News 24 Television
समयमै डेलिभरी दिन नसक्दा संघीयताप्रति नागरिक रुष्ट छन् : अध्यक्ष दाहाल

काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतासम्बन्धी ऐन, कानून निर्माण गर्ने कुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताएका छन् । सोमवार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समयमै डेलिभरी दिन नसक्दा संघीयताप्रति नागरिक झन् रुष्ट बनेकाे बताए ।

जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत भएको उनकाे भनाइ छ । दाहालले संघीयतासम्बन्धी ऐन, कानून निर्माणमा नेताहरु नै असन्तुष्ट रहेको बेलामा नागरिकहरुले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको तर्क गरे । संघीयताका सिद्धान्तहरु आफैँमा गलत नरहेको भन्दै सही कार्यान्वयनको आवश्यकता उनले बताए ।

अध्यक्ष दाहालले भने, ‘अहिले जनस्तरमा अलि बढी संघीयताप्रति एउटा खालको नकारात्मकतातिर ओरेन्टेशन भएको हो की भन्ने अनुभुत हुन्छ । तर मलाई के लाग्छ भने संघीयता आफैँमा गलत हो, संघीयताका सिद्धान्तहरु आफैँमा गलत छन् भन्नेतिर त म धेरै पाउँदिन । संघीयता हामीले ल्यायौँ । हामीले नै संघीयता कार्यान्वयन गर्न जाँदैछौँ । कार्यान्वयन गर्नको निम्ति हुने हरेक गतिविधिहरु मुख्यतः ऐन, कानून निर्माणको सवालमा हामी आफैँ कहीँ न कहीँ असन्तुष्ट छाैँ । भनेपछि जनस्तरबाट थोरै असन्तुष्टि आउने कुरालाई संघीयता गलत भएको हुनाले आएको होइन, हामीले जो जिम्मा लिएका छौँ, समयमै पुर्याउन सकेनाैँ कि ? भनेर हामीतिर फर्किनुपर्ने हो की । र मात्रै हामी ठिक ठाउँ र ठिक दिशामा पुग्नसक्छौँ । संघीयता आफैँमा गलत हो भनेर एकाध राजनीतिक आग्रह पूर्वाग्रहले बोल्ने कुरा हो । आम जनतामा त्यस्तो होइन । हामीले जनतालाई दिनुपर्ने डेलिभरी समयमै दिन सकिरहेका छैनौँ ।’

उनले जनतालाई सुविधा दिने कुरामा बढी गम्भीर हुनुपर्ने बताए । जलवायु परिवर्तनले जीवनस्तर, रहनसहन र सोचाईमा समेत प्रभाव पारको उनकाे भनाइ छ । 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update