News 24 Television
सत्ता पक्ष भर्सेस् रास्वपा, एमालेभन्दा निर्मम काँग्रेस ?

काठमाडौं । अहिले संसद र सडकमै सत्ता पक्ष र प्रतिपक्षबीच भीषण संघर्ष जारी छ । जसमा प्रतिपक्षीको अग्र मोर्चामै रहेको रास्वपा पनि सत्ता पक्षविरुद्ध दह्रैगरी डटिरहेको छ । यो अवस्थामा काँग्रेस एमालेका नेताहरु रास्वपा नेताहरुमाथि खनिने परिदृष्य देखिँरहँदला रास्वपा नेताहरु पनि सत्ता पक्षका नेताहरुलाई काउन्टर दिइरहेका छन् । 

मुख्यतः सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेमाथि गहन अनुसन्धान भइरहेको र उनलाई संसद पदबाट नै निलम्बनसम्म गरिएको स्थिति छ । यद्यपि यो मुद्धामा रास्वपाले आफ्नो नेतामाथि ज्यादती नै भइरहेका सत्ता पक्षमाथि आरोप लाइरहेको छ । 

उता प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि संसदबाटै रास्वपामाथि सामाजिक संजाल केन्द्रीत राजनीति गरेको भन्दै सामान्य टिप्पणी गरेका थिए । त्यस्तै संसदको पहिलो बैठकमै रास्वपाले विशेषसमय माग गर्दा कार्यसूची बाहिर हुने भन्दै सभामुखले बोल्ने समय दिएनन् । 

संसदको सुरुमै सत्तापक्षमाथि छेँड्ने रणनीति लिएपनि रास्वपाले सयम नपाउँदा १५ मिनेट बैठक बहिस्कार गरिएको विषयलाई नयाँ अभ्यासको रुपमा लिइएको छ । तर रास्वपा भने समय नदिइएको विषयलाई पनि नयाँहरुलाई अवहेलना गरिएको बुझाइमा छ । यद्यपि रास्वपासहितको प्रतिनिधि रहने कार्यव्यवस्था समिति बैठकले नै तय गरेको कायूसूचीभन्दा बाहिर जानेगरी सभामुखले समय नदिनुलाई विधिगत रुपमै जायज भएको तर्कहरु पनि आइरहेका छन ।  

सदन बाहिर पनि रास्वपा भर्सेस् काँग्रेस 

संसदको अघिल्लो अधिवेशनमा सहकारी ठगी प्रकरणकै विषयलाई लिएर नेपाली काँग्रेस र रास्वपा नेताहरुबीच लामै समयसम्म जुहारी चलेको थियो । काँग्रेसका महामन्त्री गगन थापा र तत्कालीन गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेले यो मामिलामा राजनीतिलाई नै दाउमा राखेका छन् । 

रवि सहकारी गठी प्रकरणमा दोषी हुन वा होइनन् भन्ने मुद्धा अदालतमै विचाराधीन रहेकाले कस्को जित वा कस्को होर भयो भन्ने निश्कर्ष आइसकेको छैन । यहीबीचमा काँग्रेस नेताहरुले पनि रास्वपामाथि अझै आक्रोश भने पोखि नै रहेका छन् । 
काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका गोविन्द भट्टराईले रास्वपा लक्षित टिप्पणी गर्दै नेपाली जनता भ्रमित भएर ठगलाई नेता मान्न पुगेको टिप्पणी गरेका छन् । शनिबार चितवन पुगेर सार्वजनिक कार्यक्रममै यस्तो टिप्पणी गरेका नेता भट्टराईले रास्वपा सभापति रवि लामिछाने, सांसदहरु स्वर्णिम वाग्ले र हरि ढकालतर्फ इंगित गर्दै यस्तो बताएका हुन् । 

उता काँग्रेसकै नेतृत्व गर्दै सरकारमा सामेल उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पनि राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्न किसिमको भाष्य सिर्जना भइरहेको भन्दै त्यसलाई चिर्नुपर्ने बताउँछन् । उपप्रधानमन्त्री सिंहले पार्टी र नेतालाई नै इंगित नगरेपनि उनले केही दल र पात्रकै कारण सिंगो राजनीति नै बदनाम भइरहेको टिप्पणी गरेका हुन् । 

उनको यो अभिव्यक्ति नयाँहरुप्रति नै लक्षित रहेको रास्वपा नेताहरुको बुझाइ छ । यसरी कुनै न कुनै रुपले सदनमा मात्रै होइन, सडकमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष ढंगमा रास्वपा र काँग्रेस नेताहरुको जुहारी चलिरहेको स्पष्ट छ । 

जसरी प्रतिपक्ष र सत्ता पक्षिय दलहरु एकअर्कामा मैदान उत्रिरहेका छन् । त्यसरी नै काँग्रेस रास्वपाका नेताहरु पनि भित्रभित्रै आक्रोश पोखिरहेका देखिन्छन् ।  यस्तोमा रास्वपाले भने आफूहरुविरुद्धको काउन्टरलाई सत्ता पक्षले पेलिरहेको रुपमा अथ्र्याएको देखिन्छ । 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update