News 24 Television
अध्यादेश निर्णयका लागि पेश गर्ने तयारीबाट पछि हट्यो सरकार

काठमाडौँ । सरकारले ल्याएका विभिन्न अध्यादेशहरू आज संघीय संसदका दुवै सदनमा निर्णयका लागि पेश गर्ने तयारी थियो । तर पारित हुने ग्यारेन्टी नदेखेपछि सरकार पूर्व निर्णयबाट पछि हटेको छ । 

प्रतिनिधि सभामा सत्तापक्षको बहुमत देखिए पनि राष्ट्रिय सभामा भने सत्ता पक्षको स्पष्ट बहुमत छैन । निर्णायक मानिएको उपेन्द्र यादवको जसपालाई मनाउन नसक्दा आज अध्यादेश निर्णयका लागि पेश गर्ने तयारीबाट सरकार पछि हटेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अध्यादेश पेश नगर्ने सन्देश कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाध्यक्ष नारायण दाहाललाई दिएका थिए । त्यसपछि दवै सदनका कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूचीबाट हटाइएका हुन् । 

आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओली समेत सहभागी भएका छैनन् । आजको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ । अहिले सांसदहरुले आफ्ना कुरा सभामुखसमक्ष राखिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update