
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताए । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले आफैँ आफ्नो पीठ थप्थप्याएर आफैँले आफूलाई प्रमाण-पत्र दिएर आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताएका हुन् ।
नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल गर्न प्रचण्डले सुझाव समेत दिए । उनले बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल शुरु गर्न आग्रह गरे ।
उनले भने, ‘प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, आफैँ आफ्नो पीठ थप्थप्याएर आफैँले आफूलाई प्रमाणपत्र दिएर आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब छैनन् । नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौं । बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल शुरु गरौं, हामी सहभागी हुन्छौं । संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिल्ला, तर देशको भलो हुँदैन ।’
अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारले खोलेका भ्रष्टाचारका फाइलहरु पुनः खोल्ने समेत बताए । लोकतन्त्रको सर्भिसिङ र सुशासन फेरि शुरु गर्ने दाबी समेत गरे । उनल विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्ने दाबी गरे । अहिलेको सरकारसँग जनता खुशी नभए पनि बिचौलिया र स्वार्थ समूहहरु खुशी रहेको उनकाे भनाइ थियाे ।
प्रचण्डले भने, ‘अहिले जनता सरकारसँग दुःखी भए पनि विचौलिया र स्वार्थ समूहहरु खुशी छन् । तर, स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईहरुले पाएको उन्मुक्ति स्थायी हुनेछैन । तपाईहरुले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैंका लागि हुने छैनन् । म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरु फेरि खोलिनेछन् । जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौं यी अपराधका फाइल । फेरि शुरु गर्नेछौं लोकतन्त्रको सर्भिसिङ र सुशासन । फेरि भत्काउनेछौं, विचौलिया र राजनीतिको गठजोड ।’
उनले सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी नहुने कुरा स्वार्थ समूहले बुझ्न जरुरी रहेको समेत बताए ।