काठमाडौं । शुक्रबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएका उपलब्धिहरु सुनाए । विगतजस्तो तीतो र आक्रामक शैलीमा प्रस्तुत नभएपनि प्रधानमन्त्री ओलीे मुख्य तीन विषय समेटेर संसदमा प्रस्तुत भएको देखियोे । जसमा ओलीले प्रष्ट पार्न खोजेका तीन विषयवस्तुहलाई यसरी लिन सकिन्छ ।
पहिलो, सरकारले गरेको विकासका योजनाहरुको प्रस्तुत, दोस्रो : काँग्रेस एमालेको गठनबन्धनपछि सरकारको स्थायित्व भएको तथा सत्ता संचालनमा सहजता भएको पुष्टयाइँ । र, तेस्रो विपक्षीमाथि काउण्टरको रणनीति ।
प्रधानमन्त्री ओलीले संसदबाटै आफूले विकास निर्माणका काममा विभिन्न ‘ब्रेक–थु’ मात्र नभइ ‘ब्रेक’ लगाएर राखिएका कामलाई अघि बढाएको दावी गरे । यसका अलावा ओलीले बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काममा पनि सरकारले तदारुकता देखाएको उल्लेख गरे ।
दुई दलको गठबन्धनपछि अस्थिरताको खेती गर्ने माओवादीजस्ता दलहरुलाई तह लगाइएको र आफूहरुले सरकारमा निर्वाद रुपले काम गर्न पाइरहेकाले नै विभिन्न सकारात्मक प्रतिफल प्राप्त गर्न सकिएको ओलीले तर्क गरेका छन् । साथै, ओलीले प्रचण्डको अस्थिर चरित्रलाई नै तोकेर त्यस्कोे बन्ध्याकरण नै गरेको दावी गरेका छन् ।
त्यस्तैगरी प्रधानमन्त्री ओलीले विपक्षी दलरुमाथि प्रहार गर्ने विषयलाई पनि थप जोड दिएका छन् । विगत झै विपक्षीमाथि कडा रुपमै पेश नभएपनि उनले माओवादी अध्यक्ष प्रचण्ड र रास्वपाप्रति लक्षित व्याङ्ग्यलाई भने निरन्तरता दिएका छन् । ओलीले रास्वपालाई सामाजिक संजाल केन्द्रीत राजनीतिले टुंगोमा नपुर्याउने भनेका छन् भने प्रचण्डको सरकार ढलिहाल्छ भन्ने निरन्तरको टिप्पणीमाथि पनि खरो व्याङ्ग्य कसेका छन् ।
यसका अलावा विकासको श्रृङ्खला सुनाउनेक्रममा ओलीले नागरिक एपको बढी प्रयोग भएको र यसकारण नागरिकमा सहजता प्राप्त भएको विषय पनि समेटेका छन् । त्यस्तै सामाजिक सुरक्षा कोषमा लाखौँको सहभागिता तथा आफू सरकारमा आउँदा अर्थतन्त्रमा भयावह स्थिति रहेकामा त्यलाई आफूले नै सम्हालेर व्यापक सुधारका काम गरेको ओलीको दावी छ । प्रगति विवरण सुनाउने क्रममा यतिमा मात्रै नरोकिएका ओलीले सुशासनका सवालमा पनि आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई पनि नछोड्न रणनीतिमै रहेको जिकिर गरे । तर, ओलीको यी सबै दावीहरुप्रति प्रतिपक्ष भने विश्वस्त छैन । जसलाई ओलीको बेतुके तर्कका रुपमा विपक्षीले अथ्र्याएका छन् ।
आफ्ना भनाइ राखिसकेपछि ओलीले माओवादी बाहेकका दलहरुको सम्बोधन सुनेका थिएनन्। माओवादी पछि बोल्न समय पाएका रास्वपा सांसद स्वर्णिम वाग्लेले ओलीका सबै दावीहरु तथ्यसँगत नभएको जिकिर गरे । चाहे सुसाशानको पक्षमा होस् वा आर्थिक सुधारका पक्षमा ओलीले गरेका सबै दावी तथ्यसँगत नभएको सांसद वाग्लेले आरोप लगाए ।
उता राप्रपाले पनि प्रधानमन्त्री ओलीले उल्लेख गरेका उपलब्धि र जिकिरलाई पत्याएको छैन । बरु राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको गम्भीर आरोप लगाएको छ । निरन्तर रुपमा हुने कामलाई देखाएर ओलीले ६ महिनाको उपलब्धि सुनाएको राप्रपाको बुझाइ छ ।
त्यस्तै अन्य प्रतिपक्षी दलहरुले पनि सरकारको कार्यशैली र प्रगति विवरणबारे खास सन्तोश जनाएको देखिँदैन । सरकारले अध्यादेश ल्याउनुपछिको नियत, आर्थिक प्रगति, न्यायीक निरुपणको सवाल र सुशासनको विषयमा गरिएको दावीलाई विपक्षीहरुले पत्याएका छैनन् । शुक्रबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेनन् । यद्यपि सत्ता पक्षबाहेक सम्बोधन गरेका सबै दलका नेताहरु कसैले पनि सरकारका कामप्रति आश्वस्त हुने ठाउँ नरहेको औल्याएको देखिन्छ ।
