविको निलम्बनमा पनि प्रश्न
रास्वपा सभापति रवि लामिछानेलाई प्रतिनिधिसभाको सदस्यबाट गरिएको निलम्बन फुकुवाको माग गर्दै संसद सचिवालयमा निवेदन परेको छ । रवि आफैले सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बनको प्रक्रिया नै नमिलेको भन्दे फूकुवाको माग गरेका थिए । सम्पत्ति शुद्धिकरण आरोपको मुद्दामा रविको सांसद पद निलम्बनमा परेको हो । तर, उनीहरुले निलम्बनलाई गैरकानूनी भन्दै आएका छन् ।
यस्तोमा सभामुख घिमिरेले कानूनसम्मत निलम्बनको निर्णय गरेको र यसमा कुनै प्रतिशोधको प्रश्न नै नहुने भनेका थिए । तर, रविले कानूनविपरित भनिरहेपछि सभामुखले मुद्दा चलिरहेको छ नी हैन भन्दै प्रश्न गरेका थिए । यहि कारण पनि रास्वपाले संसदमा आफ्ना कुरा राख्ने समय मागिरहेको बताइन्छ । तर, त्यसमा संसदको कार्यसूचीमै दलीय आधारमा बोल्ने समय तोकिएकाले धेरैले बोल्न खोज्नु चाहनुलाई नै संसदीय मान्यताभित्र राख्न नसकिने तर्क चलिरहेका छन् ।
