News 24 Television
देउवाको अकर्मण्यताले शेखरलाई लाभ, को नेता कता ?

काठमाडौं । नेपाली कांग्रेसका नेताहरु १५औं महाधिवेशनको तयारीमा व्यस्त देखिएसँगै गुटगत फेरबदल पनि सतहमा देखिन थालेको छ । केन्द्रीय पदाधिकारीदेखि वडास्तरसम्म नै गुट फेरबदलका कदम सलबलाएका देखिन्छन् । महाधिवेशन आउन करिब एक वर्ष बाँकी हुँदैगर्दा वर्तमान अवस्थामा को नेताको झुकाव कता देखिन्छ त ? 

विधान अनुसार नेपाली कांग्रेसको महाधिवेशन गर्नु पर्ने मिति नजिकिएसँगै पार्टी सभापतिको होडमा रहेकादेखि कार्यकर्तासम्म हलचल शुरु भइसकेको छ । नेताहरु विभिन्न अभियानदेखि कार्यक्रमका नाममा देशदौडाहमा लागि रहेका छन् । कांग्रेसको अबको सभापति को त ? 

अनि कसले कुन नेताको फेरो समात्ने ? विशेषगरि आगामी सभापतिमा हालका सभापति शेरबहादुर देउवा दोहोरिन नपाउने भएपछि कांग्रेसका पदाधिकारीहरु नै तितरवितर  देखिन्छन् । देउवाले अहिले नै आफ्नो उत्तराधिकारी घोषणा नगरेकाले पनि अलमलमा पर्नुभन्दा सिधै नेता डा. शेखर कोइरालाको गुटतर्फ जाने तयारी पनि पदाधिकारी स्तरमै देखिएको टिप्पणी हुन थालेको छ । 

शेखर कोइराला आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व आफु लिने भन्दै देशभर कार्यकर्ता रिझाउने, केन्द्रमा नेताहरुलाई आफ्नो पक्षमा पार्न कसरत गर्ने जस्ता कार्यमा सक्रिय रहेकाले पनि उनले पार्टीभित्र अहिले पक्कड जमाउदै गइरहेको बताइन्छ । 

कांग्रेस केन्द्रीय कार्यसमितिमा हाल भएका पदाधिकारीहरुले शेखरप्रति झुकाव बढाएकाले पनि शेखर बलियो बन्दै गएको चर्चा हुन थालेको हो । १४ औं महाधिवेशनमा देउवालाई सघाए पदाधिकारीहरु र अन्य नेताहरु नै देउवाको कित्ता छोड्ने तरखरमा छन् । आगामी महाधिवेशनमा देखिनसक्ने सम्भावना चर्चा पूर्व १४ औं महाधिवेशनको परिदृष्य हेरौं । 

कस्तो थियो कांग्रेसको १४ औं महाधिवेशनको परिदृष्य ?

–    २०७८ मंसिरमा १४ औं महाधिवेशन सम्पन्न  

–    सभापतिका लागि ५ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरे 

–    दोस्रो चरणको निर्वाचनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित 

–    देउवा २७३३ मतका साथ निर्वाचित

–    देउवालाई कोइराला परिवारका शशांक र सुजाताको पनि साथ 

–    तत्कालीन समयमा रामचन्द्र–शेखर गुटबाट प्रकाशमान सिंह र विमलेन्द्र निधिले समेत देउवालाई साथ दिए

–    देउवालाई चौतर्फी साथ मिलेपछि डा. शेखर कोइराला सभापतिमा पराजित 

–    शेखर कोइरालालाई १८५५ मत

–    १४औँ महाधिवेशनको पहिलो चरणमा सभापतिका प्रतिस्पर्धी शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ 


कांग्रेसका पदाधिकारी कसको विगत के ? अहिले कतातर्फ मोडिदै ?

–    कांग्रेस पदाधिकारी सभापतिले नियुक्त गर्ने कोषाध्यक्षसहित १४ जना

–    १४ मध्ये ६ जना शेखर समूहमा रहेर आगामी महाधिवेशनमा प्रतिस्पर्धा गर्ने तयारीमा 

–    १४ औँ महाधिवेशनमै शेखर गुटबाट उम्मेदवार बनेर निर्वाचित बनेकाहरु उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार हालसम्म शेखर समूहमै

–    शेखर समूहबाट १४ औं महाधिवेशनमा महामन्त्री गगन थापा लोकप्रिय मतसहित निर्वाचित यद्दपी, अहिले देउवातर्फ नजिक 

–    प्रकाशमान सिंहको गुटबाट १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर निर्वाचित भएका विश्वप्रकाश शर्मा शेखरतिरै लाग्ने तरखरमा

–    १४ औं महाधिवेशनमा देउवाको गुटबाट उम्मेदवार नबनेपछि सिंहसँग शर्माको गुट बन्यो । तर, अहिले शेखरसँग सम्बन्ध नजिकको देखिन्छ । 

–    देउवा गुटबाट निर्वाचित सहमहामन्त्री भीष्मराज आङ्दम्बे शेखर गुटमा सक्रिय बन्दै 

–    देउवा गुटबाट निर्वाचित सहमहामन्त्री महेन्द्र यादव देउवाको साथ छोड्दै

–    बालकृष्ण खाणका निकट यादव अहिले खाण शेखरसँग नजिक भएसँगै देउवालाई छोड्ने तयारीमा

–    शेखर गुटले सहमहामन्त्री किशोरसिंह राठौरलाई फकाउँदै 

–    सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लाई समेत शेखर समूह आफ्नो बनाउने कसरतमा निरन्तर लागेको तर  डिनाबाट निर्णय आउन बाँकी 

१४ औं महाधिवेशनमा को नेता कता ? अहिले कता ?

– नेता मोहनबहादुर बस्नेत १४ औं महाधिवेशनमा देउवा समूहमा अहिले शेखर समूहमा ढल्के 

–    १४ औं महाधिवेशनमा कोइराला परिवारकै सदस्यहरू पूर्वमहामन्त्री शशांक कोइराला र नेता सुजाता 
कोइरालाको साथ देउवालाई थियो । अहिले शेखरलाई पूर्ण सहयोग गर्ने घोषणा नै गरेको अवस्था

–    १४औँ महाधिवेशनमा देउवा गुटबाट केन्द्रीय सदस्य निर्वाचित एनपी साउद अहिले शेखर गुटमा 

–    नेता प्रदीप पौडेल शेखर गुटमा 

उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री फरमुल्लाह मन्सुर, सहमहामन्त्री उमाकान्त चौधरी र कोषाध्यक्ष उमेश श्रेष्ठ अहिले पनि सभापति देउवाकै समूहमा छन् । कोषाध्यक्ष श्रेष्ठ मनोनीत हुन् । यसैगरि, डा.प्रकाशशरण महत हालसम्म देउवाको विपक्षी कित्तामा गइसकेको अवस्था छैन । 

यसरी समग्रमा हेर्दा देउवाले आगामी महाधिवेशनमा आफ्नो उत्तराधिकारी चयनमा गरिरहेको ढिलासुस्तीले देउवाको साथमा रहेका नेताहरु शेखरतर्फ ढल्किरहेको विश्लेषण भइरहेको छ । 

पार्टी विधान अनुसार कांग्रेसले १५ औं महाधिवेशन २०८२ मंसिरमा गर्नु पर्ने हो तर कांग्रेसको इतिहासमै विधानले तोकेकै समयमा महाधिवेशन भएको छैन । विद्यानले दिएको विशेष अधिकार र संवैधानिक अधिकारलाई प्रयोग गर्दै बहालवाला सभापतिहरुले महाधिवेशनलाई सारेर थप समयको पनि अन्तिममा महाधिवेशन गर्ने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update