काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार निर्माणको ६ महिनापछिका उपलब्धि भन्दै संसदमा पेश गरेका फेहरिस्तलाई प्रतिपक्षीले प्रश्न गरेका छन् । ओलीले गरेका उपलब्धिको व्याख्यामा प्रतिपक्षी दलहरुले खरो प्रश्न गर्दै यहि विषयलाई उपलब्धि भन्ने हो भने सरकार नै नभएको मान्नुपर्छ भन्दै सरकारमाथि हाबी हुन खोजेका छन् ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको बैठकमा आफू सरकारको नेतृत्वमा आएपछि देशको स्थिति सुधारको बाटोमा गएको दाबी गरेका छन् । ओलीले सिद्धबाबा सुरुङमार्गदेखि किमाथाङ्का राजमार्ग लगायतलाई उपलब्धिको रुपमा ब्याख्या गरे ।
ओलीले यी विषयलाई उपलब्धिको रुपमा ब्याख्या गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रश्न गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा बोल्दै ओलीले दाबी गरेका सरकारका उपलब्धिलाई सरकारविहीनताको रुपमा ब्याख्या गरेका छन् । लिङ्देनले के तपाई प्रधानमन्त्री नभएको भए यी आयोजना ब्रेक थ्रु हुँदैन थिए भन्दै कडा प्रश्न गरे ।
लिङ्देनले ओलीका उपलब्धिलाई नियमित कामको रुपमा ब्याख्या गर्दै रोजगारी सिर्जना, अर्थतन्त्रको सबलीकरण लगायतका काममा लाग्न समेत अपिल गरे । यस्तै, अर्को दल नेकपा एकीकृत समाजवादीले समेत कडा प्रश्न गरेको छ । नेकपा एसले ओलीका उपलब्धिलाई खिसिट्यूरी नै गरेको छ ।
नेकपा एसले ओलीमाथि अनेक प्रश्न गरेको छ । यसमा ओलीलाई नेकपा एसले राजनीतिक रुपमा सहकार्यसहितको काम गर्न अपिल समेत गरेको छ । यसरी सरकारमाथिका प्रश्नमा प्रतिपक्षी कडा पेश भइरहेको देखिन्छ भने सत्तारुढ दल जनमत पार्टी पनि आक्रोशमा उत्रिएको देखिन्छ । सरकारले संसदलाई बन्धक बनाएको आरोप लगाएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले न्यायालयदेखि प्रतिनिधिसभा समेत बन्धक बन्न पुगेको उनको आरोप छ ।
जनता समाजवादी पार्टी नेपालले समेत सरकारमाथिका प्रश्नहरुलाई कडा पेश गरेको छ । भ्रष्टाचार पनि गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीका उपलब्धिमाथि कडा प्रश्न गरेको देखिन्छ ।
संसदको पाँचौं अधिवेशनको पहिलो दिनमा सरकारमाथिका प्रश्न मुखारित भएका छन् । सरकारले नयाँ गति सिर्जना भएको दाबी गरिरहेको बेला प्रतिपक्षीले गरेका प्रश्न भने भारी बन्ने स्थिति सिर्जना भएको छ ।
