
काठमाडौं । राष्ट्रियसभाको बैठकमा रोचक बहस चल्ने गरेको छ । समाजवाद ल्याउने म्याण्डेटका बहसदेखि एनआरएनएलाई वंशजको नागरिकता दिनेसम्मका बहसले राष्ट्रियसभाको ओजमा अनेक प्रश्न र शंकाहरु उब्जिन थालेका छन् ।
राष्ट्रियसभाको बैठकमा रोचक दृश्यहरु सार्वजनिक भएका छन् । जसको पहिलो चर्चामा छन्, वामदेव गौतम । नेकपा एकता अभियानको संयोजक समेत रहेका उनी कुनै पनि राजनीतिक दलको रोजाइमा नपर्ने गरेको अवस्थाका बीच अहिले फेरि राष्ट्रियसभामा राखेको अभिव्यक्तिले चर्चामा छन् ।
पूँजीवादले विश्वमा नै तनाव सिर्जना गरेको दाबी गरेका उनले नेपाल अहिले पुजीँवादी चरणमा रहेको र अब योभन्दा अघि जान सक्ने वातावरण नभएकाले समाजवाद आउने दाबी गरे । तर, समाजवाद ल्याउने विषयमा उनले आफूलाई केन्द्रमा राखे । अतिमात्रै होइन आफुले भने अनुसार नभए मृत्युदण्डको सजाई आफुलाई दिइयोस भन्दै अभिव्यक्ति दिए ।
वामदेव यतिमै भने रोकिएनन् । अध्यादेशको पक्ष र विपक्ष कतैपनि नभएको भन्दै उनले कांग्रेस एमालेको मिलापमाथि समेत कटाक्ष गर्न भ्याए ।
वामदेवले दिएको अभिव्यक्तिपछि सांसदहरु मुसुमुसु गरिरहेका थिए । योक्रमसँगै नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले थप रोचक माग राखिन् । गैरआवासीय नेपालीलाई सरकारले १० वर्ष निशुल्क भीसा दिने भनिरहेको छ । गैरआवासीय नागरिकता समेत दिएको बेला यो प्रावधान विवादीत अवस्थामै रहेको छ । त्यसमा पनि उनी योभन्दा पनि अघि बढ्दै बंशजको नागरिकता नै दिनुपर्ने भनिन् ।
राष्ट्रियसभामा माओवादी केन्द्रले अध्यादेशको विरोध गर्दै फिर्ता लिनुपर्ने माग राख्यो भने एमालेले अध्यादेशबाट जन्मिएको पार्टी भन्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई प्रहार गर्ने स्थिति बन्यो ।
राष्ट्रियसभामा सांसदहरुबीचको घोचपेच दलीय हिसाबमा भएपनि सांसदहरुले राख्ने कतिपय विषयले भने चर्चा र आशंका उत्पन्न हुने गरेको देखिन्छ । बौद्धिक र विशेष योगदान पु¥याएका दिग्गज व्यक्तिलाई चुन्ने भनिएको राष्ट्रियसभामा सांसदहरुले देखाउने व्यवहार र अभिव्यक्तिले पनि प्रश्न उठ्ने गरेको देखिन्छ ।
सांसदलाई चक्कर लागेपछि...
नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट अचानक चक्कर लागेपछि केहिबेर स्थिति शून्यतामा पुगेको थियो । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले भट्टलाई के भएको भन्दै जानकारी लिने प्रयास गरे ।
सांसद भट्टले राष्ट्रियसभामा शून्य समयमा बोल्नका लागि समय मागेका थिए । अध्यक्ष दाहाले बोल्नका लागि १ मिनेटको समय निर्धारण गरेको जानकारी समेत गराइसकेका थिए । तर, बोल्ने पालो आउने बेला भट्ट सुगरको लेभल बढेपछि असहज भएर ढलेको बताइएको छ । त्यसपछि संसदको सचिवालयमै रहेको स्वास्थ्य शाखामा उनको उपचार गरिएको थियो । भट्टले बोल्न नसकेपछि अध्यक्ष दाहालले बिष्णुकुमारी सापकोटालाई बोल्ने समय दिएका थिए ।