News 24 Television
अध्यादेशले रडाको मच्चाउँदै, संसदमै घम्साघम्सीको योजना ! 

काठमाडौं । सरकारले ल्याएका अध्यादेशहरु संसदमा विचाराधिन रहेकाले अब यसलाई किनारा लगाउने प्रयास सरकारले गरेको छ । संसदबाट अध्यादेश पारित गराउने सरकारले प्रयास गरिरहेका समय अध्यादेश अस्वीकारसम्बन्धि प्रस्ताव उपर छलफल कसरी गर्ने ? संसदमा समय व्यवस्थापन कसरी गर्ने लगाएतका तयारीमा सभामुख देवराज घिमिरे सक्रिय देखिएका   छन् ।

सरकारले ल्याएका अध्यादेश संसदमा विचाराधिन अवस्थामा रहेका छन् । अध्यादेशमाथि ५१ वटा अस्वीकारका प्रस्ताव परेका छन् । यस्तो अवस्थामा अस्वीकारका प्रस्तावमाथि छलफल गर्दै अध्यादेशलाई अघि बढाउनु चुनौतिपूर्ण बनिरहेको छ । 

त्यसैले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सक्रिय बनेका छन् । जसका लागि सभामुखले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेका छन् । राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलमा अध्यादेशमाथि ५१ वटा प्रश्ताव अस्वीकार गर्नुपर्छ भन्नेमा परेकाले कसरी समय व्यवस्थापन गरेर टुंग्याउने भन्नेबारेमा छलफल भएको छ । छलफलसँगै प्रतिनिधिसभाको बिहीवारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रश्तावउपर छलफल गरेर टुंग्याउने निष्कर्ष समेत निकालिएको छ । 

बिहीवारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रश्तावमा छलफल हुने र अध्यादेश बिहीवारकै बैठकमा पारित गर्नेगरी तयारी गरिएको हो । विहीबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता प्रचण्डले सम्बोधन गर्ने र सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोल्ने कार्यतालिका निर्धारण गरिएको छ । 

बिहीवारकै बैठकमा भ्रष्टाचार सम्बन्धी प्रतिवेदन, सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन र आर्थिक कार्यविधिसँग सम्बन्धित विधेयक फिर्तासँग सम्बन्धित प्रतिवेदन पेश गर्ने तयारी रहेको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जनाले सामुहिक रुपमा प्रस्ताव पेश गर्ने कार्यसूचि तय भएको छ । अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जना प्रस्तावक बनेर अध्यादेशको अस्वीकारको प्रश्ताव गर्ने र प्रश्तावकलाई ५ मिनेटको समय तय गरिएको हो । 

बैठकमा अन्य समर्थकहरुलाई बोल्नका लागि तीन\तीन मिनेटको समय छुट्याइएको छ । अध्यादेशको प्रश्तावउपरको छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रश्तावकले फिर्ता लिनसक्ने गरी कार्यतालिका बनाइएको  छ । प्रश्ताव फिर्ता लिन नचाहेको खण्डमा प्रस्तावलाई निर्णयार्थ एक पटक मात्रै प्रस्तुत गर्ने बताइएको छ । 

बिहीवारको प्रतिनिधिसभा बैठकको पहिलो चरणमा शुन्य समय, विशेष समय, प्रमुख प्रतिपक्ष दलका नेताको सम्बोधन सकेर दोस्रो चरणमा अध्यादेशमाथिका अस्वीकारका प्रश्तावउपर छलफल हुने भएका हुन् । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update